‘लेक टु लेक’ जोड्ने गरी साइकल लेन बनाउने महानगरको योजना

समाधान संवाददाता २०७६ पुष १४ गते १२:२५

विकास रोकामगर
पोखरा

अहिले नेपालमा साइकलका लागि छुट्टै लेनको चर्चा हुन थालेको छ । यसका लागि नेपाल साइकल सोसाइटी लागिपरेको हो । सोसाइटीकै अगुवाइमा ललितपुर महानगरमा ५ किमी सडक साइकलमैत्री बनाउन सुरु भइसकेको छ ।

साइकलका लागि पोखरामा ८ वर्षअघि नै कुरा उठेको हो । नेपाल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी लगायतको टोलीले ८ वर्षअघि ‘साइकल सिटी पोखरा’ संस्था खोलेरै यसको वकालत गर्दै आएका छन् । पोखरा साइकलका लागि उपयुक्त भएको र सरकारले पनि सहयोग गर्नुपर्ने माग गर्दै साइकल सिटीले पोखरामा ‘टुर दी पोखरा’समेत गर्दै आएको छ । यसको ५ औं संस्करण हजारौं साइकलयात्रीको सहभागितामा शनिबार भयो । ‘पाँचौ टुर दी पोखरा’को प्रमुख अतिथि थिए, पोखरा महानगरका मेयर मानबहादुर जिसी । उनले घोषणा गरेका थिए, ‘पोखराका विभिन्न ठाउँमा साइकल लेन बनाउनेबारे महानगरले योजना बनाउँदै छ ।’

Advertisement

पोखरा साइकल सिटी, नेपाल साइकल एसोसिएसन र महानगरबीच आइतबार ‘साइकल संवाद’ भयो । संवाद कार्यक्रममै मेयर जिसीले साइकल लेनबारे सकारात्मक विचार राख्दै सम्भाव्यता अध्ययनका लागि ३ सदस्यीय समिति नै गठन भयो । पोखरा साइकल सिटीका निर्वतमान अध्यक्ष प्रकाश बज्रचार्यको संयोजकत्वमा गठित समितिले केही दिनमै रिपोर्ट महानगरलाई बुझाउनेछ ।

साइकललाई अहिले पोखरामा ‘लक्जरियस’ का रुपमा पनि हेर्न थालिएको साइकल व्यवसायी बताउँछन् । पोखरामा वार्षिक १५ हजार साइकल बिक्री हुने अनुमान छ । एउटै साइक ६ लाख रुपैयाँसम्मका पनि छन् । पोखरामा साइकल बेच्ने १७ पसल छन् । तर ती साइकल व्यवस्थित र सुरक्षित तरिकाले चलाउन पोखरामा छुट्टै ‘साइकल लेन’ छैन ।

Advertisement

साइकल संवादमा विश्व साइकल मञ्चका शैल श्रेष्ठले साइकल लेनसम्बन्धी कार्यपत्र प्रस्तुत गरे । उनले १५ प्रतिशत पोखरेली साइकल चढिरहेको तथ्यांक देखाए । ‘त्योभन्दा बढी २८ प्रतिशत मोटरसाइकल चढ्छन् । त्यसलाई समयमै कम गर्न सकियो भने एक त वातावरण प्रदूषण पनि कम गर्न सकिन्छ, अर्को बाटोलाई गाडीमुखी होइन, मान्छेमुखी बनाउन सकिन्छ,’ उनले भने ।

नेपाल साइकल सोसाइटी अध्यक्ष तथा साइकलयात्री अधिकारकर्मी रत्नराम श्रेष्ठ पोखरा साइकलमैत्री बनाउन उपयुक्त रहेको बताउँछन् । उनकै भनाइलाई आधार मान्ने हो भने पोखरामा साइकल लेनमात्रै होइन, साइकल हाइवे बनाउन सकिन्छ ।

पोखरा महानगर ट्राफिक व्यवस्थापन प्रमुख इन्जिनियर सुरेन्द्र पौडेलले पोखराका ‘डाउनटाउन’ क्षेत्रमा साइकलका लागि छुट्टै व्यवस्था गर्न लागिएको बताए । उनले पोखराका सडक अन्य ठाउँभन्दा फराकिला भएकाले सडक पार्किङलाई हटाएर साइकल लेन बनाउन सकिने योजनाअघि सारे ।

‘अहिले पोखराको न्युरोड क्षेत्रमा २ तर्फी पार्किङ १ तर्फी बनाएका छौं । यसले साइकल यात्रीलाई सहज हुने अनुमान गरेका छौं,’ इन्जिनियर पौडेलले भने, ‘मुख्य समस्या भनेको लेकसाइडमा हो । त्यहाँ पनि गाडी पार्किङका लागि छुट्टै ठाउँ तोकेर साइकल यात्रीलाई सहज बनाउने प्रक्रियामा छौं ।’

मेयर जिसीले पोखरामा ‘लेक टु लेक’ जोड्ने साइकल लेन बनाउने महानगरको योजनासुनाए । ‘हामीले धेरै गर्न सकेका छैनौं । तर, यहाँ साइकल चढ्नेलाई कोरियाको साइकल एक्स्पोमा पनि महानगरबाट पठाएका थियौं,’ उनले भने, ‘अब बन्ने महानगरका भौतिक पूर्वाधार साइकल चढ्न लायक होऊन् भन्ने विषयमा हामी गम्भीर छौं ।’

मेयर जिसीले विजयपुरदेखि कालिका माझठाना हुँदै मोहरिया, बेगनास ताल हुँदै विजयपुर, हल्लनचोक लेकसाइड हुँदै भदौरै रुटमा साइकल लेन बनाउनेबारे ध्यान दिएर अघि बढेको जानकारी दिए । ‘सडक मिलाएरमात्रै होइन । साइकल लेन नै बनाएरअघि बढ्नुपर्छ भन्ने विषयमा महानगरले गृहकार्य गरिहेको छ,’ उनले भने, ‘साइकल चढ् चढ्मात्रै होइन । भोलिका दिनमा साइकल सिटीका रुपमा पोखरालाई लैजान महानगर सकारात्मक छ ।’

तपाईको प्रतिक्रिया