
पोखरा । नेपाली कलाकारिताको विशाल आकासमा केही ताराहआफ्नो प्रतिभाले मात्र नभई, आफ्नो संघर्षको कथाले पनि चम्किरहेका छन् । यस्तै एक नक्षत्र हुन्, दिवाकर भण्डारी । जसलाई दर्शक ‘सापटी काका’ उपनामले चिन्छन् र माया गर्छन् । कास्कीको सामान्य गाउँमा जन्मेदेखि लोकप्रिय हाँस्यशृंखला ‘मेरी बास्सै’को लेखक तथा निर्देशकसम्मको उनको यात्रा कुनै फिल्मी कथाभन्दा कम छैन ।
यो यात्रामा अभावको अँध्यारो छ, संघर्षको राप छ, आँसुको नुनिलो स्वाद छ र अन्ततः सफलताको स्वाद पनि छ । भण्डारीको जन्म कास्कीको अन्नपूर्ण गाउँपालिका २ (साविक ढिकुरपोखरी)मा भएको हो । ग्रामीण मध्यम वर्गीय परिवारमा जन्मिएका उनको बाल्यकाल सुखद थिएन । २०४६ सालमा, उनी केवल कक्षा ४ मा पढ्दै थिए, बुबाको निधन भयो । घरको मुख्य अभिभावक गुमाएपछि उनको परिवारमा दुःखको पहाड खस्यो । पैतृक सम्पत्तिका नाममा केही खेतबारी भए पनि आम्दानीको स्थायी स्रोत नहुँदा भण्डारी एक दशकसम्म पेटभरि खानसमेत नपाएको तीतो यथार्थ सुनाउँछन् ।
आफ्नो अभिनय रहेको फिल्म हेर्न अर्काको घरमा जाँदा कि टिभी बन्द गरिदिने कि गाली खानुर्ने अवस्था थियो
घरको आर्थिक अवस्था यति कमजोर थियो कि कात्तिक–मंसिरमा भित्र्याइएको धान कुटेर चामल बेच्न उनी घान्द्रुकसम्म पुग्थे । त्यही चामल बेचेर आएको पैसाले विद्यालयको शुल्क तिर्ने, कापी–कलम किन्ने र लत्ताकपडाको जोहो गर्ने गर्थे । यही अभाव र संघर्षले उनलाई जीवनको मूल्य र मेहनतको महत्व सिकायो । विद्यालय जीवनदेखि नै नाटक र अभिनयमा उनको गहिरो रुचि थियो । उनी नाटकमा अभिनय गर्न र हिरोहरूको नक्कल गर्न हुरुक्कै हुन्थे, जसले उनमा कलाकार बन्ने सपनाको बीउ रोपिदियो ।
कलाकारिताको पहिलो स्पर्श
२०५२ सालमा एसएलसी दिएर बसेका भण्डारीको जीवनमा कलाकारिताको पहिलो किरण तब प¥यो, जब निर्देशक मनिष श्रेष्ठ आफ्नो टेलिफिल्म ‘धुन’ को सुटिङका लागि पोखरा आए । सुटिङ युनिटको गाडी चलाउने दाइको माध्यमबाट उनले ख्यालख्यालमै एउटा सानो भूमिका पाए । उनले आफ्नो भूमिकालाई जीवन्त बनाए र सबैबाट प्रशंसा पनि पाए । तर विडम्बना, उनको घरमा टेलिभिजन थिएन । त्यसैले, पर्दामा आफ्नो पहिलो अभिनय हेर्ने उनको सपना अधुरै रह्यो ।
साथीभाइले ‘तेरो अभिनय राम्रो थियो’ भन्दा सुनेको भरमा चित्त बुझाउनुको विकल्प थिएन । कतिसम्म भने, अरूको घरमा आफ्नो अभिनय हेर्न जाँदा कि टिभी बन्द गरिदिने कि त गाली गर्ने तीतो अनुभव पनि उनले सँगाले । त्यो अभिनयबाट उनले १ सय रुपैयाँ पारिश्रमिक पाएका थिए, जुन पहिलो कमाइ थियो । त्यो पैसाले उनले ८५ रुपैयाँमा आमाका लागि एउटा फरिया किने र बचेको पैसाले फिल्म हेरे ।
काठमाडौं र सडकको बास
कलाकार बन्ने अठोट लिएर उनी काठमाडौँ हान्निए, तर सपनाको त्यो सहर उनका लागि सोचेजस्तो सहज थिएन । २०५५/५६ सालतिर सन्तोष पन्तको लोकप्रिय हाँस्यशृंखला ‘हिजो आजका कुरा’मा अभिनय गर्ने ठूलो धोको थियो । एउटा सानो भूमिका पाउनकै लागि उनी ४ पटकसम्म सन्तोष पन्तको घरमा लाइनमा बसे, तर उनको पालो कहिल्यै आएन ।
उनले पछि थाहा पाए, पन्तका सहयोगीलाई बाहिर लगेर दूध–चिया खुवाउन सके एउटा–दुइटा संवाद बोल्ने मौका मिल्थ्यो । तर, पोखराबाट आएर होटलमा बस्ने पैसासमेत नभएका उनले कसरी अरूलाई चिया खुवाऊन् ? पैसा सकिएपछि भोलि फेरि लाइन बस्ने आशामा उनले काठमाडौँको सडक पेटीमा रहेको ह्युमपाइपभित्र रात बिताएको अनुभव उनीसँग छ ।
वैदेशिक रोजगारी र कलाको भोक
एकातिर काठमाडौंमा अवसर पाएनन्, अर्कातिर घरको आर्थिक जिम्मेवारीले थिचिए । यो सकसमा उनी कलाकारितालाई अल्पविराम लगाउँदै वैदेशिक रोजगारीका लागि साउदी अरब पुगे । त्यहाँ उनले ८ वर्ष बिताए । सुरुमा गाडी धुने र पुछ्ने जस्तो सामान्य कामबाट यात्रा थालेका उनले पछि सेल्सम्यानका रूपमा पनि काम गरे ।
कामलाई कहिल्यै सानो नठान्ने भण्डारीका लागि विदेशको बसाइले जीवनका अनेकौँ पाटा सिकायो । तर, भौतिक रूपमा उनी मरुभूमिमा भए पनि उनको मनभित्रको कलाकार जिउँदै थियो । विदेशमा कमाएको पैसाले घरको ऋण तिर्नुका साथै उनले कलाप्रतिको भोकलाई पनि जीवितै राखे । साउदीमा रहँदा नै ‘एउटै मिल्यो हजारौँ हजारमा’ जस्ता गीत बजारमा ल्याए ।
मेरी बास्सैः टर्निङ प्वाइन्ट
वैदेशिक यात्रालाई बिट मारेर स्वदेश फर्किएपछि उनको भेट राजु पौडेल (राजु मास्टर) सँग भयो, जुन उनको कलाकारिता यात्राको सबैभन्दा महत्वपूर्ण र निर्णायक मोड साबित भयो । राजु मास्टरकै प्रेरणा र सहयोगले उनी लोकप्रिय हाँस्यशृंखला ‘मेरी बास्सै’ को ५ सयौं भागबाट जोडिए । सुरुमा सामान्य कलाकारको रूपमा प्रवेश गरेका भण्डारीले आफ्नो लगन, मेहनत र प्रतिभाको बलमा विस्तारै आफूलाई स्थापित गरे ।
समय क्रममा उनले यही शृंखलाको लेखन र निर्देशन जस्तो महत्वपूर्ण जिम्मेवारी काँधमा लिए । अहिलेसम्म ९ सय २४ भाग प्रशारण भएको ‘मेरी बास्सै’ का उनले २ सयभन्दा बढी भागको स्क्रिप्ट आफैँले लेखेका छन् । कुनै समय केदार घिमिरे (माग्ने बुढा) र सीताराम कट्टेल (धुर्मुस) जस्ता हस्ती जन्माएको ‘मेरी बास्सै’ को विरासतलाई उनले सफलतापूर्वक अगाडि बढाए ।
बहुआयामिक प्रतिभा
कलाकार भण्डारीको प्रतिभा अभिनयमा मात्र सीमित छैन । उनी कुशल लेखक, निर्देशक र गीतकार पनि हुन् । उनले चलचित्र ‘चिनो’, ‘राज’, ‘कन्यादान’, ‘नाई नभन्नु ल २’, ‘किट्न्याप’, ‘मेरी मुमा’ लगायत १४ वटा चलचित्रमा अभिनय गरेका छन् । टेलिशृंखलामा ‘मेरी बास्सै’बाहेक उनले ‘खिचडी’, ‘ल खत्तम’, ‘माफ पाऊँ’, ‘एके फोर्टी सेभेन’मा अभिनय कौशल देखाएका छन् । उनका ‘एउटै मिल्यो हजारौँ हजारमा’, ‘दाइ त हङकङको’, ‘स्वामी राजैले’ लगायत ८ गीतका एल्बम प्रकाशित छन् ।
सामाजिक चेतना फैलाउने उद्देश्यले उनले बालविवाह, दाइजो प्रथा, क्षयरोग, भवन निर्माण आचारसंहिता जस्ता विषयमा १ सय ५० भन्दा बढी सडक नाटक लेखेका र अभिनय गरेका छन् । जुन उनको सामाजिक उत्तरदायित्वको प्रमाण हो ।
परोपकार र जीवनदर्शन
आफूले भोगेको दुःख र अभाव अरू कसैले भोग्न नपरोस् भन्ने भावनाले उनी सामाजिक कार्यमा पनि सक्रिय छन् । ६ वर्षदेखि उनले ५ अनाथ तथा जेहेन्दार बालबालिकाको शिक्षा, स्वास्थ्य र लत्ताकपडाको जिम्मेवारी लिएका छन् । आफ्ना २ सन्तानसहित उनी आफूलाई ७ सन्तानको पिता भन्न पाउँदा गर्व महसुस गर्छन् । आफूलाई लेखक वा निर्देशकभन्दा पनि एक ‘पूर्ण कलाकार’ मान्छन् । लेखन र निर्देशनलाई उनी बाध्यताले सिर्जना गरेको अवसरका रूपमा लिन्छन् ।
उनको जीवनको एउटै इच्छा छ, ‘सघर्ष गर्दागर्दै क्यामराअघि नै मर्न पाइयोस् ।’ कलाप्रतिको यो अगाध समर्पणले नै उनलाई आज यो उचाइमा पुर्याएको हो । कलाकार भण्डारी ‘सापटी काका’को जीवनकथा केवल एक कलाकारको सफलताको कथामात्र होइन, यो त एउटा यस्तो व्यक्तिको कथा हो, जसले अभावलाई अवसरमा बदल्यो । अपमानलाई प्रेरणा बनायो र संघर्षको भट्टीमा खारिएर आफूलाई सुनजस्तै चम्किलो सिद्ध गर्यो ।

श्याम कुँवर
कुँवर समाधान दैनिकका वरिष्ठ उपसम्पादक हुन् ।







मुस्ताङ-डोल्पा सडक १० दिनदेखि अवरुद्ध
लाम्पाटामा पाखो सम्याएर खेलमैदान निर्माण
लमजुङमा जिपको ठक्करबाट बालिकाको मृत्यु
‘गाउँघरको माया’ बोलको लोकगीत सार्वजनिक
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया