अद्भुत साथीः पुस्तकको सौन्दर्य

यो चञ्चल संसारमा मानिसहरू निरन्तर दौडधूप गरिरहेका छन्, जहाँ सूचनाको अनन्त सागर छ र नयाँ प्रविधिले हाम्रो जीवनशैलीलाई हरेक दिन परिवर्तन गरिरहेको छ, त्यहीँ एउटा यस्तो निर्जीव वस्तु छ जसले हामीलाई शान्तिको अनुभव गराउँछ । त्यो हो पुस्तक । पुस्तकले हामीलाई नयाँ ज्ञानको संसारमा पुर्याउँछ र एक साँचो साथीको जस्तो साथ दिन्छ । एउटा किताब केवल कागजका पानाहरूको संग्रह मात्र नभई यो त एउटा जीवन्त आत्मा हो । यसले हामीसँग मौन रहेर कुरा गर्छ, हाम्रो मनलाई शान्त पार्छ र हामीलाई जीवनका अनेकौँ पाठहरू सिकाउँछ ।
पुस्तकलाई ’पढ्नेको साथी’ भन्नुको मुख्य कारण नै यसले हामीलाई कहिल्यै एक्लो महसुस हुन दिँदैन । दुःख होस् या सुख, कुनै दुविधामा परेका बेला पुस्तकले हामीलाई सही बाटो देखाउँछ । हामीले जुनसुकै समयमा यसलाई आफ्नो साथी बनाउन सक्छौँ । यसलाई खोल्ने बित्तिकै हामी एक नयाँ संसारमा प्रवेश गर्छौँ, जहाँ कुनै सीमाले हामीलाई रोक्न सक्दैन । हामी इतिहासका पानाहरूमा फर्कन सक्छौँ, भविष्यको कल्पना गर्न सक्छौँ, वा काल्पनिक पात्रहरूसँग यात्रा गर्न सक्छौँ । यसरी नै पुस्तक हाम्रो सबैभन्दा उत्तम साथी बन्न पुग्छ ।
शिक्षक र विद्यार्थीसँग पुस्तकको सम्बन्ध
पुस्तक केवल कागजको थुप्रो होइन, यो शिक्षकहरूको लागि उनीहरूको जीवनसाथी र सबैभन्दा भरपर्दो मित्र हो । विद्यार्थीहरूलाई नयाँ ज्ञानको संसारमा डोर्याउनुअघि शिक्षकले पुस्तकसँग एकात्मक सम्बन्ध स्थापित गरेपछि मात्रै अध्यापन सुरु गर्ने गरिन्छ । शिक्षकले पुस्तकमा लेखिएका शब्दहरूलाई मात्र पढाउँदैनन्, बरु ती शब्दहरू पछाडिको भावना र दर्शनलाई आत्मसात गर्छन् । पुस्तकको प्रत्येक पानामा उनले आफूलाई र आफ्ना विगतका अनुभवहरूलाई पाउँछन् ।
कहिलेकाहीँ किताबका केही अपूर्ण वाक्यहरू पूरा गर्न उनी जीवनका भोगाइहरूलाई जोड्छन्, र कहिलेकाहीँ किताबका पात्रहरूसँग आफूलाई जोडेर त्यसको गहिराइमा पुग्छन् । यसरी, शिक्षकको हातमा पुस्तक एउटा ज्ञानको स्रोत मात्र नभई, एक सच्चा साथी बनिदिन्छ, जसले उनलाई निरन्तर प्रेरित गरिरहन्छ र उनको शिक्षण यात्रालाई थप जीवन्त बनाउँछ ।
एउटा विद्यार्थीका लागि पुस्तक एउटा जादु जस्तो ढोका हो, जसले उसलाई अपरिचित संसारमा लैजान्छ । सुरुमा, पुस्तकका अक्षरहरू र चित्रहरूलाई बुझ्न संघर्ष गरे तापनि बिस्तारै विद्यार्थीले पुस्तकसँग एउटा भावनात्मक सम्बन्ध गाँस्छ । पुस्तक पढ्दा विद्यार्थीले आफूलाई कहिले कथाको नायकको रूपमा, कहिले विज्ञानको प्रयोगशालामा प्रयोगकर्ताको रूपमा, त कहिले इतिहासको साक्षीको रूपमा पाउँछन् ।
जब उनीहरूलाई पुस्तकको कुनै कुरामा शंका लाग्छ, उनीहरू शिक्षकसँग पुग्छन् र त्यसको समाधान खोज्छन् । यसरी, पुस्तकले विद्यार्थी र शिक्षकबीचको भावनात्मक पुलको काम गर्छ । पुस्तकको प्रत्येक अध्यायले विद्यार्थीलाई नयाँ चुनौतीहरू दिन्छ र ती चुनौतीहरू पार गर्दा उनीहरूमा आत्मविश्वास बढ्दै जान्छ । यसरी, पुस्तक विद्यार्थीको लागि केवल ज्ञानको माध्यम मात्र नभई, उनको व्यक्तिगत विकास र सपनाहरू पूरा गर्ने एक अभिन्न साथी बनिदिन्छ ।
ज्ञानको असीमित भण्डार
पुस्तकहरू विभिन्न विधामा उपलब्ध छन्—साहित्य, विज्ञान, इतिहास, दर्शन, जीवनी, सूचना तथा सञ्चार आदि । हरेक विधाको आफ्नै महत्त्व छ । साहित्यका पुस्तकहरूले हाम्रो भावना, सोच, अनुभूति र कल्पनालाई उजागर गर्छन् । उपन्यास, कविता, नाटकहरूले हामीलाई मानिसको जीवनका अनेकौँ पक्षसँग परिचित गराउँछन् । प्रेम, घृणा, त्याग, र संघर्षका कथाहरूले हामीलाई जीवनलाई अझ नजिकबाट बुझ्न मद्दत गर्छन् ।
अर्कोतर्फ, विज्ञान र इतिहासका पुस्तकहरूले हाम्रो ज्ञानको दायरालाई फराकिलो बनाउँछन् । विज्ञानले हामीलाई ब्रह्माण्डका रहस्यहरू बुझाउँछ, जबकि इतिहासले हामीलाई हाम्रा पुर्खाले गरेका गल्तीहरू र सफलताहरूबाट सिक्न प्रेरित गर्छ । इतिहास पढेर हामी वर्तमानलाई राम्ररी बुझ्न सक्छौँ र भविष्यको लागि तयार हुन सक्छौँ । दार्शनिक पुस्तकहरूले हामीलाई जीवनको गहिराइमा पुग्ने अवसर दिन्छन् । यी पुस्तकहरूले हामीलाई ’म को हुँ?’, ’जीवनको उद्देश्य के हो?’ जस्ता प्रश्नहरूको उत्तर खोज्न प्रेरित गर्छन् ।
पुस्तक एउटा जादु जस्तो ढोका हो, जसले उसलाई अपरिचित संसारमा लैजान्छ
यी सबै विधाका पुस्तकहरूले हामीलाई बहुआयामिक दृष्टिकोण विकास गर्न मद्दत गर्छन् । एक व्यक्ति जो साहित्य, विज्ञान, र दर्शन तीनै विधामा रुचि राख्छ, उसको सोचाइ अरूभन्दा धेरै फराकिलो हुन्छ ।
भावनात्मक सम्बन्ध र आश्चर्यजनक अनुभव
पुस्तक पढ्नु एक भावनात्मक यात्रा हो । जब हामी कुनै राम्रो किताब पढ्छौँ, हामी त्यसका पात्रहरूसँग जोडिन पुग्छौँ । उनीहरूको सुखमा हामी खुसी हुन्छौँ र दुःखमा हामी पनि रोइदिन्छौँ । एक राम्रो लेखकले शब्दहरूलाई यसरी मिलाउँछ कि पढ्ने व्यक्तिलाई लाग्छ कि उसले आफैँ ती घटनाहरू अनुभव गरिरहेको छ ।
कल्पना गर्नुहोस्, तपाईं कुनै ऐतिहासिक उपन्यास पढ्दै हुनुहुन्छ र हामीलाई लाग्छ कि तपाईं आफैँ युद्धको मैदानमा हुनुहुन्छ । वा, तपाईं कुनै जासुसी उपन्यास पढ्दै हुनुहुन्छ र हामीलाई लाग्छ कि तपाईं आफैँ त्यो रहस्य सुल्झाउनु हुँदैछ । यो भावनात्मक अनुभव नै पुस्तक पढ्ने सबैभन्दा सुन्दर पक्ष हो । यो अनुभवले हामीलाई अरूको पीडा बुझ्न र उनीहरूप्रति सहानुभूति राख्न सिकाउँछ । पुस्तकले हामीलाई मानव भावनाको गहिराइ बुझ्न मद्दत गर्छ ।
पुस्तकले हामीलाई जीवनका अनुभवहरू सिकाउँछ । जस्तो कि, एउटा जीवनी पढ्दा हामी कुनै महान् व्यक्तिको संघर्ष, असफलता र सफलताको कहानीबाट प्रभावित हुन्छौँ । हामी बुझ्छौँ कि सफलता त्यति सजिलो छैन, तर निरन्तर प्रयासले असम्भवलाई पनि सम्भव बनाउन सक्छ । त्यसैगरी, एक यात्रीको यात्रा वृत्तान्त पढ्दा हामीलाई लाग्छ कि हामी पनि उनीसँगै अपरिचित ठाउँहरू घुमिरहेका छौँ, नयाँ संस्कृतिहरू चिनिरहेका छौँ । यो पुस्तकको जादु हो जसले हाम्रो दिमागलाई मात्र होइन, हाम्रो आत्मालाई पनि पोषण गर्छ ।
विद्वानहरूको नजरमा पुस्तक
विश्वका अनेकौँ विद्वानहरूले पुस्तकको महत्त्वबारे आफ्ना विचारहरू व्यक्त गरेका छन् । महात्मा गान्धी भन्नुहुन्छ, ’पुस्तकहरूले कहिल्यै धोका दिँदैनन्, बरु सही मार्ग देखाउँछन् ।’ यो भनाइले पुस्तकको विश्वसनीयता र मार्गदर्शनको भूमिकालाई स्पष्ट पार्छ ।
त्यसैगरी, भारतका पूर्व राष्ट्रपति तथा महान वैज्ञानिक डा. एपिजे अब्दुल कलामले भनेका छन्, ’एउटा राम्रो पुस्तक १०० असल साथी बराबर हुन्छ ।’ यो भनाइबाट पुस्तकले हाम्रो जीवनमा पार्ने सकारात्मक प्रभावलाई जोड्छ । पुस्तकले हाम्रो एक्लोपनलाई हटाएर हामीलाई ज्ञान, प्रेरणा र साहस दिन्छ ।
अमेरिकी पूर्व राष्ट्रपति अब्राहम लिंकनको भनाइ पनि प्रेरणादायक छ । उनी भन्छन्, ’मलाई सबैभन्दा मनपर्ने कुरा त्यो हो जसले मलाई किताब दिन्छ, जुन मैले पढेको छैन ।’ यो भनाइले नयाँ ज्ञानको लागि मानिसमा हुने अनन्त तिर्खालाई देखाउँछ ।
विभिन्न विद्वानहरूले भनेका छन् कि, ’पढ्ने बानीले आत्मालाई बलियो बनाउँछ ।’ यो सत्य हो, किनकि किताब पढ्दा हाम्रो मस्तिष्क सक्रिय हुन्छ, हाम्रो सोच्ने क्षमता बढ्छ र हामी कठिन परिस्थितिको सामना गर्न सक्षम हुन्छौँ । यस्तै, अर्का महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि पुस्तकलाई ज्ञानको स्रोत र मानव जीवनको अभिन्न अंग मानेका छन् । उनका लेखहरूले नेपाली साहित्यलाई अझ समृद्ध बनाएका छन् । उनले कविताको माध्यमबाट मानिसको मनको गहिराइलाई बुझाउने प्रयास गरेको हामी सबैले अनुभूति गरेकै कुरा हो ।
आधुनिक युगमा पुस्तकको अस्तित्व
आजको डिजिटल युगमा, जहाँ इन्टरनेट र सामाजिक सञ्जालले हाम्रो समयको ठूलो हिस्सा ओगटेका छन्, त्यहाँ पुस्तकको महत्त्वमाथि प्रश्न उठ्न सक्छ । तर सत्य के हो भने, आधुनिक प्रविधिले पुस्तकको महत्त्वलाई घटाएको छैन, बरु यसलाई नयाँ रूपमा प्रस्तुत गरेको छ । ई–पुस्तक र अडियोबुकले पढ्ने बानीलाई अझ सुविधाजनक बनाएका छन् । तपाईं आफ्नो मोबाइल वा ट्याब्लेटमा हजारौँ पुस्तकहरू राख्न सक्नुहुन्छ र जहाँ पनि, जुनसुकै बेला पढ्न सक्नुहुन्छ ।
अडियोबुकले व्यस्त मानिसहरूलाई पनि पुस्तकसँग जोडेको छ । गाडी चलाउँदा, व्यायाम गर्दा वा आराम गर्दा पनि अडियोबुक सुन्न सकिन्छ । यी प्रविधिहरूले पुस्तक पढ्नका लागि कुनै स्थान र समयको सीमा तोडेका छन् । यद्यपि, कागजको पुस्तकको आफ्नै छुट्टै आनन्द छ । त्यसको सुगन्ध, हातमा समात्दाको अनुभव, र पाना पल्टाउँदाको आवाजले एक बेग्लै रमाइलो दिन्छ । एक भौतिक किताबको पाना पल्टाउँदाको अनुभूतिले हामीलाई विगतको समयमा पुर्याउँछ, जब मानिसले ज्ञानलाई आफ्नो हातले स्पर्श गरेर ग्रहण गर्थे । यो एक प्रकारको आध्यात्मिक अनुभव हो ।
पुस्तक र हाम्रो जीवनशैली
आजको दौडधूप, हरेक पल हतारको जीवनमा मानिस मानसिक शान्ति खोजिरहेको छ । ध्यान, योग र अन्य थुप्रै तरिकाहरू छन्, तर तीमध्ये एउटा सजिलो र सबैभन्दा प्रभावकारी तरिका हो – पुस्तक पढ्नु । रातमा सुत्नुअघि केही मिनेट मात्र किताब पढ्दा पनि दिनभरिको तनाव कम हुन्छ र मन शान्त हुन्छ । यसले हाम्रो निद्राको गुणस्तरमा पनि सुधार ल्याउँछ । यो एक प्रकारको मानसिक व्यायाम हो, जसले हाम्रो दिमागलाई तीक्ष्ण र फुर्तिलो राख्छ । उदाहरणका लागि, दिनभरिको कामको तनावपछि जब तपाईं ’द साइकोलोजी अफ मनी’ जस्तो किताब पढ्नुहुन्छ, त्यसले हामीलाई आर्थिक ज्ञानका साथसाथै मानसिक शान्ति पनि दिन्छ ।
यसले हाम्रो ध्यानलाई नकारात्मक विचारहरूबाट हटाएर रचनात्मक र सकारात्मक दिशामा मोड्छ । त्यस्तै, राति सुत्नुअघि ’महाभारत’ वा ’रामायण’ जस्ता ग्रन्थहरूका केही अध्याय पढ्दा मनमा एक किसिमको गहिरो शान्ति र आत्मिक सन्तुष्टि प्राप्त हुन्छ । हामीलाई लाग्छ कि हामीले आफ्ना सबै समस्याहरूलाई बिर्सेर एउटा फरक संसारमा प्रवेश गरेका छौँ ।
किताब पढ्नु भनेको आफैँसँग समय बिताउनु हो, आफैँले आफैलाई चिन्नु हो । यसले हामीलाई आफ्नो विचारलाई व्यवस्थित गर्न, आफ्ना लक्ष्यहरूमा स्पष्टता ल्याउन र जीवनका सानातिना कुरामा खुसी खोज्न सिकाउँछ । यो एक प्रकारको ’आफैँमा फर्कने’ अभ्यास हो । उदाहरणका लागि, जब हामी ’द अल्केमिस्ट’ जस्तो किताब पढ्छौँ, यसले हामीलाई आफ्नो सपना पछ्याउन, आफ्नो भित्री आवाज सुन्न र जीवनको यात्रालाई प्रेम गर्न प्रेरित गर्छ । किताब पढ्नु भनेको एउटा यस्तो आदत हो जसले हाम्रो जीवनलाई निरन्तर समृद्ध बनाइरहन्छ ।
पुस्तकको जादु र आकर्षण
पुस्तकको संसारमा प्रवेश गर्नु एउटा जादु जस्तै अनुभव हो । कल्पना गर्नुहोस्, तपाईं एक जादुगरको रूपमा हुनुहुन्छ र हामीले आफ्नो मनपर्ने किताबको पाना पल्टायौँ भने ती हरेक पानामा लेखिएका शब्दहरूले हामीलाई एउटा नयाँ राज्यमा पु¥याउँछन्, जहाँ हामीले कहिल्यै नदेखेका जीवहरू, नसुनेका आवाजहरू, र अपरिचित परिदृश्यहरू पाउँछौँ । यो कुनै सपना होइन, यो पुस्तकको जादु हो जसले हामीलाई वास्तविकताबाट टाढा लगेर कल्पनाको गहिराइमा डुबाउँछ ।
के तपाईंले कहिल्यै सोच्नुभएको छ, तपाईं एक रहस्यमय टापुमा हराउनुभएको छ, वा तपाईं कुनै समय यात्रा गर्ने मेसिनमा चढेर विगतमा फर्कनुभएको छ? यो सबै अनुभव हामीले किताब पढ्दा पाउँछौँ । एउटा किताबले हामीलाई संसारका सबैभन्दा सुन्दर र भयानक ठाउँहरूमा लैजान सक्छ, हामीलाई सबैभन्दा रहस्यमय र डरलाग्दो पात्रहरूसँग भेट गराउन सक्छ, र हामीलाई जीवनभरका लागि कहिल्यै नबिर्सने अनुभव दिन सक्छ ।
पुस्तकको आकर्षण यसको सादगीपनसँगै लुकेको हुन्छ । यसलाई कुनै ब्याट्री वा इन्टरनेटको आवश्यकता पर्दैन । हामीले यसलाई जहाँ पनि पढ्न सक्नुहुन्छ—एक शान्त पार्कको बेन्चमा, भीडभाड भएको बसमा वा आफ्नो ओछ्यानमा । यसको पानामा लेखिएका शब्दहरूले हामीलाई कहिल्यै थकित हुन दिँदैनन्, बरु अझ बढी उत्सुक र जागरुक बनाउँछन् । यो एउटा यस्तो असल साथी हो जसले हामीलाई कहिल्यै प्रश्न गर्दैन, बरु हाम्रा प्रश्नहरूको उत्तर दिन्छ ।
अन्त्यमा, पुस्तक केवल ज्ञानको स्रोत मात्र होइन, यो हाम्रो जीवनको एक अभिन्न अंग हो । यसले हाम्रो सोचाइलाई फराकिलो बनाउँछ, हाम्रो हृदयलाई कोमल बनाउँछ र हामीलाई अझ राम्रो व्यक्ति बन्न प्रेरित गर्छ । पुस्तक पढ्नु भनेको आफूलाई समय र स्थानको सीमाबाट मुक्त गर्नु हो । यो एक यस्तो यात्रा हो जहाँ हामी एक्लै भए पनि एक्लो महसुस गर्ने मौका हुँदैन । त्यसैले, आजैदेखि कम्तिमा एउटा पुस्तक आफ्नो साथी बनाउनुहोस् ।
त्यो साथी जसले हामीलाई कहिल्यै धोका दिँदैन, सधैँ हाम्रो साथ दिन्छ र हामीलाई जीवनको हर मोडमा सही मार्ग देखाउँछ । पुस्तक पढ्नु एक बानी मात्र होइन, यो एक जीवनशैली हो जसले हामीलाई असल नागरिक र जिम्मेवार मानिस बन्न सिकाउँछ । ज्ञानको ज्योति फैलाउने यो माध्यमलाई हामीले सधैँ महत्त्व दिनुपर्छ र नयाँ पुस्तालाई पनि यसको महत्त्व बुझाउनु हामी सबैको दायित्व हो ।
(तिमिल्सिना जनप्रिय बहुमुखी क्याम्पस पोखरामा अध्यापन गर्छन् ।)







भद्रकाली सहकारीको सातौँ साधारणसभा र तेस्रो अधिवेशन
मुस्ताङमा सवारी चाप बढ्यो, ट्राफिक राजश्व घट्यो
योगेन्द्रलाई पुरस्कार
कोरला १३ नेपाली चीन गए
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया