पोखरा सभागृहमा जेनजीको स्वतस्फूर्त प्रदर्शन, सामाजिक सञ्जाल बन्द र भ्रस्टाचारविरुद्ध आवाज- तस्बिरहरु

धनबहादुर गुरुङ २०८२ भदौ २३ गते ११:३२

पोखरा ।

सिमसिमे वर्षा भइरहेका बेला पोखरा सभागृहभित्र आज बिहानैदेखि नयाँ पुस्ता जेनजीले स्वतस्फूर्त रुपमा प्रदर्शन थालेका छन् । उनीहरुले सरकारद्वारा सामाजिक सञ्जाल बन्द गर्ने निर्णयदेखि नेताहरुको भ्रस्टाचारसम्मका विषयमा आवाज उठाएका छन् ।

१० बजेबाट सुरु भएको प्रदर्शनमा सहभागी संख्या क्रमशः बढ्दै गएको छ । पोखराका विभिन्न स्थानबाट आएका युवाहरु सभागृहमा भेला भएर नेताहरुले भ्रस्टाचारमा रमाइरहेका तर सामान्य नागरिकले पीडा भोग्नुपर्ने अवस्थाप्रति आक्रोस व्यक्त गरेका छन् ।

Advertisement

प्रदर्शनमा सहभागीले ‘जनता जति खाडीमा, तिमी चाहिँ गाडीमा, रोलेक्स घडी नाडीमा’, ‘दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने’, ‘जनताको आवाज दबाएर स्वतन्त्रता बन्द गर्न पाइँदैन’, ‘भ्रस्ट नेता होसियार’ जस्ता नारा लगाए । केहीले प्रधानमन्त्री केपी शर्मा ओलीको नामसहित नाराबाजी गरे भने केही युवाले नेताको नाम नलिने आग्रह गर्दै प्रदर्शनलाई भड्किन नदिने काम गरेका छन् ।

रेनकोट लगाएका युवाहरुले नेपालको झण्डा बोकेका छन् र पम्लेट बाँड्दै प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले कर तिरेर नागरिकले दुःख भोगिरहेका तर नेताहरु र तिनका परिवारले ऐयासी जीवन बिताइरहेको भन्दै आपत्ति जनाए ।

Advertisement

धनबहादुर गुरुङ

डेढ दसकदेखि पत्रकारितामा क्रियाशील गुरुङ समाधान दैनिक र समाधानन्युज डटकमका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया