गण्डकीका मुख्यमन्त्री आज अमेरिका जाँदै, १० गते फर्कने

समाधान संवाददाता २०८२ भदौ ५ गते १३:३९


पोखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे आज अमेरिका जाँदैछन् । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिकाको नवनिर्वाचित कार्यसमितिको पदस्थापन तथा शपथ ग्रहण समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुन उनी अमेरिका जान लागेका हुन् । अमेरिकाको भर्जिनियामा आयोजना हुने संघको १४ औं वार्षिक साधारण सभाबाट निर्वाचित पदाधिकारीको पदस्थापनमा उनले शुभकामना तथा बधाई दिनेछन्।

मुख्यमन्त्रीका प्रेस संयोजक नरहरि सापकोटाका अनुसार उनी भदौ १० गते नेपाल फर्कने तालिका छ । मुख्यमन्त्रीको अनुस्थितिमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले कार्यवाहकको जिम्मेवारी पाएकी छन् ।

Advertisement

संघको कार्यकाल २०२५-२७ का लागि हालै सम्पन्न निर्वाचनबाट सतेन्द्र के साहको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो। टुकप्रसाद रेग्मी नेतृत्वको निर्वाचन आयोगले अगस्ट १८, २०२५ मा सम्पन्न निर्वाचनको परिणाम घोषणा गरेअनुसार, साहले आफ्ना तीन प्रतिस्पर्धीलाई पछि पार्दै अध्यक्ष पदमा जित हासिल गरेका हुन्।

निर्वाचनको अन्तिम मत परिणामअनुसार, अध्यक्षका उम्मेदवार साहले ३,२२८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी भानु खरेलले २,५०६ मत पाए। अध्यक्ष पदका अन्य उम्मेदवारहरू रामहरि अधिकारीले २,०६३ र रामजि (राज) आचार्यले १०५ मत प्राप्त गरे।

Advertisement

साहको नेतृत्वमा बनेको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्ष पदमा सन्तोष पहरी विजयी भएका छन्। उनले डा. परशुराम दाहाल र सरोज सिग्देललाई पराजित गरेका हुन्।

त्यसैगरी, १३ जनाको प्रतिस्पर्धा रहेको चार राष्ट्रिय उपाध्यक्ष पदमा प्रदीप चौलागाई, डा. गंगाधर आचार्य, आङ् छिरिङ शेर्पा र सुरेन्द्र लौडरी निर्वाचित भएका छन्। राष्ट्रिय महिला उपाध्यक्षमा सुनिता खत्रीले दुर्गा तिवारी र गीता बजगाँईलाई पछि पार्दै जित हासिल गरिन् भने युवा उपाध्यक्षमा विजय वाइबा चयन भएका छन्।

कार्यसमितिको महत्वपूर्ण मानिने महासचिव पदमा मोहन न्यौपानेले अनुप खनाल र तेज पौडेललाई पराजित गरे। सचिव (खुला) तर्फको प्रतिस्पर्धामा सूर्य बस्ताकोटा विजयी भए भने कोषाध्यक्षमा रबिन्द्र उप्रेतिले महेन्द्र बस्नेतलाई पछि पारे। महिला सचिवमा लक्ष्मी थापा र सह-कोषाध्यक्षमा मोहन कुसारी भने निर्विरोध निर्वाचित भए।

यसैगरी, युवा संयोजकमा संसार चौलागाई र महिला संयोजकमा करिना कुँवर निर्वाचित भएका छन्। संघको ८ सदस्यीय राष्ट्रिय बोर्ड (बोर्ड अफ डाइरेक्टर) का लागि २३ जनाबीच भएको प्रतिस्पर्धामा सन्तोष लम्साल, माधव गौतम, बाबुराम काफ्ले, ध्रुव गौतम, राजु साह, इन्द्र कान्त चौधरी, ओम विश्वकर्मा र हेम ठकुल्ला विजयी भएका छन्।

तपाईको प्रतिक्रिया