चिसोका कारण मुस्ताङका विद्यालय बन्द

समाधान संवाददाता २०७६ पुष ६ गते ११:५५

एसके थकाली
जोमसोम

अत्याधिक चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्थामा पढाइ रोकिएको छ । चिसो र हिमपातले विद्यालयको शैक्षिक पठन पाठन प्रभावित पर्ने भएकाले ३६ शैक्षिक संस्थालाई हिउँदे बिदा दिइएको शिक्षा विकास तथा समन्वय इकाई मुस्ताङले जनाएको छ ।

शैक्षिक संस्थाले बर्सेनि ४५ दिन बिदा पाउँछन् । सरकारले नियमित दिने गरेको बिदाका साथै वर्षभरि चाडपर्व १५ दिनको सट्टा बिदा र १५ दिने सार्वजनिक बिदा जोडेर २ महिना १५ दिन हिउँदे बिदा दिने परम्परा रहेको इकाइ प्रमुख टंकराज बरालले बताए । उनका अनुसार हिमाली तथा उच्चपहाडी जिल्लाबाहेक अन्य जिल्लाका शैक्षिक संस्थाले यसप्रकारको बिदा दसंै, तिहार र बर्खाको अनुकूल समयमा दिने गरेका छन् ।

Advertisement

मुस्ताङका ५ स्थानीय तहका ५६ सामुदायिक विद्यालयमध्ये ३६ सामुदायिक विद्यालयलाई चिसो मौसम पारेर हिउँदे बिदा दिइएको इकाई प्रमुख बरालको भनाइ छ । उनका अनुसार उपल्लो मुस्ताङ लोमान्थाङ गाउँपालिका र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका २० सामुदायिक विद्यालयले भने हिउँदे बिदा नगरी पोखरामा घुम्ती कक्षा सञ्चालन गरेका छन् । उपल्लो मुस्ताङका ४ वटा गुम्बा विद्यालय पनि घुम्ती पोखरामा सञ्चालन गरिएको छ । उनीहरु कात्तिक अगावै जाडो छल्न पोखरा झरेको इकाई प्रमुख बरालले उल्लेख गरे । घुम्ती पढाइका लागि झरेका शैक्षिक संस्थालाई सम्बन्धित स्थानीय तहले आवश्यक बजेट विनियोजन गर्नेछन् । यसरी पालिकाले सामूहिक अस्थायी मर्ज गरी एकै स्थानमा बेंसीमा पढाउने गरेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिए ।

२ महिनाभन्दा बढी हिउँदे बिदा दिइएका विद्यालय र उपल्लो मुस्ताङका घुम्ती विद्यालयले चालु वर्षको शैक्षिक सत्रको परीक्षा र नतिजा सार्वजनिक गरी सकेको उनले बताए । जाडोका कारण हिउँदे बिदा दिएका विद्यालयले फागुनको पहिलो साता सञ्चालन गर्नेछन् । जाडो छल्न झरेका घुम्ती विद्यालयले चैत पहिलो साता साविककै स्थानमा पठनपाठन सुरु गर्ने शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ ।

Advertisement

मुस्ताङका अधिकांश सामुदायिक विद्यालयमा १७ भन्दा बढी जिल्लाका बालबालिकाले पढ्ने गरेको कार्यालयको भनाइ छ । जिल्लामा विभिन्न काम तथा रोजगारीका सिलसिलामा आएका मजदुरका छोरीछोरीले मुस्ताङको सामुदायिक विद्यालयको साख जोगिएको हो । स्थानीयका बालबालिका भने पोखरा÷काठमाडांै र जोमसोमका निजी विद्यालयमा पढ्ने गरेको र कतिपय स्थानीयले गुम्बा विद्यालयमा पढाउने गरेकाले सरकारी स्कुलमा स्थानीय विद्यार्थी न्यून भएको हो । मुस्ताङमा ८ वटा सामुदायिक र १ निजी माध्यमिक विद्यालय छन् । जिल्लामा ४८ आधारभूत विद्यालय छन् ।

तपाईको प्रतिक्रिया