तीज सम्बन्धको सेतू, चेतनाको माध्यम

प्रमिला कुँवर २०८२ भदौ १० गते १३:०७

पोखरा ।
नेपाली महिला यति बेला हरितालिका तीजको रमझममा मस्त छन् । महिलाले उत्सवका रुपमा मनाउने तीज पर्व भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान र पूजाआजासमेत गरिन्छ । तर पछिल्लो समय यो पर्व मनाउने तौरतरिका अझ फराकिलो बन्दै छन् । पहिले तीजको अघिल्लो दिन एक दिनमात्रै दर खाएर पञ्चमी नुहाएर सम्पन्न हुने पर्व आजभोलि दर खाने, रमाउने र मनाउने शैलीमा आधुनिकता थपिँदै गएको छ । यस वर्षको तीज भदौ १० गते परेको छ । तीजबारे विभिन्न क्षेत्रमा सक्रिय महिलाको महिला यहाँ प्रस्तुत गरिएको छ ।


तीजमा पनि काममै हुन्छु
अन्जना मगर, श्रमिक
काम गरेर दैनिकी धान्नै गाह्रो छ यस्तोमा के को चाडपर्व ? तीज आए पनि, दसैं आए पनि हातमा कामकै बोझ हुन्छ । बिहान सबेरै उठेर ईंटा, बालुवा, सिमेन्टसँगै पसिना बगाउनु मेरो दैनिकी हो । अरु दिदीबहिनी सारी लगाएर नाचगान गर्छन्, तर म त कामको भारी बोकेरै दिन काट्छु । चाडपर्व भनेको पैसाले मात्रै मनाइने रहेछ । जसको हातमा पैसा छ, उसलाई रमाइलो, जसको हातमा छैन, उसलाई दुःखै दुःख ।


तीजको खासै महत्व लाग्दैन । तीजका दिन पनि म काममै हुन्छु । कहिल्यै बिदा हुँदैन । गरिबका लागि चाडबाड भन्ने कुरा सपना जस्तै हो । चाडपर्वले गरिबलाई छुन्न, गरिबलाई त बस् कामकै भारीले छोइरहन्छ । महिलाको महान पर्व भनेर के गर्ने ? आजको कमाएको पैसाले साँझ टार्नु छ, भोलिको छाक चलाउन भोलि बिहानै कुद्नु छ ।

Advertisement


चाडपर्व आफ्नो अवस्था अनुसार मनाउने हो । परिवारको जिम्मेवारी पूरा गर्न पाउँदा चाडवाडले भन्दा बढी खुसी दिन्छ । रमाइलो गर्नका लागि चाडपर्व पर्खिरहनु पर्छ जस्तो लाग्दैन । मनले मान्यो भने जुन दिन पनि रमाइलो गर्न सकिन्छ । दसैं भने रमाइलो लाग्छ । दसैंमा परिवारसँग बस्ने, टीका, जमरा लगाउँदा रमाइलो लाग्छ । तीज त यस्तै भयो, दसैंका लागि पैसा जोहो गरेर घर जाने हो । सबै कुरा पैसाले मात्र सम्भव हुन्छ । पैसा भए दसैं दसैं जस्तो लाग्छ, नभए सामान्य दिनझैँ बित्छ ।

पीडा पोख्ने पर्व
हरिदेवी कोइराला, कलाकार

आजकल तीजका गीत गाउने तरिकामा विकृति फैलिँदै गएको छ । मायाप्रेमका, छाडा गीत गाइन्छन्, जुन सुन्न र गाउनै लाज लाग्छ । तीजको आफ्नै मौलिकता, भाका र मर्यादा छन् तर पछिल्ला वर्षमा रत्यौली र दोहोरीका भाका मिसाएर तीजलाई विकृत पारिएको देखिन्छ । तीजका गीत शालिन ढंगले गाउनुपर्छ । तीजगीतमार्फत समाजलाई सन्देश दिने, चेतना फैलाउने, सुन्दा आनन्द आउने खालका हुनुपर्छ । तर राम्रा गीत धेरै हुँदा पनि १÷२ वटा छाडा गीतले ओझेलमा पार्छन् छन् । यसरी विकृति बढ्दै जाने हो भने आगामी पाँच वर्षमा तीजका गीतको रुप के होला भन्ने चिन्ता बढेको छ । छोराछोरीले भविष्यमा कस्तो तीज मनाउलान् भन्ने गम्भीर प्रश्न उठेको छ ।

Advertisement


तीज भनेको महिलाले गीतमार्फत वर्षभरि मनमा थामेका पीडा, गुनासा र अनुभव पोख्ने चाड हो । घरेलु हिंसा जस्ता विषयमा खुलेर भन्न नसक्ने भएकाले तीजगीत पीडाहरु व्यक्त गर्ने माध्यम हो । यसमार्फत महिला सशक्तीकरण, विकासका मुद्दा, समाजका विकृति र जीवनका पाटोलाई अभिव्यक्त गरिन्छ ।


यो दिदीबहिनी र दाजुभाइबीच भेटघाट गर्ने, माया बाँड्ने, सम्बन्धलाई अझ प्रगाढ बनाउने पर्व हो । यसले समाजलाई एकता र सहयोगको सन्देश दिन्छ । चाडपर्व र समाज एकअर्काका परिपूरक हुन् । तीजका गीतले समाजका विसंगतिलाई उजागर गर्ने, सचेतना फैलाउने काम गर्छ । तीजगीत भनेको रमाइलोका लागि मात्र होइन, परम्परा जोगाउने, सकारात्मक सन्देश दिने माध्यम पनि हो । त्यसैले यसलाई शालिन र अर्थपूर्ण बनाउने जिम्मेवारी लिनुपर्छ । यसको मौलिकता जोगाउने काम गर्नुपर्छ । तीजगीत समाजलाई चेनता दिने गीत हो ।


व्यवसायका लागि सुनौलो अवसर
मीना बराल
सञ्चालक, गो बन्जी

तीजको आगमनसँगै बजारमा चहलपहल बढेको छ । साउन महिनामा ठप्प भएको व्यवसाय सक्रिय बन्दै छ । नेपाली महिलाले महान चाड तीजमा लुगाफाटादेखि गरगहना किन्नेहरु यति बेला बजारमा झुम्मिएका छन् । साउन महिना सामान्यतया व्यवसायका लागि अफ सिजन मानिन्छ । वर्षा यामले व्यवसाय सुस्ताउँछ, बजारमा खरिदबिक्री कम हुन्छ । व्यवसायिक गतिविधि अपेक्षाकृत कमजोर हुन्छन् । तीज व्यवसायका लागि सुनौलो अवसरको रुपमा आउँछ ।


तीजलाई महिलाको पर्वमात्र नभई, बजार र व्यवसायका लागि नयाँ आयाम दिने चाडका रुपमा पनि हेरिन्छ । यो अवसरमा गरिने कार्यक्रम, मेलापात, नाचगान, भोजभतेरले होटल, पार्टी प्यालेस र यातायात क्षेत्रलाई समेत सक्रिय बनाउँछ । व्यवसायी महिलाका लागि तीज भनेको नेटवर्किङ, आत्मविश्वास प्रदर्शन गर्ने दिवश हो । तीज अन्तर्राष्ट्रिय नारी दिवस जस्तै हो । जसले महिल अधिकार र पहिचानबारे वकालत गर्छ, भावनात्मक शक्ति र आत्मबललाई उजागर गर्छ ।


तीज महिलाको पर्व भएकाले जीवनमा यसको ठूलो महत्व छ । दिदीबहिनी भेट भएर नाचगान गर्दा रमाइलो हुन्छ । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले भदौ १० र ११ गते बाराहीघाटमा ‘तीज सांस्कृतिक महोत्सव–२०८२’ आयोजना गरेको छ । यसले महिला उद्यमीलाई आफ्नो उत्पादन, हस्तकला, परिकार प्रदर्शन गर्ने, व्यवसायको प्रचार गर्ने प्लेटफर्म प्रदान गर्ने छ । यसले संस्कृतिको संरक्षण र प्रवद्र्धनमा पनि सहयोग पुग्नेछ ।


सामाजिक आन्दोलनको माध्यम
दमयन्ती रुचाल
सांसद, गण्डकी प्रदेशसभा

पहिले समयमा महिलामाथि हिंसा र विभेद अत्यधिक हुन्थे । अन्याय, अत्याचार र शोषणका कुरा समाजमै दबाइन्थे, बाहिर ल्याइँदैनथे । महिलाले आफ्नो पीडा पोख्ने, अधिकार र समानताको आवाज बुलन्द गर्ने माध्यम हो तीज । अझै पनि महिलामाथि हिंसा र अन्याय भइरहेको छ । त्यसविरुद्ध खुलेर आवाज उठाउनुपर्छ । संविधानले महिलालाई हिंसा वा दुव्र्यवहारविरुद्ध कानुनी उजुरी गर्ने अधिकार त दिएको छ, तर अधिकारलाई प्रयोग गर्ने चेतना पुगेको छैन । यो चेतना फैलाउने माध्यम तीज र तीजगीत बन्न सक्छन् । तीजलाई नाचगानको पर्वका रुपमा मात्र सीमित गर्नु हुँदैन, यसलाई सामाजिक आन्दोलन र चेतनाको सशक्त मञ्च बनाउन सकिन्छ ।


जिल्लास्तरीय तीजगीत प्रतियोगिता र सिर्जनात्मक कार्यक्रमहरु गर्न आवश्यक छ । तीजगीत रमाइलोका लागि होइन, समाजलाई सच्च्याउने ऐना हो त्यसैले परम्परागत गीतसँगै प्रगतिशील र सशक्त सन्देश दिने सिर्जना आवश्यक छ । तीजमा महिलाले पार्टी प्यालेसमा भेला भई महँगा वस्त्र, गरगहना देखाउने, महिनौँ पार्टी खाने, भड्किलो गीत गाउने प्रवृत्ति बढेको छ । यो प्रवृत्ति तीजको मौलिकता र यसको वास्तविक उद्देश्यसँग मेल खाँदैन । तीजको वास्तविक उद्देश्य महिलाको दुःख, पीडा र अधिकारको लागि गरिएको संर्षलाई उजागर गर्नु हो । तीजलाई संस्कृतिको पर्व नभई महिला अधिकार, समानता र सामाजिक रुपान्तरणको अभियानसँग जोड्नुपर्छ । तीज अन्यायविरुद्ध विद्रोह गर्ने आवाज पनि हो

प्रमिला कुँवर

पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् । 

तपाईको प्रतिक्रिया