बन्दिपुर गाउँपालिकाद्वारा वडास्तर योजना सम्झौता

कृष्ण न्यौपाने
दमौली
तनहुँको बन्दीपुर गाउँपालिकाले वडास्तरमै पुगेर योजना सम्झौता गरेको छ । चालु आर्थिक वर्ष ०७६÷७७ को नीति, कार्यक्रम तथा बजेट बमोजिम चालु आर्थिक वर्षमा सञ्चालन हुने विभिन्न योजना वडास्तरमै पुगेर सम्झौता गरिएको गाउँपालिकाले जनाएको छ ।
स्थानीयलाई घरदैलोबाटै सेवा दिने उद्देश्यका साथ वडामै पुगेर योजना सम्झौता अभियान थालिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए । गाउँपालिकाका ६ वटै वडामा पुगेर २ सय ५० भन्दा बढी योजनाको सम्झौता भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा ३ सय योजना सञ्चालन गर्ने लक्ष्य राखेको छ ।
योजना सम्झौता गर्नका लागि उपभोक्तालाई गाउँपालिकाको कार्यालयमा आउनुपर्ने बाध्यता अन्त्य गर्न वडामा पुगेर योजना सम्झौताको अभियान सञ्चालन गरिएको थापाले जानकारी दिए । ‘योजना सम्झौताका लागि गाउँपालिकामा आउनुपर्दा जनताले दुःख पाए,’ थापाले भने, ‘वडामै पुगेर योजना सम्झौता गरिदिँदा जनतालाई सहज भयो ।’
योजना सम्झौता गर्न गाउँपालिका आउँदा स्थानीयले पूरा कागजात नल्याउदा समस्या पर्ने गरेको थियो । एउटै कामका लागि धेरै पटक गाउँपालिका धाउनुपर्ने बाध्यता थियो । वडामै पुगेर योजना सम्झौता गर्नुपूर्व गाउँपालिकाका प्राविधिकले योजनाको लागत इस्टमेट तयार पारेका थिए । सोही बमोजिम उपभोक्ता समितिका पदाधिकारीलाई कागजपत्र व्यवस्थापन गर्न जानकारी गराइएको थियो । ‘वडामै पुगेर योजना सम्झौता गर्दा सम्झौताका लागि आवश्यक पर्ने कागजपत्र व्यवस्थापन गर्न पनि स्थानीय उपभोक्तालाई सहज भयो,’ थापाले भने ।
योजना सम्झौतासँगै योजना सञ्चालन गर्दा गर्नुपर्ने कर्तव्यका बारेमा पनि उपभोक्तालाई जानकारी गराइएको छ । योजना सम्झौताको क्रममा गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङ, प्रमुख प्रशासकीय अधिकृत नरहरि सापकोटा, सम्बन्धित वडाका अध्यक्षहरु सहभागी थिए । गाउँपालिकाले गौरवका आयोजनाको सम्झौता गर्न बाँकी रहेको जनाएको छ ।
गाउँपालिका उपाध्यक्ष करुणा गुरुङले वडा स्तरमै पुगेर उपभोक्ता समितिसँग विकासका योजना सम्झौता गर्दा स्थानीयवासीले संघीयताको अनुभव गर्न पाएको बताइन् । ‘यसले विकासका काम गुणस्तरीय र छिटो छरितो हुने विश्वास गरेका छौं,’ उनले भनिन् ।
बन्दीपुर १ का अध्यक्ष भानुभक्त पोख्रेलले वडाबाट योजना सम्झौता गर्ने परिपाटीले जनतालाई सहज हुने बताए । यो वडामा सञ्चालन हुने २३ योजनामध्ये १२ को सम्झौता भइसकेको छ ।









पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
मुख्य व्यापारिक क्षेत्रमा सभा र जुलुस गर्न रोक
विद्यार्थीलाई कपडा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया