सम्पादकीय—लिपुलेकमा नेपालको अडान

लिपुलेक हुँदै द्विपक्षीय व्यापार गर्ने २ छिमेकी भारत र चीनको सहमतिप्रति नेपालले प्रष्ट रुपमा आपत्ति जनाएको छ । साघांई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा सहभागी हुन चीनको तियान्जिन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको उच्च स्तरीय भेटवार्तामा सो सहमतिमा आपत्ति जनाएका हुन् । लिपुलेकलाई व्यापारिक मार्ग बनाउने सहमति नेपालका लागि अस्वीकार्य रहेको सन्देश उनले दिएका छन् ।
यस सम्बन्धमा चिनियाँ विदेश मन्त्रालय र अधिकारीले केही नबोलेकाले यसलाई उनीहरुले प्राथमिकतामा नराखेको देखिए पनि नेपालले आफ्नोतर्फबाट दृढतापूर्वक अडान राख्नु उचित कुरा हो । सन् १८१६ को सुगौली सन्धिबमोजिम महाकालीपूर्वका सबै भूभाग नेपालको हो भन्ने स्पष्ट सन्देश चीनलाई दिइएको छ भने अब त्यो सम्झौतालाई चीनले कार्यान्वयन नगरोस् भन्ने आग्रहसमेत नेपालले गरेको छ । नेपालको आग्रहलाई चीनले कसरी लिन्छ, त्यो हेर्न बाँकी छ ।
नेपालले प्रधानमन्त्रीको उच्चस्तरीय भ्रमणकै बेला अडान दर्ज गरेपछि लिपुलेकसम्बन्धी नेपालको दृष्टिकोण अहिले अन्तर्राष्ट्रियकरण भएको छ । कूटनीतिका आफ्नै सीमा हुन्छन् । यो घरेलु मामिलामा जस्तो आफूले चाहेमात्र पनि हुँदैन । नेपालको अडानले चीनलाई सोच्न वाध्य गर्छ तर यत्ति आग्रहले मात्र आफ्नो निर्णयमा यसले पुनर्विचार गरिहाल्छ भन्न चाहिँ सकिँदैन । चीनले लिपुलेक प्रकरणलाई नेपाल र भारतको मामिला भनेर पन्छाउने संकेत गरिसकेको छ ।
पछिल्लो समय चीनले भारतसँगको सम्बन्धमा जोड दिने नीति लिएको देखिन्छ । जनसंख्याको हिसाबले संसारकै पहिलो र आर्थिक दृष्टिकोणबाट चौथो शक्ति सम्पन्न भारतसँग अर्को कुनै छिमेकीका कारण चीनले दूरी बढाउने काम गरिहाल्दैन । पछिल्लो विश्व राजनीतिक समीकरणका कारण अमेरिकालाई टक्कर दिन पनि शक्ति सम्पन्न छिमेकी देश भारतसँग सम्बन्ध विस्तारको नीति चीनले लिएको स्पष्ट छ । भदौ ३ गते लिपुलेकमार्फत द्विपक्षीय व्यापार गर्ने सहमति पनि अर्थ पनि दुई देशको विशेष सम्बन्धको सुरुआत भन्ने नै हुन्छ ।
हाम्रा दुई छिमेकीको मिलन र तनाव दुवै अवस्थामा हामीले कठिनाई भोग्नु परेको इतिहास छ । हामी सामरिक दृष्टिकोणले चुनौतीपूर्ण अवस्थितिमै छौं । हाम्रो मुख्य सवाल आफ्नो सार्वभौमिकताको सवालमा निरन्तर अडिग नै हो । देशभित्र राष्ट्रिय एकता र साझा धारणा बनाउनु आवश्यक छ । यो विषयमा आन्तरिक मतमतान्तर वा दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय एकता कायम गर्नुपर्छ । आफैंमा विभाजित भएर देशको सवाललाई दरिलोसँग उठाउन सकिँदैन ।
भारतले बेला बेलामा नेपाली भूमीमा अतिक्रमण गर्ने, सीमामा अनधिकृत संरचनाहरु बनाउने गर्दै आएको छ । एउटा असल छिमेकीको नाताले निर्वाह गर्नुपर्ने भूमिका निर्वाह गर्न लगाउन नेपालले बुद्धिमतापूर्ण कदम चाल्नु जरुरी छ । नेपाल दुईमध्ये कुनै एकलाई पनि चिढ्याएर अघि बढ्न सक्ने अवस्थामा छैन । समन्वयकारी भूमिका निर्वाह गरी राष्ट्रियता र राष्ट्रिय हित रक्षाका लागि लाग्नु श्रेयस्कर हुन्छ ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया