बेनी-जाेमसाेम सडक बनाउन टाइम कार्ड लागु

एसके थकाली
जोमसोम
बेनी–जोमसोम सडकमा टाइम कार्ड लागु भएको छ । सडक निर्माणलाई गति दिन जोमसोम जाने ७६ किमी सडकमा टाइमकाड लगाइएको हो । बेनी–जोमसोम निर्माणाधीन सडकमा मंसिर मसान्तदेखि २ महिनाका लागि टाइम कार्ड लगाइएको करिडोरले जनाएको छ ।
टाइमकार्डले मुस्ताङ आउजाउ गर्ने सवारी र यात्रुलाई सास्ती भएको छ । बेनी–जोमसोम सडकमा दैनिक ४ घण्टा फरकमा २ पटक सवारी आवागमनको व्यवस्था मिलाइएको आयोजना प्रमुख मुकुन्द अधिकारीले जानकारी दिए । करिडोरले म्याग्दीको तातोपानीदेखि मुस्ताङको लेतेसम्म बिहान साढे ७ बजेदेखि साढे ११ बजे र दिउँसो साढे २ बजेदेखि साँझ ६ बजेसम्म टाइमकार्ड लगाएको हो ।
टाइमकार्ड छल्न पोखरा र जोमसोमबाट दोहोर आउजाऊ गर्ने सवारी साधनले बिहानै छुट्नुपर्ने बाध्यता भएको छ । टाइम कार्डले सवारी छुटेमा घण्टौंसम्म सडकमै रोकिएर बस्नुपर्ने अवस्था आएको सवारी चालक कृष्णमोहन नेपालीले बताए । कालिगण्डकी करिडोरको उत्तरी कोरलानाका जोड्ने बेनी–जोमसोम सडक खण्डको म्याग्दीतर्फ प्याकेज १ र २ , मुस्ताङतर्फ प्याकेज ३ मा सडकको काम भइरहेको छ ।
म्याग्दीतर्फ प्याकेज १ मा सडक तटबन्ध लगाउने, सडक फराकिलो पार्ने, कल्भर्ट निर्माण गर्ने र गे्रड सम्याउने लगायतका काम भएको छ भने प्याकेज २ म्याग्दी र प्याकेज ३ घासादेखि खन्तीसम्म रक कटिङ भइरहेको छ । प्याकेज ४ खन्तीदेखि जोमसोमको खण्डमा पनि रक कटिङ हुँदै छ । उक्त खण्डको काम शर्मा गजुरमुखी र सप्तकोशी एन्ड जलाधार कन्ट्रक्सनले जिम्मा लिएको छ । बेनी–जोमसोम सडकमा ४ खण्डमा काम भइरहेको छ । बेनी –जोमसोम सडकको म्याद मंसिरमा सकिइसकेकाले आउँदो जेठ मसान्तसम्म म्याद थप्ने गरी प्रक्रिया अघि बढेको आयोजना प्रमुख अधिकारीले बताए ।
उनले सार्वजनिक खरिद ऐन परिमार्जन भइसकेकाले ऐन÷नियमको परिधिमा रहेर म्याद थप हुने उल्लेख गरे । यसअघि जोमसोम कोरला १ सय १० किमी ग्राभेल सडकको २ पटक म्याद थपिएको छ । उक्त सडकको आगामी असारमा म्याद सकिँदै छ ।
करिडोरका अनुसार बेनी जोमसोम सडकमा हालसम्म ५० प्रतिशत र जोमसोम कोरला सडकमा ८० प्रतिशत काम भएको छ । बर्खायामको मौसममा म्याग्दी खण्डमा बाढी, पहिरो जाने र निर्माण कम्पनीको सुस्तताले अपेक्षा गरे अनुसार काममा प्रगति हुन नसकेको आयोजना प्रमुख अधिकारीले खुलाए । हिउँद याममा मुस्ताङ आउजाउ गर्ने यात्रु वाहक सवारी साधनको चाप कम हुने भएको र कामलाई गति दिनुपर्ने भएकाले हिउँद याममै टाइमकार्ड लगाएर कामअघि बढाइएको उल्लेख गरे । उनले भने, ‘चाडै काम सक्नुपर्ने चुनौती छ । ट्राफिक जाम कम हुने समय पनि यही हो । मौसम अनुकूल मिलाएर म्याग्दी र तल्लो मुस्ताङ खण्डमा कामलाई गति दिने प्रयास गरेका छौं ।’









पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
मुख्य व्यापारिक क्षेत्रमा सभा र जुलुस गर्न रोक
विद्यार्थीलाई कपडा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया