सम्पादकीय—सुशासन अभियान

सरकारी कार्यालयमा व्याप्त ढिलासुस्ती, अपारदर्शिता र भ्रष्टाचारजस्ता विकृतिहरूका अन्त्यका लागि पोखरामा एउटा अभियान सुरु भएको छ । ११ बुँदे सुधार प्रस्तावसहित यो अभियानले डिजिटल प्रविधिको प्रयोगदेखि लिएर भ्रष्टाचार नियन्त्रण, स्थानीय सरकारको सबलीकरण र नागरिक गुनासो व्यवस्थापनसम्मका महत्वपूर्ण विषयहरुलाई समेटेको छ । यो अभियान केवल कास्कीका लागि मात्र नभई समग्र नेपालको सार्वजनिक प्रशासन सुधारका लागि आवश्यक हो ।
नेपाली कांग्रेस कास्कीको साथ, समर्थन र समन्वयनमा युवा नेता गणेशबहादुर थापा संयोजक रहेको समितिले उठाएका मुद्दा जनतासँग जोडिएका विषय छन् । खासमा डिजिटल लगबुकको अवधारणा, जहाँ कर्मचारीहरूले दिनभरि गरेका कामहरूको विवरण अभिलेखीकरण गर्नुपर्छ भन्ने जुन कुरा छ, त्यसले कर्मचारीलाई काम नगरी बस्न हुन्न भन्ने बनाउँछ । कर्मचारीहरूलाई राज्यबाट सेवा सुविधा लिएर जनताको काममा खटिने ‘कामदार’ को रूपमा परिभाषित गरिन्छ तर व्यवहार त्यो छैन । शाखा वा विभाग बन्द नगर्ने व्यवस्था, भौतिक र इन्टरनेट दुवै माध्यमबाट उजुरी दर्ता गर्न सकिने प्रावधान, र सेवाग्राहीले तोकिएको समयमा सेवा नपाउँदा क्षतिपूर्ति पाउने व्यवस्था कार्यान्वयन गर्न सके सार्वजनिक सेवा प्रवाहलाई नागरिकमैत्री बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।
आजको डिजिटल युगमा नागरिकका कल र इमेललाई बेवास्ता नगर्ने र बैठकहरूलाई डिजिटल प्लेटफर्ममार्फत आह्वान गर्नेजस्ता प्रावधानहरूले सरकारी कामकाजलाई अझ प्रभावकारी र पारदर्शी बनाउँछ । ‘एकै ढोका–सम्पूर्ण सेवा’ को अवधारणाले सेवाग्राहीले विभिन्न कार्यालय धाउनुपर्ने झन्झटलाई कम गरी समय र ऊर्जाको बचत गर्नेछ । यी नीतिगत सुधारहरूले कर्मचारीमा अनुशासन र जवाफदेहिता बढाउनेछ । काम नगरे सजाय र ढिलाइ गरे क्षतिपूर्ति तिर्नुपर्ने व्यवस्थाले अकर्मण्यता, ढिलासुस्ती र फितलो सेवाको अन्त्य गरी सुशासन कायम गर्न मद्दत पुर्याउँछ । यसले संविधानले परिकल्पना गरेको सुशासनलाई व्यवहारमा उतार्दै नागरिक र राज्यबीचको दूरी घटाउँछ ।
अभियानले अघि सारेका ११ बुँदाहरूलाई सम्बन्धित मन्त्रालय, आयोग र निकायमा बुझाएर, सरोकारवालाहरूसँग थप छलफल गरी र कार्यान्वयनका लागि दबाब कार्यक्रम सञ्चालन गर्नुपर्छ । कास्कीमा सुरु भएको यो नागरिक अभियानले साकार लिने हो भने सरकारी कार्यालयहरूमा सुशासन कायम गर्न र नागरिकमैत्री सेवा प्रवाह सुनिश्चित गर्न एउटा नयाँ मार्ग प्रशस्त गर्ने विश्वास लिन सकिन्छ । यसको सफलताले देशभरका अन्य क्षेत्रहरूलाई पनि यस्तै अभियानहरू सञ्चालन गर्न प्रेरित गर्नेछ, जसले अन्ततः एक सुदृढ र जवाफदेही प्रशासनिक प्रणालीको निर्माणमा योगदान पुर्याउनेछ ।







बागलुङ नगरका सडक कालोपत्र र ढलान सुरु
माछापुच्छ्रे हिमाल
पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति
फेवातालस्थित तालबाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया