लेकसाइडमा तीजे उत्सव

समाधान संवाददाता २०८२ भदौ ११ गते १०:१४

पोखरा ।
पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को आयोजनामा मंगलबारदेखि पोखराको लेकसाइडस्थित बाराहीघाट चौरमा ‘तेस्रो तीज सांस्कृतिक महोत्सव–२०८२’ सुरु भएको छ । हरितालिका तीजको अवसरमा आयोजित महोत्सव गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकमार थापाले सुरुआत गरे ।


उद्घाटन समारोहमा उनले संस्कृति संरक्षणमा यस्ता महोत्सव महत्त्वपूर्ण हुने बताए । महोत्सवमा प्रदेश सांसद प्रकाश बराल, कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, पोखरा महानगरपालिका २ का वडाध्यक्ष दिवसमान प्रधानांग, पोखरा पर्यटन परिषद् अध्यक्ष तारानाथ पहारी, कलाकार हरिदेवी कोइराला र महिला सञ्जाल बैदामकी अध्यक्ष बबिता मल्लले सभ्य र अनुशासित रुपले तीज मनाउनुपर्नेमा जोड दिए ।


टेवान अध्यक्ष शोभा न्यौपाने पाण्डेले चौरमा बसेर तीजगीत गाउने परम्परा हराउँदै गएको अवस्थामा उक्त परम्पराको पुनर्जागरणका लागि पनि महोत्सव आयोजना गरिएको बताइन् । महासचिव शोभा अधिकारी पौडेलले पर्वलाई महिला सशक्तीकरणसँग जोड्नु महोत्सवको मुख्य उद्देश्य भएको उल्लेख गरिन् ।

Advertisement


उद्घाटनअघि हल्लनचोकबाट बाजागाजासहित झाँकी र्‍याली सुरु भएर बाराहीघाटमा आएर समारोहमा परिणत भएको थियो । महोत्सवमा तीजगीत प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा सहभागी अधिकांश महिला समूहले पर्यटनस“ग जोडेर तीज गीत प्रस्तुत गरे ।


पोखराको फेवा ताल संरक्षण, पर्यटकीय स्थलको प्रवद्र्धन, पर्यटनमा महिला सहभागिता, महिला सशक्तीकरण लगायत विषय प्रतियोगी समूहले गीतमार्फत उठान गरेका थिए । महोत्सव संयोजक शान्ता सुवेदी तिमिल्सिनाका अनुसार बुधबार पनि तीजगीत प्रतियोगिताले निरन्तरता पाउनेछ ।

Advertisement


बुधबार रस्साकसी, घैंटो फुटाउने, साडी दौड जस्ता रमाइला खेलकुदसँगै महिला सशक्तीकरणसम्बन्धी दुईवटा ‘टक सो’ (संवाद कार्यक्रम) हुनेछन् । तीज गीत प्रतियोगितामा पहिलो हुने टिमले ३५ हजार, दोस्रोले २५ हजार, तेस्रोले २० हजार र सान्त्वना १० समूहले ४–४ हजार रुपैयाँ प्राप्त गर्ने छन् । उत्कृष्ट नृत्यलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको उनले बताइन् ।


यो महोत्सवले परम्परागत वेशभूषा, सामूहिक नृत्य, लोकसंगीत र परिकारको पहिचानलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने टेवानकी निवर्तमान अध्यक्ष कमला गिरीले बताइन् । उनले भनिन्, ‘सांस्कृतिक संरक्षण, स्थानीय हस्तकला, खानपान र पर्यटन प्रवद्र्धनका नयाँ ढोकाहरू खुल्ने छन् ।’ महोत्सवकै अवसरमा सेल रोटी पकाउने प्रतियोगिता पनि राखिएको छ ।

तपाईको प्रतिक्रिया