ऐतिहासिक नाच्नेडाँडामा तीज मेला सम्पन्न, मौलिकता संरक्षणमा जोड

समाधान संवाददाता २०८२ भदौ ११ गते ६:०७

गण्डकी ।

बागलुङको गलकोट नगरपालिका–७, मल्मस्थित ऐतिहासिक नाच्नेडाँडामा परापूर्वकालदेखि चल्दै आएको तीज मेला यस वर्ष पनि भव्यताका साथ सम्पन्न भएको छ । तीज पर्वको पर्याय नै बनेको यस स्थानमा दुई दिनसम्म चलेको मेलामा विभिन्न प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिए ।

तीजमा नाचगान हुन थालेपछि नै यस ठाउँको नाम ‘नाच्नेडाँडा’ रहन गएको स्थानीयहरू बताउँछन् । कुनै समय स्वतःस्फूर्त रूपमा लाग्ने यो मेलालाई अहिले नाच्नेडाँडा संरक्षण समाजले संस्थागत रूपमा सञ्चालन गर्दै आएको छ ।

Advertisement

यस वर्षको मेलामा आयोजित तीज गीत तथा नृत्य प्रतियोगितामा ११ समूहले भाग लिएका थिए । प्रतियोगितामा न्यू लाइफ इङ्लिस बोर्डिङ स्कुल प्रथम भई २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो । त्यसैगरी, जनहित माध्यमिक विद्यालयले दोस्रो स्थान हासिल गरी २० हजार, टोल सुधार आमा समूह, हरिचौरले तेस्रो भई १५ हजार तथा गलकोट बोर्डिङ स्कुल र गोल्डेन फ्युचर बोर्डिङ स्कुलले सान्त्वना स्थान प्राप्त गरी जनही ५ हजार रुपैयाँ पुरस्कार हात पारे ।

मेलाको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य दिलमाया पौवीले तीज पर्वको मौलिकतालाई जोगाउनुपर्नेमा जोड दिइन् । उनले संस्कृति संरक्षणसँगै महिला सशक्तीकरण र अधिकारको रक्षाका दृष्टिले पनि तीजलाई हेर्नुपर्ने बताइन् । उनले नाच्नेडाँडामा रहेको ऐतिहासिक सिद्धेश्वर शिवालय मन्दिर लगायतका पूर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिन् ।

Advertisement

गलकोट–७ का वडाध्यक्ष राज थापाले २०५० सालदेखि तीज मेलालाई प्रतियोगितात्मक रूपमा सञ्चालन गर्न थालिएको जानकारी दिए । ‘त्योभन्दा पहिले स्वतःस्फूर्त रूपमा परम्परागत मेला लाग्थ्यो, पछि यसलाई व्यवस्थित र संस्थागत गरिएको हो,’ उनले भने, ‘नाच्नेडाँडा गलकोट क्षेत्रकै ऐतिहासिक थलो हो ।’

मेलाका अवसरमा ज्येष्ठ महिला टुल्की दर्जी र सामाजिक अभियानकर्मी ललिता थापालाई सम्मान गरिएको थियो । सहभागी कलाकारहरूले तीजका मौलिक भाकामा महिलाका दुःख, वेदना र समसामयिक सामाजिक विषयवस्तुलाई उठाएका थिए ।

यो ठाउँको ऐतिहासिकता विसं १८१० मा स्थापित सिद्धेश्वर शिवालय मन्दिरले पनि पुष्टि गर्छ । २७२ वर्ष पुरानो यो मन्दिरका कारण पनि नाच्नेडाँडाको धार्मिक र सांस्कृतिक महत्त्व बढेको हो । हाल मन्दिर जीर्ण अवस्थामा रहेकाले यसको पुरातात्विक कला झल्किने गरी पुनःनिर्माण गर्ने योजना अघि बढाइएको छ ।रासस

तपाईको प्रतिक्रिया