रमेश भुसालको संस्मरणात्मक कृति ‘छालबाटो’ लाई पद्मश्री साहित्य पुरस्कार

समाधान संवाददाता २०८२ भदौ १५ गते ५:४५

चितवन । खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले वि.सं. २०८१ सालको पद्मश्री साहित्य पुरस्कार लेखक रमेश भुसाललाई प्रदान गर्ने निर्णय गरेको छ । उनको संस्मरणात्मक कृति ‘छालबाटो’लाई चयन समितिको सिफारिसमा उत्कृष्ट ठहर गरिएको हो ।

वि.सं. २०८१ मा प्रकाशित र प्रतिष्ठानलाई प्राप्त २०३ वटा कृतिमध्ये असार १५ गते विस्तारित सूची र साउन १५ गते संक्षिप्त सूची सार्वजनिक गरिएको थियो । अन्ततः तीमध्ये भुसालको कृति उत्कृष्ट ठहर गर्दै पुरस्कार दिने टुंगो लगाइएको हो ।

‘छालबाटो’ले कैलाश मानसरोवर हुँदै तिब्बतस्थित कर्णालीको उद्गम र भारतको गंगासम्मको यात्रालाई समेट्छ । यसमार्फत कर्णालीको प्रवाह, सीमा सुरक्षा, स्थानीय बस्ती, जलवायु परिवर्तन, वन्यजन्तु संरक्षण, जलविद्युत् र विस्थापनजस्ता गम्भीर विषयलाई नियात्रा शैलीमार्फत प्रस्तुत गरिएको छ ।

Advertisement

साहित्य, संगीत र कलामा दीर्घसाधना गरेर योगदान गर्ने व्यक्तिलाई प्रदान गरिने पद्मश्री साधना सम्मान यस वर्ष रमा शर्मालाई दिने निर्णय भएको छ । नेपाली शिक्षा परिषद्की अध्यक्ष शर्माले आफ्नो सम्पूर्ण जीवन भाषा, साहित्य, संस्कृति र कलाको उन्नयनमा समर्पण गरेकी छन् । उनका अन्वेषण, समालोचना, जीवनी, निबन्ध, भाषा र बालसाहित्यसहित करिब दुई दर्जन पुस्तक प्रकाशित छन् ।

त्यस्तै, समाजका विभिन्न क्षेत्रमा उल्लेख्य योगदान गर्ने व्यक्तिलाई दिइने पद्मश्री गौरव पुरस्कार यस वर्ष प्राडा अभिनारायण सुवेदीलाई दिने निर्णय गरिएको छ । सुवेदी नेपाली र अङ्ग्रेजी दुवै भाषामा सक्रिय रहेका निबन्धकार, समालोचक, भाषाविद्, नाटककार, अनुवादक र कवि हुन् । उनका करिब तीन दर्जन कृति प्रकाशित छन् र उनी साहित्य सिर्जनामा निरन्तर सक्रिय छन् ।

Advertisement

यी सबै पुरस्कार र सम्मान जनही ३ लाख रुपैयाँ नगद तथा सम्मानपत्रसहित आउनेछन् । प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले यी पुरस्कार तथा सम्मान कोजाग्रत पूर्णिमाको दिन अर्पण गरिने जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया