पोखरामा भारतबाट ल्याइएको मुर्रा राँगो भ्यागुते रोगले मर्‍यो

समाधान संवाददाता २०८२ भदौ ११ गते १९:२७

पोखरा ।


भारतले नेपाललाई उपहारस्वरूप उपलब्ध गराएकामध्य एउटा मुर्रा जातका राँगाको मृत्यु भएको छ । २१ महिनाअघि भारतबाट ल्याइएका १५ मध्ये पोखरास्थित राष्ट्रिय पशु प्रजनन् कार्यालयमा राखिएको ‘रोहित’ नामक राँगो साउन ३० गते मरेको हो । कार्यालयका अनुसार उक्त राँगो भ्यागुते रोगबाट संक्रमित भई उपचारकै क्रममा मरेको हो ।


कार्यालयका सूचना अधिकारी डा. महेन्द्र मल्लका अनुसार राँगो साउन १७ गतेदेखि बिरामी अवस्थामा थियो । नियमित उपचार जारी रहे पनि अन्ततः साउन ३० गते साँझ करिब ६ बजे मृत्यु भएको उनले जानकारी दिए ।

Advertisement


भ्यागुते रोगलाई पशु चिकित्सकहरूले अति खतरनाक सरुवा रोग मध्ये एक रहेको बताउँछन् । पास्चुरेला मल्टोसिडा नामक जीवाणुका कारण सर्ने यो रोग आहारा, दूषित पानी, झिंगा, लामखुट्टे, उपिया, किर्ना आदिको टोकाइ वा सम्पर्कबाट स्वस्थ पशुमा पनि सर्ने गर्दछ । यो रोग लागेपछि उच्च ज्वरो आउने, घाँटी सुन्निने, घ्यारघ्यार आवाज आउने, आँखा रातो हुनेजस्ता लक्षण देखिन्छन् ।


सूचना अधिकारी मल्लले संक्रमित राँगोलाई तुरुन्तै क्वारेन्टाइनमा राखिएकाले अन्य पशुमा रोग फैलन नपाएको बताए । उनका अनुसार उक्त राँगो वीर्य उत्पादनका लागि प्रयोग गरिएको थियो । ‘यो ल्याउने मुख्य उद्देश्य नै वीर्य उत्पादन थियो,’ मल्लले भने, ‘यसबाट करिब ३ हजार डोज वीर्य संकलन गरी स्टक राखिएको छ । त्यसैले तत्काल सन्तान उत्पादनमा समस्या त हुँदैन तर नियमित रूपमा वीर्य उपलब्ध गराउने प्रक्रियामा भने क्षति भएको छ ।’

Advertisement


भारतले १५ वटा मुर्रा राँगा नेपाललाई हस्तान्तरण गरेको थियो । तीमध्ये सात वटा पोखरामा, पाँच वटा लहानमा र बाँकी तीन बाँकेस्थित प्रजनन् कार्यालयमा छन् । पोखरा ल्याइएका सातमध्ये दुईबाट गत वर्षदेखि वीर्य संकलन सुरु गरिएको थियो । तर साउन ३० मा मृत्यु भएको ‘रोहित’ त्यही दुईमध्ये एक भएको मल्लले बताए । बाँकी पाँच मुर्रा हाल तालिम र अनुकूलन प्रक्रियामा भउको उनले सुनाए ।


मृत्यु पश्चात् राँगोको पोस्टमार्टम गरिएको थियो । त्यसपछि निर्धारित प्रक्रियाअनुसार अन्त्येष्टि गरिएको कार्यालयले जनाएको छ । यस घटनाबारे कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले हालै बसेको मन्त्रिपरिषद् बैठकमा समेत जानकारी गराएका थिए ।

राँगो मरेपछि राष्ट्रिय स्तरकै पशु प्रजनन योजनाका लागि घाटा भएको विशेषज्ञहरूको भनाइ छ । तथापि, पहिले नै संकलित वीर्यले आगामी केही समय उत्पादनलाई सहज बनाउने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया