पोखराका विद्यार्थीलाई कोरियामा प्राविधिक शिक्षा अध्ययनको अवसर

पोखरा ।
पोखरा महानगरपालिका र दक्षिण कोरियाको युङजिन विश्वविद्यालयबिच प्राविधिक शिक्षा अध्ययनका लागि छात्रवृत्ति आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । पोखराका विद्यार्थीलाई कोरियामा प्राविधिक शिक्षा अध्ययनका लागि मार्ग प्रशस्त गर्ने उद्देश्यले भएको समझदारीमा महानगर प्रमुख धनराज आचार्य र विश्वविद्यालयका तर्फबाट प्रोफेसर चोइ जेइयोङले हस्ताक्षर गरे ।
पारस्परिक लाभ, समानता, पारदर्शिता र साझा विकासको सिद्धान्तमा आधारित उक्त समझदारीले पोखरा महानगरपालिका क्षेत्रको शैक्षिक विकासमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता बढाउने लक्ष्य राखेको छ । समझदारीअनुसार प्राज्ञिक, सांस्कृतिक र प्राविधिक सहयोगमार्फत दुई देशबिचको सम्बन्ध र पारस्परिक विकासमा जोड दिइनेछ ।
समझदारीअनुसार शिक्षा, पर्यटन र प्रविधिको क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोगलाई प्रवर्द्धन गर्न मानव संसाधन तथा सूचना आदानप्रदान गरिनेछ । साथै, पोखरा महानगरपालिका र युङजिन विश्वविद्यालयबिच अनुकूल शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने, शैक्षिक भ्रमण गराउने तथा भर्चुअल माध्यमबाट शिक्षामा साझेदारी गर्ने उल्लेख छ । सहरी विकास, पर्यटन र दिगो विकासजस्ता पारस्परिक हितका क्षेत्रमा संयुक्त अनुसन्धान र नवप्रवर्तनका परियोजनाहरूमा समेत सहकार्य गरिनेछ ।
कार्यक्रममा महानगर प्रमुख आचार्यले दुई पक्षीय समझदारीले पोखराबाट वैदेशिक अध्ययनका लागि कोरिया जाने विद्यार्थीलाई उनीहरूको अध्ययन, सामाजिक सुरक्षा र न्यूनतम रोजगारी सुनिश्चित गर्न विश्वविद्यालयले सहजीकरण गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘प्राविधिक शिक्षाका सन्दर्भमा विश्वविद्यालयसँगको समझदारीले हाम्रा विद्यार्थीको अन्तर्राष्ट्रिय छात्रवृत्तिमा पहुँच स्थापित गर्नेछ । यसका लागि पोखरा महानगरपालिकाले आवश्यक सहजीकरण गर्नेछ ।’ उच्चशिक्षा अध्ययनका लागि जान चाहने अन्य विद्यार्थी तथा अध्येतालाई समेत यसले महत्त्वपूर्ण सहयोग पुग्ने उनले बताए ।
विश्वविद्यालयका प्रोफेसर चोइ जेइयोङले पोखरा महानगरपालिकासँगको सहकार्यमा यहाँको शैक्षिक विकासका लागि हातेमालो गर्न आफूहरू तत्पर रहेको बताए । ‘विशेष गरी प्राविधिक शिक्षा, मानव संसाधन र पारस्परिक लाभका विषयहरूमा पोखरा महानगरसँग हामी नजिकबाट काम गर्न चाहन्छौँ’, उनले भने ।
यो समझदारी पोखरा र कोरियाली संस्थाहरूबीचको पहिलो सहकार्य भने होइन । यसअघि पनि कोरियन सरकार र विभिन्न एजेन्सीहरुको सहयोगमा पोखरामा थुप्रै परियोजनाहरू सञ्चालनमा रहेका छन् । पछिल्लो समझदारीले दुई पक्षीय सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।







लेखा दिवस मनाइयो
हिमपातपछि याकचौँरी बेँसीमा
हजार रुपैयाँमा सुरु गरेको च्याङ्ग्रापालनबाट वार्षिक ५ लाख आम्दानी
बागलुङमा ५३२ जना डेंगु संक्रमित
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया