टुर दी पोखराको सप्ताहव्यापी कार्यक्रम

समाधान संवाददाता
पोखरा
टुर दी पोखराको सप्ताहव्यापी अभियान अन्तर्गत पोखरामा बुधबार कार्यक्रममा ५० युनिट रगत संकलन भएको छ । न्युरोडस्थित साइकल ल्यान्ड परिसरमा भएको कार्यक्रम पोखरा महानगरपालिका ८ का वडाध्यक्ष रुद्रनाथ बरालले रक्तदातालाई ब्लडब्याग हस्तान्तण गरी उद्घाटन गरे । ‘थोपा थोपा इन्धन बचाऔं’ नाराका साथ पुस १२ गते हुने ५ औं संस्करणको टुर दी पोखराको प्रचारस्वरुप रक्तदान गरिएको जीतेन्द्रमान शाक्यले बताए ।
वडाध्यक्ष बरालले आफूहरुले पोखरामा साइकल लेनको आवश्यकता महसुस गरेको बताए । महानगरको आगामी योजनामा साइकल लेनलाई समेट्ने प्रतिबद्धता उनले जनाए । टुर दी पोखराका संयोजक राजन गोंगजुले साइकलका माध्यमले पर्यटक बढाउनुका साथै वातावरण प्रदूषणसमेत रोकिने भएकाले यसमा सहभागी हुन आग्रह गरे । संस्थाका अध्यक्ष महेन्द्रराज कोइरालाको सभापतित्वमा भएको कार्यक्रममा क्षेत्रीय रक्त सञ्चार केन्द्र पाखराले प्राविधिक सहयोग गरेको सचिव करुणा ढकालले बताइन् ।
पोखराको पर्यटनलाई प्रवद्र्धन गर्दै वातावरण प्रदूषण कम गराउने र इन्धनको प्रयोग घटाउने सन्देश प्रवाह गर्न ५ वर्षदेखि टुर दी पोखरा हुँदै आएको छ । अघिल्ला संस्करणभन्दा यसपालि केही परिमार्जन गरेर रक्तदान र जिल्लास्तरीय खुला साइकल दौड पनि जोडिएको छ । पुस ९ गते बिहान न्युरोडस्थित साइकल ल्यान्ड परिसरमा रक्तदान र पुस ११ गते १८.५ किलोमिटर दुरीको साइकल दौड हुने गोंगजुले जानकारी गराए ।
पुस १२ गते मुल कार्यक्रम अन्तर्गत पोखरा प्रदर्शनी केन्द्रबाट साइक्लिङ सुरु हुनेछ । त्यसअघि स्लो साइकल रेस, बाल ह्विल रेस र जिगज्याग साइक्लिङ हुनेछ । टुर दी पोखराका लागि दर्ता खुलेको र ज्याकेटसहित खानाका लागि ८ सय रुपैयाँ दर्ता शुल्क तोकिएको छ । ज्याकेटमात्र लिए ६ सय र खानामात्रको ३ सय रुपैयाँमा दर्ता गर्न सकिने छ । आइएमई पेमार्फत् पनि यो कार्यक्रमका लागि नाम दर्ता गर्न सकिने आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी गराए । पुस १२ गतेकै लागि काहुँडाँडामा साइक्लिङसहित १ रातको बसाइ राखिएको पोखरा साइकल सिटीका निवर्तमान अध्यक्ष प्रकाश बज्राचार्यले जानकारी दिए । टुर दी पोखरामा सहभागी हुने सबैलाई मेडल र प्रमाणपत्रको व्यवस्था छ ।
भ्रमण वर्षको पूर्वसन्ध्यामा हुने यो कार्यक्रमले स्वदेशी र विदेशी पर्यटकलाई समेत आकर्षण गर्न सहयोग गर्ने आयोजकको दाबी छ । अघिल्लो वर्षबाट नेपाल आयल निगमको सहकार्यमा यो कार्यक्रम हुँदै आएको छ । नेपालमा बर्सेनि २ खर्बको पेट्रोलियम पदार्थ खपत हुने भएकाले यसलाई विस्तारै कम गराउनका लागि निमगले साइकल सिटीसँग सहकार्य गरेको निगमको गण्डकी कार्यालय प्रमुख बिनी श्रेष्ठले बताइन् ।
शारीरिक अपांगता भएका विद्यार्थी विशाल गर्बुजा यसपालिको टुर दी पोखराका लागि सद्भावनादूत नियुक्त भएका छन् । १ हात नभएका गर्बुजा कास्की मोडर्नाइज्ड स्कुलमा १२ कक्षाका विद्यार्थी हुन् । १ हात नभए पनि अरु सामान्य मानिसले भन्दा सहज रुपमा साइकल चलाउने उनी काठमाडौंमा भएको ‘कोरा’ मा समेत सहभागी भइसकेका छन् ।









पोखरामा २२ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड आयोजना हुनुको महत्व
हिमालय आँखा अस्पतालद्वारा अर्जुनचौपारीमा ६१ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया
पोखराकी व्यवसायी मीलन थापा रास्वपामा
शिवशक्ति माविमा साढे दुई दशक प्रधानाध्यापक रहेका बास्तोलाको बिदाइ
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया