
निजामती सेवा राष्ट्रको प्रशासनिक संरचनाको मेरुदण्ड मानिन्छ । यसले राज्यका नीतिगत निर्णयलाई व्यवहारमा परिणत गर्ने र नागरिकसँग राज्यलाई प्रत्यक्ष रूपमा जोड्ने काम गर्दछ । सार्वजनिक प्रशासनसँगै कर्मचारी प्रशासन पनि विकसित भए तापनि आधुनिक अर्थमा निजामती सेवाको अवधारणा १९औँ शताब्दीको उत्तराद्र्धतिर मात्र प्रष्ट भएको पाइन्छ । १९औँ शताब्दीपूर्वका धेरै देशमा संरक्षण प्रणाली र लुट प्रणाली प्रचलनमा थिए । यसले प्रशासनलाई अस्थायी, अक्षम र राजनीतिक प्रभावमा पार्ने गरेको थियो । त्यसको विकल्पका रूपमा स्थायी, दक्ष, व्यावसायिक र राजनीतिक तटस्थ प्रशासनिक संरचनाको आवश्यकता महसुस गरियो, जसलाई आजको आधुनिक निजामती सेवा भनिन्छ ।
अन्तरराष्ट्रिय विकासक्रम
उन्नाइसौँ शताब्दीको उत्तराद्र्धमा पश्चिमी देशहरूले आधुनिक निजामती सेवाको संरचना स्थापनामा महत्वपूर्ण कदम चालेका थिए । बेलायतमा सन् १८५४ मा प्रकाशित नर्थकोट एण्ड ट्रेभेल्यान रिपोर्टले प्रशासनिक सुधारका आवश्यकता र मार्गदर्शन प्रस्तुत ग¥यो । यस रिपोर्टले तत्कालीन संरक्षण प्रणाली र लुट प्रणालीले प्रशासनलाई अस्थायी, अक्षम र राजनीतिक प्रभावमा पार्ने अवस्थालाई अन्त्यगरी स्थायी, व्यावसायिक, दक्ष र निष्पक्ष प्रशासनिक संरचना आवश्यक रहेको सिफारिस ग¥यो । रिपोर्टको कार्यान्वयनपश्चात् मेरिटमा आधारित भर्ना प्रणाली लागू भयो, जसले योग्य र दक्ष व्यक्तिहरूलाई मात्र सरकारी सेवामा प्रवेश सुनिश्चित ग¥यो । यसले प्रशासनलाई स्थायी, व्यावसायिक र तटस्थ बनाउने आधार तयार गरेको हो ।
त्यस्तै, अमेरिकामा सन् १८८३ मा पेन्डलेटन एक्ट लागू गरी स्पोइल्स प्रणाली अन्त्य गरियो र मेरिट प्रणाली सुरु भयो । यस ऐनले राजनीतिक प्रभावमा आधारित नियुक्ति प्रणालीलाई प्रतिस्थापन गर्दै सरकारी सेवामा योग्य र दक्ष कर्मचारीको चयन सुनिश्चित ग¥यो । यसले प्रशासनमा स्थायित्व, जवाफदेहिता र निष्पक्षता बढाउने वातावरण सिर्जना गरेको हो ।
यसरी बेलायत र अमेरिकामा १९औँ शताब्दीको उत्तराद्र्धदेखि सुरु भएको मेरिट प्रणाली र व्यावसायिक प्रशासनिक संरचनाको अभ्यासले आधुनिक निजामती सेवाको विश्वव्यापी मोडेलको रूपरेखा तय गरेको छ । यी अभ्यासले प्रशासनिक दक्षता, तटस्थता, पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्नमा मार्गदर्शन प्रदान गरेको छ, जसलाई पछि धेरै देशले आफ्नो राष्ट्रिय सन्दर्भ अनुसार अनुकूलन गरी अपनाएका छन् ।
नेपाली सन्दर्भ
नेपालमा निजामती सेवाको औपचारिक विकास क्रमशः राजनीतिक परिवर्तन र प्रशासनिक सुधारका प्रयाससँग जोडिएको पाइन्छ । विसं २००७ को राजनीतिक परिवर्तनपछि आधुनिक प्रशासनिक सुधारको आवश्यकता महसुस भई प्रारम्भिक प्रयासहरू गरिए । त्यसको परिणामस्वरूप २००८ सालमा लोक सेवा आयोगको स्थापना भई निष्पक्ष र प्रतियोगितामूलक भर्ना प्रक्रियाको आधार तयार भयो । त्यसपछि २००९ सालमा प्रशासन सुधारका लागि बुच कमिसन गठन गरिएको थियो, जसले नेपालमा कर्मचारी प्रशासनलाई व्यवस्थित र उत्तरदायी बनाउन विभिन्न सिफारिसहरू ग¥यो। यद्यपि, नेपालमा आधुनिक अर्थमा निजामती सेवाको औपचारिक अभ्यास भने विसं २०१३ मा जारी भएको निजामती सेवा ऐनसँगै मात्र सुरु भएको हो ।
नेपालको संविधान २०७२ अनुसार, निजामती सेवा राज्यको स्थायी संयन्त्र हो । यसले निष्पक्ष, दक्ष, उत्तरदायी र नागरिकमैत्री प्रशासनिक सेवा सुनिश्चित गर्नुपर्ने प्रावधान राखेको छ । साथै, लोक सेवा आयोगमार्फत प्रतियोगितामूलक र पारदर्शी भर्ना प्रणालीलाई सुनिश्चित गरिएको छ । निजामती सेवा कुनै पनि राष्ट्रको शासन प्रणालीको मेरुदण्ड हो । बेलायत र अमेरिकाले १९औँ शताब्दीमै सुरु गरेको ‘मेरिटमा आधारित प्रणाली’ पछ्याउँदै नेपालले २०१३ सालको ऐनपछि मात्र यसको औपचारिक अभ्यास सुरु गरेको हो । वर्तमान संविधानले यसलाई अझै संस्थागत गर्दै नागरिकलाई सेवा वितरण र सुशासन प्रवर्द्धनमा अपरिहार्य बनाएको छ ।
निजामती सेवा मूलतः गैरराजनीतिक र गैरसैनिक चरित्रको स्थायी प्रकृतिको प्रशासनिक सेवा हो, जसका आफ्नै विशेषताहरू छन् । पहिलो, यो सेवाले राज्यको संविधान, ऐन र कानुनद्वारा संरक्षण प्राप्त गर्छ, जसले यसको वैधानिकता र स्थायित्व सुनिश्चित गर्दछ । दोस्रो, यसमा योग्यता प्रणालीमा आधारित भर्ना र पदोन्नति हुन्छ, जसलाई लोक सेवा आयोगमार्फत निष्पक्ष र प्रतियोगितामूलक ढङ्गले व्यवस्थापन गरिन्छ । तेस्रो, निजामती सेवा कानुनी आधारमा स्थापित भएकाले यसमा तोकिएको तलब, भत्ता र निवृत्तिभरणको सुविधा सुनिश्चित गरिएको छ, जसले सेवाको स्थायित्व र सामाजिक आकर्षण बढाउँछ ।
यससँगै कर्मचारी प्रशासनलाई व्यवस्थापन गर्न केन्द्रीय निकाय (जस्तै, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र लोक सेवा आयोग) को व्यवस्था गरिएको छ । निजामती सेवामा निश्चित कर्मचारी प्रशासनिक आधारहरू, सेवाको सुरक्षा र सामाजिक प्रतिष्ठा समेत कायम गरिएको पाइन्छ । यसका अतिरिक्त, सेवामा विशेषज्ञ व्यक्तिहरूको बाहुल्यता, पदसोपानमा आधारित कार्यव्यवस्था, लेखाजोखासहितको लिखित अभिलेख प्रणाली र राजनीतिक रूपमा निष्पक्ष तथा तटस्थ चरित्र यसको प्रमुख विशेषताहरू हुन् । नेपालमा हाल यो सेवा राजपत्राङ्कित र राजपत्र अनङ्कित गरी वर्गीकरण गरिएको छ, जसले सङ्गठनात्मक स्पष्टता र पदानुक्रमलाई व्यवस्थित बनाएको देखिन्छ ।
समस्या के छन् ?
निजामती सेवा सरकार र जनताबीचको मुख्य सेतु हो, तर व्यवहारमा यसले आफ्नो उद्देश्यअनुसार दक्ष, पारदर्शी र जवाफदेही सेवाप्रवाह गर्न नसकेको भन्ने आलोचना खेप्ने गरेको छ । नेपालमा अझै पनि प्रशासन परिणाममुखी नभई प्रक्रियामुखी रहेको गुनासो छ, जसका कारण अनावश्यक कागजी झन्झट र ढिलासुस्तीले नागरिकलाई निराश बनाउँछ । प्रशासनिक निर्णय प्रक्रियामा धेरै तह र निकाय पार गर्नुपर्ने जटिलताले सेवाप्रवाह ढिलो गराउँछ र यसले घुसखोरी र भ्रष्टाचारको सम्भावना बढाउँछ ।
यसैगरी, एउटै प्रकारका सेवा दिने विभिन्न निकायबीच पर्याप्त समन्वय नहुँदा सेवाको दोहोरोपन, स्रोतको दुरुपयोग र नागरिकमा भ्रम बढेको छ ।
नेपालको प्रशासन अझै पनि गोप्यतामुखी संस्कृतिमा आधारित छ । यद्यपि, सूचनाको हकसम्बन्धी ऐन, २०६४ लागू भए पनि व्यवहारमा पारदर्शिता र सूचनामा पहुँच सीमित छ ।
त्यस्तै, कर्मचारी प्रशासनमा अनुशासनको कमी, ढिलासुस्ती, सेवाग्राहीप्रति उदासीनता र गैरजिम्मेवारीपन मौलाएको आरोप छ । स्थानीय तहलाई अधिकार हस्तान्तरण भए पनि प्रशासनिक संरचना अझै केन्द्रमुखी छ, जसले ग्रामीण र दुर्गम क्षेत्रमा सेवा प्रवाह कमजोर बनाएको देखिन्छ । यहाँ व्यक्तिगत स्वार्थ, राजनीतिक सरोकार र पदोन्नतिको चिन्ता जनसेवाभन्दा अगाडि देखिन्छ, जसले सेवाप्रवाहको गुणस्तरलाई घटाएको छ । यससँगै सशक्त र सचेत नागरिक समाजको अभावले प्रशासनिक गलत अभ्यासलाई चुनौती दिन सक्ने दबाब पनि कमजोर बनाएको छ ।
समसामयिक व्यवहारमा नयाँ समस्याहरू थपिएका छन् । डिजिटल सरकार र इ–गभर्नेन्सको चर्चा भए पनि सूचना प्रविधि प्रयोग अपर्याप्त छ, धेरै सेवा अझै पनि कागजमा आधारित छ । राजनीतिक हस्तक्षेप बढ्दो छ, जसका कारण नियुक्ति, सरुवा र बढुवामा निष्पक्षता कमजोर हुन्छ । त्यस्तै, मानव स्रोत विकासमा कमजोरी, आधुनिक सीप र दक्षताको कमी देखिन्छ । कानुनी संरचना भए पनि भ्रष्टाचार अझै व्यापक छ, जसले नागरिकलाई “सेवा लिन घुस दिनैपर्ने”, अनुभव दिलाउँछ ।
सेवा प्रवाहमा ग्रामीण सहरी, केन्द्र परिधि र धनी गरिबबीच असमानता विद्यमान छ । दुर्गम क्षेत्रका नागरिकले सहजै सेवा पाउन सकेका छैनन् । साथै, मेहनती र उत्कृष्ट काम गर्ने कर्मचारीलाई प्रोत्साहन दिने प्रभावकारी प्रणाली नभएकाले कार्य सन्तुष्टि घटेको छ । नागरिकमैत्री सेवा भन्ने भनाइ व्यवहारमा लागू हुन सकेको छैन, किनकि सेवाग्राहीको गुनासो सुन्ने र समाधान गर्ने संयन्त्र कमजोर छ । यी सबै कारणले गर्दा निजामती सेवा सरकार नागरिक बीचको प्रभावकारी पुल बन्न अझै मेहनत गर्नुपर्ने छ । जसलाई सुधार गर्न परिणाममुखी सोच, पारदर्शिता, विकेन्द्रीकरण, प्रोत्साहन प्रणाली र सशक्त नागरिक समाज अपरिहार्य देखिन्छ ।
रुपान्तरणको मार्ग
नेपालमा निजामती सेवाको प्रभावकारिता बढाउनका लागि व्यवहारिक सुधारका उपायहरू अवलम्बन गर्नु आवश्यक छ । पहिलो, परिणाममुखी प्रशासन लागू गर्नु अत्यावश्यक छ । यसका लागि नेपाल सरकारले केही प्रदेश तथा स्थानीय तहमा ‘नतिजामा आधारित बजेटिङ’ र ‘सेवा स्तर सम्झौता’ जस्ता अभ्यास सुरु गरेका छन्, जसले कर्मचारीलाई परिणाममुखी बनाउने र ढिलासुस्ती घटाउने प्रयास गरेको देखिन्छ । दोस्रो, समन्वय सुधार र केन्द्र समीकरण घटाउने उपाय लागू गर्नुपर्नेछ ।
तेस्रो, सूचना प्रविधिको प्रभावकारी प्रयोग अपरिहार्य छ । नेपाल सरकारले इ–गभर्नेन्स नीति स्पष्ट गर्नु पर्नेछ । विभिन्न अनलाइन सेवाहरू जस्तैः सवारी दर्ता, कर भुक्तानी र जन्म मृत्यु दर्ताजस्ता सेवा डिजिटल माध्यमबाट उपलब्ध गराउने प्रयास भइरहेको छ । यसले पारदर्शिता बढाउने र सेवाग्राहीको पहुँच सजिलो बनाउने कार्य गरेको छ । चौथो, अनुशासन र उत्तरदायित्व कायम गर्ने उपाय अपनाउनुपर्नेछ ।
पाँचौँ, मानव स्रोत विकास र प्रशिक्षण कार्यक्रम अभिवृद्धि गर्नुपर्छ । विभिन्न प्रशिक्षण केन्द्रहरूले निरन्तर कर्मचारीलाई नवप्रविधि, डिजिटलीकरण, सार्वजनिक सेवा मापदण्ड र अन्तरराष्ट्रिय अभ्याससम्बन्धी तालिम उपलब्ध गराउँदै आएका छन् । छैटौँ, प्रोत्साहन प्रणाली मजबुत बनाउने उपाय आवश्यक छ । हाल नेपाल सरकारका केही मन्त्रालयहरूले उत्कृष्ट कर्मचारीको कामलाई वार्षिक पुरस्कार र उत्प्रेरणासँग जोड्ने प्रणाली कार्यान्वयन गरिसकेका छन् ।
सातौँ, सशक्त नागरिक समाजको विकास अपरिहार्य छ । नागरिक समाज र पत्रकारिताको सक्रिय निगरानीले प्रशासनमा पारदर्शिता बढाउने काम गरेको छ । अन्ततः यी सबै उपाय संयोजन गरेर लागू गरेमा नेपालमा निजामती सेवा सरकार नागरिकबीचको प्रभावकारी पुल बन्न सक्नेछ र सेवा प्रवाहलाई दक्ष, जवाफदेही र पारदर्शी बनाउन सकिनेछ ।
अन्त्यमा, नेपालमा निजामती सेवा सरकार र नागरिकबीचको मुख्य सेतु भए पनि यसको प्रभावकारिता सीमित देखिन्छ । प्रक्रियामुखी प्रशासन, निर्णय प्रक्रियाको जटिलता, समन्वयको कमी, गोप्यतामुखी संस्कृति, केन्द्रमुखी संरचना, कर्मचारी अनुशासन र तटस्थताको अभावले सेवा गुणस्तरमा बाधा पु¥याएको छ ।
साथै, प्रविधिको प्रयोगमा कमजोरी, राजनीतिक हस्तक्षेप, मानव स्रोत विकासमा कमी, भ्रष्टाचार, असमानता र प्रोत्साहन प्रणालीको अभावले सेवा प्रवाह अझ कमजोर भएको छ । सुधारका उपायमा परिणाममुखी प्रशासन, समन्वय सुधार, डिजिटल सेवा, अनुशासन, प्रशिक्षण, प्रोत्साहन प्रणाली र सशक्त नागरिक समाज निर्माण आवश्यक देखिन्छ । यी उपाय अवलम्बन गर्दा निजामती सेवा दक्ष, जवाफदेही र पारदर्शी बनी नागरिक सन्तुष्टि प्राप्त गर्न सकिनेछ । (लेखक नेपाल सरकारका उपसचिव हुन्) राससबाट







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया