स्वागत समारोहमा शिक्षा, संस्कृति र चेतना

साउन महिनाको सुरुका केही दिन निरन्तर पत्रिकामा समाचार छापिएः कक्षा ११ का विद्यार्थीलाई स्वागत गरियो । पोखरा आदर्श सेकेन्डरी स्कुल यस विषयमा अपवाद बन्न सकेन । स्कुलले गरेको दुई दिने अभिमुखीकरण कार्यक्रम र भव्य सांस्कृतिक–सांगीतिक स्वागत समारोह केवल नयाँ शैक्षिक सत्रको आरम्भ मात्र थिएन, स्कुलका निर्देशक नारायण न्यौपानेले भने जस्तै त्यो एउटा आत्मीय यात्राको सुरुवात थियो ।
कक्षा ११ मा नवप्रवेशी विद्यार्थीको स्वागतार्थ आयोजना गरिएका कार्यक्रमले शैक्षिक, सांस्कृतिक र भावनात्मक तीनै तहमा गहिरो प्रभाव पारेको मैले महसुस गरें । यी कार्यक्रमले विद्यार्थीलाई नयाँ वातावरणमा भिज्न सहयोग गरेमात्र होइन, उनीहरूलाई शिक्षा र जीवनप्रतिको दृष्टिकोण पुनः परिभाषित गर्ने अवसर पनि प्रदान गरे ।
यो केवल विद्यालयभित्रको प्राविधिक प्रक्रिया थिएन; यो भावना, चेतना र समर्पणको मिश्रण थियो । जहाँ शिक्षक, विद्यार्थी, अभिभावक र सम्पूर्ण स्कुल समुदायले एउटै दिशामा हातेमालो गरे । सामाजिक विषय अध्यापन गर्ने शिक्षकको हैसियतले म बुझ्दछु—शिक्षा भनेको केवल पाठ्यपुस्तकमा सीमित रहने कुरा होइन । यो त त्यो उज्यालो हो, जसले युवालाई आफैंभित्रको सम्भावना चिन्न सिकाउँछ ।
आजको विद्यार्थी केवल जानकारी खोज्दै छैन, ऊ प्रेरणा खोज्दै छ । त्यसैले अभिमुखीकरणको प्रत्येक सेसन, प्रत्येक संवाद र प्रत्येक गतिविधि त्यो प्रेरणाको स्रोत बन्ने गरी तयार गरिएको थियो । स्कुल आएको दोस्रो दिन नै इन्टरनेसनल माउन्टेन म्युजियमको भ्रमण गराउनु केवल शैक्षिक घुमफिर थिएन । त्यो आफ्नो पहिचान, इतिहास र गौरव बुझ्ने अवसर थियो । विद्यार्थीले पहिलोपटक पुस्तक बाहिरको ज्ञानको अनुभूति गरे—जहाँ हिउँले ढाकिएका शिखरहरू केवल दृश्य थिएनन्, त्यो देशप्रेमको गाथा थियो ।
हाम्रो शिक्षाले केवल जागिर दिने होइन, जीवन दिन सक्नुपर्छ
नेपालमा हालको अवस्था हेर्दा प्रत्येक वर्ष करिब ५ लाख युवा विदेशिने गरेको देखिन्छ । हाम्रो शिक्षाले केवल जागिर दिने होइन, जीवन दिन सक्नुपर्छ । त्यसैले विद्यालयले अनुशासन, आत्मपरिचय, आत्मसम्मान र नेतृत्व विकासमा जोड दिएको छ ।
विद्यार्थीले अनुशासनलाई ‘दबाब’ होइन, ‘दिशा’का रूपमा बुझ्न सिके । पोखरा आदर्श सेकेण्डरी स्कुलका निर्देशक नारायण न्यौपानेले अभिमुखीकरण कार्यक्रममा भनेको एउटा वाक्य आज पनि मेरो मनमा गुन्जिरहेछ, ‘जीवन सरल छैन, तर अनुशासन र धैर्यले सजिलो बनाउँछ ।’ शिक्षक, व्यवस्थापक, संयोजक सबैले विद्यार्थीहरूलाई शिक्षा प्राप्त गर्नुको कारण सम्झाए—पढ्नका लागि होइन, बदल्नका लागि पढ्न ।
स्वागत समारोहमा मगर, तामाङ, गुरुङ, नेवारी, मैथिली, थारू लगायत विविध भाषामा विद्यार्थीले बोल्नु, नाच्नु, गीत गाउनु—एक सांस्कृतिक पुल निर्माण थियो । जब भाषा र संस्कृति विद्यालयमा स्थान पाउँछ, तब विद्यार्थीको आत्मगौरव बलियो हुन्छ ।
लोकगायक राजन कार्कीको सांगीतिक प्रस्तुति, सांस्कृतिक नृत्यहरू, कविता र भजन प्रस्तुति सबैले विद्यार्थीलाई आफ्नो जरा सम्झाए । आजको शिक्षा तबमात्र प्रभावकारी हुन्छ, जब त्यो हाम्रो भूमि र संस्कृतिसँग जोडिन्छ ।
नवप्रवेशी विद्यार्थीहरूले अनुभव गरे कि यो स्कुल फरक छ । केवल कक्षा होइन, यहाँ संवाद छ । केवल शिक्षक होइन, यहाँ सहयात्री छन् । केवल पाठ्यक्रम होइन, यहाँ प्रेरणा छ । नेपालको जनसंख्याको झण्डै ४० प्रतिशत युवा छन् । यो जनसंख्या हाम्रो राष्ट्रको वर्तमान मात्रै होइन, भविष्य पनि हो । तर यही समूह बेरोजगारी, आप्रवासन, भावनात्मक टुटफुट र उद्देश्यहीनतासँग जुधिरहेको छ ।
शिक्षाले यो अवस्था बदल्न सक्छ—जब शिक्षा केवल जाँच पास गर्ने माध्यम होइन, जीवन बाँच्ने शैली बन्छ । पोखरा आदर्श सेकेण्डरी स्कुलले जस्तै विद्यालयहरूले जब युवालाई सम्पूर्ण व्यक्तित्वका साथ हेर्छन्—तबमात्र त्यो शिक्षा साँचो अर्थमा ‘समाज परिवर्तनको शक्ति’ बन्छ ।
शिक्षा केवल सर्टिफिकेट होइन, जीवनको रहर हो । यो हरेक विद्यार्थीको मनमा अल्झिएको सपनालाई दिशा दिने झिल्का हो । हाम्रो विद्यालयले जुन भावना, उत्साह र निष्ठाका साथ कक्षा ११ मा प्रवेश गरेका विद्यार्थीको स्वागत ग¥यो, त्यसले नयाँ पुस्तालाई मात्र होइन, हामी शिक्षकलाई पनि सन्देश दियो—शिक्षा भनेको सम्बन्ध हो । विश्वास हो । उज्यालो हो ।
हामीले जुन बीउ रोप्यौं, त्यो बीउ अब जिम्मेवारी, चेतना र आत्मबलको रुख बन्नेछ । र एक दिन, जब ती विद्यार्थी समाजमा केही बनिसक्नेछन्, उनीहरू फर्किएर यसै क्षण सम्झिनेछन् । जब पहिलोपटक कसैले उनीहरूलाई विश्वास गर्यो । यही हो शिक्षा । यही हो प्रेरणा ।
(तिमिल्सिना पोखरा आदर्श सेकेण्डरी स्कुलका सामाजिक विषयका शिक्षक हुन् ।)









कांग्रेस विवाद समाधानका लागि वार्ता समिति गठन, आज बिहान ९ बजेसम्म बन्दसत्र स्थगित
मिस्टर एन्ड मिस विश्वकर्मा गण्डकीको उपाधि निश्चल र स्वेच्छालाई
निर्वाचन आउन ५१ दिन बाँकी, समानुपातिकका ८५ उम्मेदवारले नाम फिर्ता लिए
१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया