जेनजी आन्दोलनमा मृत्यु ३४ पुग्यो, १,३६८ घाइते

समाधान संवाददाता २०८२ भदौ २६ गते १३:३९

काठमाडौं ।
सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जारी जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ३४ पुगेको छ । स्वास्थ्य मन्त्रालयले बिहीबार जारी गरेको पछिल्लो विवरण अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत अवस्थाबाट लिइएको तथ्यांकमा यो संख्या पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार हालसम्म १,३६८ जना घाइतेमध्ये ९४९ जनालाई उपचारपछि डिस्चार्ज गरिएको छ भने ३२१ जना अझै अस्पतालमै उपचाररत छन् ।

मृतकमध्ये काठमाडौंको सिभिल अस्पतालमा ६ जना, राष्ट्रिय ट्रमा सेन्टरमा ८ जना, भेरी अस्पतालमा ५ जना, एभरेष्ट अस्पतालमा ३ जना, फ्रन्टलाइन अस्पतालमा ३ जना, केएमसी अस्पतालमा २ जना, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना र बयोधा अस्पतालमा पनि २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । त्यस्तै, त्रिवि शिक्षण अस्पताल, इलाम अस्पताल र बिएनसी अस्पतालमा एक–एक जनाले ज्यान गुमाएका छन् ।

Advertisement

नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि प्रदर्शनकारीहरूले घेरा तोड्ने प्रयास गर्दा आन्दोलनकारी र सुरक्षाकर्मीबीच झडप भएको थियो । झडपका क्रममा प्रहरीले अन्धाधुन्ध गोली प्रहार गरेको र सोही क्रममा धेरैजना घाइते भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

प्रदर्शनकारीहरूले घाइतेलाई तत्काल विभिन्न अस्पताल पुर्‍याएका थिए । तर, कतिपयको बाटैमा मृत्यु भएको र कतिपयको उपचारका क्रममा निधन भएको मन्त्रालयको विवरणमा उल्लेख छ ।

Advertisement

तपाईको प्रतिक्रिया