तीजको मौलिकता जोगाऔं

समाधान संवाददाता २०८२ भदौ ८ गते १२:०८

कञ्चन थापा ।

Advertisement


नेपालको सांस्कृतिक इतिहासमा तीजले विशेष स्थान ओगट्दै आएको छ । महिलाको जीवनका असंख्य पक्षलाई समेट्ने यो पर्व केवल धार्मिक विश्वासको उत्सव मात्र नभई सामाजिक सम्बन्ध, भावनात्मक अभिव्यक्ति र व्यक्तिगत पहिचानको कथा पनि हो । वर्षमा एक पटक आउने यो पर्व विशेषगरी हिन्दू महिलाका लागि प्रतीक्षित हुन्छ । तर पछिल्ला वर्षमा यसले जातजाति र धर्मको सीमाना पार गरेर सबै नेपाली महिलाको साझा उत्सवको रूप लिन थालेको छ ।


यसले देखाउँछ कि तीज केवल कुनै एउटा परम्परा होइन, बरु नेपाली समाजकै आत्मा बोकेको र सिंगो समुदायलाई एकताबद्ध गराउने धरोहर हो । तीजको सुरुवात पार्वती र भगवान शिवको प्रेमकथासँग गाँसिएको छ । कथाअनुसार पार्वतीले शिवलाई पतिको रूपमा प्राप्त गर्न लामो समयसम्म कठोर तपस्या गरिन् र तीजकै दिन उनीहरूको विवाह भयो र यसै दिनको सम्झनामा महिलाहरूले व्रत बस्ने, पूजा गर्ने र आफ्नो वैवाहिक जीवन सुखमय होस् या राम्रो वर प्राप्त होस् भनेर कामना गर्ने परम्परा सुरु भयो ।

Advertisement


तर यो पर्व केवल धार्मिक आस्थामा सीमित रहेन, समयसँगै यसले महिलाको जीवनका पीडा, खुसी, श्रम, त्याग र माया सबैलाई अभिव्यक्त गर्ने साझा मञ्चको स्वरूप पनि लिएको छ । हजुरआमा र आमाको समयमा तीजको स्वरूप निकै सरल र आत्मीय देखिन्थ्यो । वर्षभरि श्रीमानको घरमा गृहस्थीको जिम्मेवारीमा व्यस्त रहने महिला तीजको अवसरमा माइती आइपुग्थे । आमा, दिदीबहिनी र बाल्यकालका साथीहरूसँग मिलेर मन खोल्थे, पीडा पोख्थे र खुसी बाँड्थे ।


त्यति बेलाका तीजका गीतमा महिला जीवनका यथार्थ अनुभव पोखिन्थे, जहाँ श्रम, दुख, अभाव, प्रेम, पारिवारिक सम्बन्ध र कतैकतै हिंसा तथा विभेदका कथा जोडिन्थे । माइतीको आँगनमा गीतमार्फत आफ्ना पीडा–खुसी परिवारलाई सुनाइन्थ्यो । त्यसैले पनि तीजका गीत केवल रमाइलोका लागि नभई समाजका मौन पक्षलाई उजागर गर्ने माध्यम बन्थे ।

Advertisement


तीजको दर खाने परम्परा पनि केवल खानाको स्वादका लागि मात्र थिएन, मायाको स्वाद र आत्मीयताको प्रतीकका रूपमा थियो । दूध, घ्यू, फलफूल र मिठाईले भरिएको दर नारीको माया र आत्मीयताको स्वाद बोकेको हुन्थ्यो । त्यसैले तीज महिलाको अन्तरमनलाई खुलाउने पर्व थियो, जसमा पीडा पनि पोखिन्थ्यो र उत्साह पनि बाँडिन्थ्यो ।


समाज परिवर्तनसँगै तीजको स्वरूप पनि बदलिँदै गयो । सहरमा आधुनिकताको लहर चल्दै जाँदा तीज अब केवल धार्मिक पर्वमात्र नभई सांस्कृतिक प्रदर्शनीको रूपमा प्रस्तुत हुन थालेको छ । पहिले मौलिक स्वरमा गाइने गीतलाई अहिले म्युजिक भिडियोले प्रतिस्थापन गर्न थालेका छन् भने महिलाको पहिरन र गहना सामाजिक सन्देशभन्दा अगाडि देखिन थालेका छन् । तीजलाई अवसर बनाएर बजारले विशेष पोशाक, महँगा गहना, मेकअप, फोटोसुट र स्टेज सोहरू प्रस्तुत गरेको देखिन्छ । यसरी हेर्दा एकातिर यसले स्थानीय व्यवसायलाई लाभ पु¥याएको छ भने अर्कोतिर आर्थिक रूपमा कमजोर महिलामा ‘मैले पनि त्यस्तै गर्ने कि ?’ भन्ने दबाब सिर्जना गरेको पाइन्छ ।


तीजलाई उत्सवभन्दा बढी प्रतिस्पर्धाको रूप दिने यो प्रवृत्तिले मौलिक आत्मा ओझेलमा पार्ने हो कि भन्नेमा बेलैमा सोच्न जरुरी छ । समय अनुरूपको परिवर्तनसँगै समाजमा केही सकारात्मक रूपान्तरण पनि आएका छन् । तीजले महिलालाई घरको सीमाभन्दा बाहिर निस्कने अवसर दिएको छ । सार्वजनिक कार्यक्रम, मञ्च र गीत–संगीतले उनीहरूलाई आफ्नो विचार खुलेर व्यक्त गर्ने ठाउँ दिएको छ। कतिपय मौलिक तीजगीत अहिले पनि घरेलु हिंसा, लैङ्गिक विभेद र महिलाको श्रमको मूल्यबारे खुलेर बोल्छन् । यसरी हेर्दा तीज अझै पनि महिला सशक्तीकरणको एउटा माध्यम बन्न सक्ने सम्भावना राख्छ ।


तर समस्या सुरु हुन्छ जब भक्ति र संस्कारभन्दा बढी भड्किलोपन र व्यावसायिकता अगाडि आउँछ । तीजको आत्मा सधैं सरलता, भक्ति र संस्कारमा थियो । अहिले भने कतिपयका लागि यो केवल महँगो पार्टी, डिजाइनर लुगाको प्रदर्शन र फोटो खिच्ने दिनमात्र बनेको छ। यदि यही प्रवृत्ति निरन्तर बढ्दै गयो भने तीजको ऐतिहासिक, सांस्कृतिक र सामाजिक गहिराइ हराउनेमात्र होइन, भविष्यका पुस्ताले यसको वास्तविकता नै बिर्सन सक्ने खतरा छ ।


स्वास्थ्यको दृष्टिले पनि तीजलाई सन्तुलित बनाउन आवश्यक छ । पहिले दिनभरि निराहार व्रत बस्ने परम्परा थियो, तर सबै महिलाका लागि यो स्वास्थ्यकर हुँदैन । आजका महिला विभिन्न स्वास्थ्य समस्यासँग जुधिरहेका छन्, निराहार व्रत बस्न कठिन हुन्छ । त्यसैले व्रत बस्ने तरिकामा पनि लचकता आवश्यक छ । भक्ति र आस्थाको अर्थ आफ्नो स्वास्थ्यलाई हानि पु¥याउनु होइन, बरु शरीर र मनलाई सन्तुलनमा राख्दै पर्व मनाउनु हो भन्ने चेतना फैलिनु जरुरी छ ।


यसैगरी, तीज सबै महिलाको साझा पर्व हो भन्ने भावनालाई वास्तविक बनाउन आर्थिक रूपमा कमजोर महिलालाई पनि समान अवसर दिनुपर्छ । महँगो गहना र पार्टीले होइन, सामूहिक दर खाने कार्यक्रम, साझा नाचगान, खुला मञ्च र आत्मीय भेटघाटले सबैलाई समेट्ने वातावरण बनाउन सकिन्छ । जब तीज सबैका लागि समान उत्सव बन्छ, तबमात्र यसको वास्तविक आत्मा बाँच्छ ।


आजको दिनमा हामीले तीजलाई दुई दृष्टिबाट हेर्नुपर्छ । एकातिर यसलाई महिला सशक्तीकरणको अवसरका रूपमा प्रयोग गर्न सकिन्छ, जहाँ महिलाले आफ्नो विचार खुलेर व्यक्त गर्न सक्छन्, हिंसाविरुद्ध बोल्न सक्छन्, लैंगिक समानताको माग गर्न सक्छन् । अर्कोतिर यसलाई मौलिकता जोगाउने जिम्मेवारीका साथ मनाउन पनि जरुरी छ । आधुनिकताको रङ र परम्पराको गहिरो जरा सँगै जोगाउन सकिएन भने तीज केवल फोटो एल्बमका पानामा बाँकी रहनेछ । त्यो हार हाम्रो मात्र होइन, भविष्यका पुस्ताका लागि पनि ठूलो हार हुनेछ ।


त्यसैले तीज केवल एउटा धार्मिक पर्व होइन, यो हाम्रो सांस्कृतिक पहिचान हो, महिलाको भावनात्मक जीवनकथाको दस्तावेज हो । समाजलाई एकतामा बाँध्ने कडी हो । आधुनिकतासँगै यसको स्वरूप बदलिन सक्छ, तर यसको मूल आत्मा संस्कार र आत्मीयता हो । यसलाई जोगाउन हामी सबै सचेत रहनुपर्छ । यदि हामीले संस्कृतिको गहिरो जरा सम्हाल्दै आधुनिकताको रङ भर्ने कला सिक्यौं भने तीज सधैं हाम्रो पहिचानको उज्यालो भाग बनेर रहिरहनेछ । तर यदि हामीले यसलाई केवल फेसन र बजारको खेलमै सीमित ग¥यौं भने तीज भविष्यमा पुस्ताको स्मृतिमा मात्र हराउनेछ । त्यसैले तीजलाई साँचो अर्थमा महिला सशक्तीकरणको अवसर बनाउन यसको मौलिकता जोगाउनु नै हाम्रो सबैको साझा दायित्व हो ।

तपाईको प्रतिक्रिया