
पोखरा ।
वर्षाको मौसम, लेक र खर्क घाँसले डम्म । पाखाभरी भेडा, च्यांग्रा, चौरी र भैसीका बथान । गोठालोको हैटहुइट । केही समय अघिसम्म कास्कीका माथिल्लो भेगमा छ्यापछ्याप्ती देखिने यस्तो दृश्य हिजोआज उतिसारो भेटिन्न ।
डाँडातिरबाट घाँसको जोहो गर्नुभन्दा वस्तुभाउ माथितिरै उकाल्ने चलन कम हुँदै गएको छ । केही बथान वस्तुभाउ देखिहाले पनि गोठाला सबै बुढापाकामात्रै भेटिन्छन् । अहिले लेकतिर भेटिने भेडीगोठ र खर्क ५० वर्ष नाघेका गोठालाले धानेका छन् । उनीहरु पुख्र्यौली पेशा कसरी जोगाउने भन्ने चिन्तामा छन् ।
बाबुबाजेदेखिको पेसामा रमाइरहेकाको कथा अझै रोचक छ । उनीहरु वर्षमा चार महिना खर्क र डाँडापाखामै बिताउँछन् । हरेक वर्ष माघेसंक्रान्ति मानेपछि गोठालाहरु खर्कतिर उक्लिन्छन् । भेडा, बाख्रा, भैँसीका बथानसहित डाँडा उक्लिने उनीहरु असोज/कार्तिकसम्म उतै बस्छन् । हिउँदमा छाडेर हिड्दा लथालिङ भएका संरचना मर्मत गरी बस्नयोग्य बनाएर गुजारा धान्छन् ।
त्यसबीचमा उनीहरुको दैनिकी खर्क र डाँडातिर वस्तुभाउ चराउनु, स्याहार गर्नु, दूध दुहुनु, तताउनु, मोही पार्नु र घिउ निकाल्नुमै बित्छ । साता, दश दिनमा सम्हालेर राखेको घिउ र कुराउनी बोकेर घर (बेसी) झर्छन् । घरबाट खर्क उक्ँिलदा गोठमा बसुञ्जेल खानका लागि पिठो, चामल, आटो, नूनतेल लिएर जान्छन् । त्यो बेला अर्को गोठाला वा आफ्नै परिवारका सदस्यले गोठ धानिदिने चलन छ ।
तर, पछिल्लो समय गोठ–घर गर्दा गोठ सम्हालिदिने मानिस भेटिन हम्मे परेको छ । भैँसी र गोठ हेर्न मान्छे नपाउनेमात्र होइन, रातमा डर लाग्दा साथ दिने पनि भेट्न मुस्किल पर्ने माछापुच्छ्रे गाउँपालिका ९ पु्रन्धुका कुलबहादुर क्षेत्री बताउँछन् ।
यो वर्ष पनि कुलबहादुरको खर्कको जीवन सुरु भइसकेको छ । बर्खामास खर्कमा राम्रो घाँस हुने भएकाले आफूलाई भैँसी चराउन रहर लागेको कुलबहादुरले बताए । तर, बढ्दो आधुनिकतासँगै खर्क बस्ने परम्परा लोप हुनेमा उनको चिन्ता छ ।
उनकै आफ्ना छोराछोरी पनि अरु पेसामा लागिसकेका छन् । ६४ वर्षका उनी आफू खर्क उक्लिन नसक्ने भएपछि पनि यो चलान जोगाइराख्न सुझाव दिन्छन् । नमर्नेभन्दा केही तलको मेर्कुम खर्कमा पनि भैंसीगोठ घट्दै गएका छन् । उनी भने खर्कहरु घट्न दिन नहुनेमा जोड दिन्छन् ।
प्रुन्धु गाउँबाट करिब १ घन्टा टाढा रहेको नमर्जे खर्कमा भैँसीगोठ भएका कुलबहादुरले साथी नै पाएका छैनन् । ‘यस्तो अनकन्टार जंगलमा डर लागिहाल्छ नि, डर लागेर के गर्नु सम्पत्ति भनेकै भैँसी हो । पाल्नै पर्यो’, उनले भने, ‘एक्लै त आत्तिन्छु । पोहोर त तल्लो गोठमा साथी आएको थियो, अहिले ऊ पनि आएन ।’
तर, खर्कमा भैँसीको स्याहार गर्न निकै रमाइलो लाग्ने उनको भनाइ छ । उनीसँग अहिले १० वटा भैँसी छन् । एउटा भैँसीको दूधले ५÷६ दिनमा १२ सय जति कमाइ हुने उनले बताए । ‘अहिले एउटा दुहुनो भैँसी छ । त्यसले १ पटकमा ३ माना जति दूध दिन्छ,’ उनले भने, ‘बिहान, बेलुकी गरी ६ माना जति हुन्छ । त्योबाट घिउ पनि गज्जबले निस्किन्छ ।’
पुर्खाैली पेशा धानेर पनि राम्रै आम्दानी गरिरहेकाले खाने खर्कमा भैसी चराएर पनि जीवन धान्न सकिने उनी बताउँछन् । मादी गाउँपालिका २ ताङतिङका ९१ वर्षीय रनबहादुर गुरुङ भेडीगोठ जोगाउन नसकिएको बताउँछन् । वैँशजोवान लेकमा बिताएका असली गोठाले रनबहादुरलाई भेडीगोठप्रतिको मोहले बुढ्यौलीमा पनि छाडेको थिएन । तर, उकाली ओराली नै गर्न नसक्ने भएपछि २ वर्षअघि नै उनले भेडीगोठ सिक्लेसीलाई बेचिसके ।
२० वर्षको उमेरदेखि भेडाको पछि लागेको उनले अनुभव सुनाए । ताङतिङदेखि माथि ठूलोलेकमा उनको भेडीगोठ थियो । त्यहाँ पुग्न ताङतिङबाट २ दिन लाग्छ । ‘ठूलोलेक पुग्न त २ दिन लाग्छ । बाटोमा बास बसेर जानुपर्छ,’ रनबहादुरका छोरा टुकबहादुरले भने, ‘अहिले त त्यहाँ गोठ धेरै छैनन् । पहिला ७/८ गोठ हुने ठाउँमा यो बेला मेरोमात्र छ ।’ पुर्खादेखि गर्दै आएको पेसा लोप हुने अवस्थामा पुग्न थालकोमा उनी चिन्तित छन् ।
पुख्र्यौैली पेसा जोगाउन गोठाले राखेर पनि ३ सय हाराहारीमा भेडाबाख्रा लेकतिर लगेर पालेका थिए । तर, समय र उमेरले नसकेपछि बेच्न बाध्य हुनु परेको रनबहादुरका छोरा टोकबहादुर गुरुङले बताए । लेकमा भेडा पाल्ने काम गाह्रो भए पनि आम्दानीको राम्रो स्रोत थियो । पोखरा झरेपछि कार्य व्यस्तताका कारण सबै भेडा बेचिदिएको टोलबहादुरले सुनाए ।
‘भेडीगोठबाट भेडा, घिउ, कुराउनी, बख्खु, राडीपाखी बेचेर वर्षमा ४/५ लाख रुपैयाँ आम्दानी हुन्थ्यो । दसैंमा त कप्रु डाँडामै गएर भेडाको साँढ लिएर झर्छन्,’ उनले भने, ‘बख्खु, राडीपाखी, घिउ, कुराउनी सबै गर्दा माथि त पैसा नै पैसा छ । हामीले सालाखाला ४÷५ लाख रुपैयाँ कमाइ गरिन्थ्यो तर, पोखरा तिरैको कामले भ्याइएन ।’
विस्तारै भेडीगोठ लोप नै भएर जाने हो कि भन्ने उनलाई चिन्ता छ । यसको संरक्षणका लागि केही न केही योजना अघि सार्नुपर्ने उनको सुझाव छ । ‘गर्न खोज्ने अनि सक्नेका लागि भेडा पालन सहज नै छ,’ उनी भन्छन्, ‘यो लोप हुने अवस्थामा छ । अब बिस्तारै यसको महत्व र पुख्र्यौली पेसाबारे नयाँ पिँढीलाई बुझाउन आवश्यक छ ।’

धनबहादुर गुरुङ
डेढ दसकदेखि पत्रकारितामा क्रियाशील गुरुङ समाधान दैनिक र समाधानन्युज डटकमका संवाददाता हुन् ।








जेपी क्रस बास्केटबलः पोखरा युनाइटेड र अल्फा बोर्डिङ फाइनलमा
नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म
आदर्श कप माघको दोस्रो साता
टेनिसमा शिभालीले रचिन् इतिहास
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया