बिजुली खपत बढाए दोहोरो फाइदा

पोखरा ।
अन्तर्राष्ट्रिय दातृ संस्था विनरक इन्टरनेसनल नेपालको नेतृत्वमा, जनताको लागि ऊर्जा तथा वातावरण विकास संस्था तथा जनता र वनका लागि केन्द्र नेपालको सहकार्यमा सञ्चालित विसन्स इनोभेसन ल्याब परियोजना नेपालको कार्यप्रगतिबारे गण्डकी प्रदेश स्तरीय सिकाइ आदानप्रदान कार्यक्रम गरिएको छ ।
विनरक इन्टरनेुनल नेपालका राष्ट्रिय निर्देशक बद्रीनाथ बरालले परियोजनाले ग्रामीण क्षेत्रको जीविकोपार्जन सुदृढ गर्न विकेन्द्रीत नवीकरणीय ऊर्जा समाधान र एकीकृत भू–व्यवस्थापनमार्फत बागलुङ र जुम्ला जिल्लामा दीर्घकालीन रूपमा महत्वपूर्ण योगदान पुर्याइरहेको बताए ।
उनले परियोजनाको पहिलो र दोस्रो चरणमा स्थानीय सरकार, लघु जलविद्युत सहकारी, सामुदायिक संगठन र निजी क्षेत्रसँगको सहकार्यमा नीति संवाद, क्षमता अभिवृद्धि, प्रविधि परीक्षण, र ऊर्जा तथा प्राकृतिक स्रोत व्यवस्थापनमा दीर्घकालीन दृष्टिकोण स्थापित गरेको जानकारी दिए ।
उनले परियोजनाको तेस्रो र चौथो चरणमा विशेष गरी, स्थानीय संस्थाहरू र लघु जलविद्युत सहकारीहरूको क्षमता अभिवृद्धि, प्राविधिक तालिम, र वित्तीय स्थायित्वमा ध्यान केन्द्रित गरिने उल्लेख गरे । ‘नेपाल विद्युत प्राधिकरण र अन्य सरकारी निकायसँगको समन्वयमा लघु जलविद्युत आयोजनाको ग्रिड जडान र सञ्चालनलाई प्राथमिकता दिइनेछ,’ उनले भने, ‘जुन कार्यले पर्यावरणमैत्री र आर्थिक दृष्टिले दिगो, सामुदायिक केन्द्रित समाधानको प्रवद्र्धन गर्नेछ ।’ उनले परियोजनालाई केवल एक सीमित अवधिको हस्तक्षेप नभई व्यवस्थित, दोहोरिने, र विस्तारयोग्य मोडलको रुपमा अघि बढाउने अवसर दिएको दाबी गरे ।
बागलुङका ६ र गुल्मीको १ गरी ७ स्थानीय तह (ढोरपाटन, मुसिकोट, गल्कोट नगरपालिका र तमानखोला, ताराखोला, निसीखोला, बडिगाड गाउँपालिका) बीच समन्वय, सेवा प्रवाह, दिगो विकास र पूर्वाधार योजनाका लागि दरम–बडिगाड जलाधार क्षेत्र अन्तर स्थानीय सरकार समन्वय समिति गठन गरिएको जानकारी दिँदै उनले समिति अन्तर्गत संयुक्त फोहोर व्यवस्थापन संयन्त्र र सार्वजनिक पार्कसहितको बहुउपयोगी संरचनाको काम अघि बढिरहेको बताए ।
लघु जलविद्युत प्लान्टहरूलाई राष्ट्रिय प्रसारण लाइन (राष्ट्रिय ग्रिड) मा जडान गरे सरकारले ५० प्रतिशत अनुदान दिने जानकारी दिँदै उनले राष्ट्रिय रूपमा ऊर्जाको खपत बढाउनुपर्ने सुझाव दिए । उनले उत्पादित विद्युतलाई निर्यात बढाउनुभन्दा आन्तरिक रूपमा खपत बढाए दोहोरो फाइदा हुने दाबी गरे । उनले बागलुङको निसी खोला, चाचलघाट, गिरिन्दीखोला जस्ता लघु जलविद्युत आयोजनालाई राष्ट्रिय ग्रिडमा जडान गरी अधिक विद्युत बिक्रीबाट स्थानीय आम्दानी वृद्धि गरिएको जनाए ।
उनले ग्रिड जडानपछिको प्रभाव मूल्यांकनले ५ लघु जलविद्युत केन्द्रहरूमा गरिएको प्राविधिक, सञ्चालन र आर्थिक पक्षको मूल्यांकनले समुदायमा सकारात्मक प्रभाव परेको देखाएको उल्लेख गरे । उनले एकीकृत भू–क्षेत्र व्यवस्थापनअन्तर्गत बायोइञ्जिनियरिङ प्रविधि प्रयोग गरी भिर नियन्त्रण, बाढी–पहिरो जोखिम न्यूनीकरण र संरचना संरक्षणमा काम गरिएको जनाए ।
विनरक इन्टरनेसनल नेपालका प्रतिनिधि सुबोध घिमिरेले ई–मोबिलिटी प्रवद्र्धन अन्तर्गत गल्कोट–बडिगाड निसीखोला करिडोरमा विद्युतीय सार्वजनिक यातायातको सम्भाव्यता अध्ययन गरिएको जानकारी दिए । उनले सो क्रममा वातावरणीय र आर्थिक लाभको मूल्यांकन गरेको बताए । जनताको लागि ऊर्जा तथा वातावरण विकास संस्थाका प्रतिनिधि विराज गौतमले विद्युतीय चुलोको प्रवद्र्धनअन्तर्गत बागलुङका होटल, रेस्टुरेन्ट र विद्यालयहरूमा विद्युतीय चुलो जडान गरी परम्परागत इन्धनको विकल्प प्रस्तुत गरिएको जनाए ।
उनले साना होटल तथा रेस्टुरेन्टमा विद्युतीय चुलो विस्तारको सम्भावना राम्रो भएको बताए । बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले साना तथा लघु जलविद्युतको प्रवद्र्धनबाट आन्तरिक राजस्व वृद्धि भएको जानकारी दिइन् । खेर गएको विद्युतलाई व्यावसायीकरण गरी नागरिकको जीवनस्तर उकास्ने काम भइरहेको उल्लेख गर्दै उनले ५० प्रतिशत अनुदानमा १ हजार विद्युतीय चुलो वितरण गर्ने बताइन् ।
ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयका प्रमुख डिभिजन इन्जिनियर हरिभक्त पौडेलले उज्यालो गण्डकी प्रदेश अभियानअन्तर्गत लघु जलविद्युत मर्मत गर्ने योजना प्रदेश सरकारले समेटेको जानकारी दिए । नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय गण्डकीका प्रमुख विक्रमकुमार आमात्यले आन्तरिक ऊर्जाको खपतको लागि विद्युतीय सवारी साधन र विद्युतीय चुलोको प्रयोग बढाउनुपर्ने बताए । उनले विद्युतीय चुलोको सुरक्षित प्रयोगमा ध्यान दिनुपर्ने सुझाव दिए ।
कार्यक्रममा वन तथा वातावरण मन्त्रालय वन संरक्षण तथा व्यवस्थापन महाशाखाका प्रमुख पूर्णेश्वर सुवेदी, विनरक इन्टरनेसनल नेपालका प्रतिनिधि निशा जसवाल, राष्ट्रिय लघु तथा साना जलविद्युत उपभोक्ता समाज नेपालका उपाध्यक्ष राजकुमार राई, विद्युतीय सवारी साधनका बिक्रेता प्रमेश पराजुली, विद्युतीय चुलोका विक्रेता बाबुराम भण्डारी, चाचलघाट जलविद्युत उपभोक्ता समाजका सचिव झपिन्द्र बुढाथोकी लगायतले बोलेका थिए ।








जेपी क्रस बास्केटबलः पोखरा युनाइटेड र अल्फा बोर्डिङ फाइनलमा
नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म
आदर्श कप माघको दोस्रो साता
टेनिसमा शिभालीले रचिन् इतिहास
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया