धर्मको उत्पत्तिः मानिसले ईश्वर बनायो कि ईश्वरले मानिस ?

धर्म के हो र यसको उत्पत्ति कसरी भयो भन्ने विषयमा अध्ययन र अनुभवको आधारमा केही विचार प्रस्तुत गरिएको छ । के साँच्चै यो पृथ्वी र जगत् ईश्वर वा देवताले बनाएका हुन् ? कि पृथ्वीको रचना सूर्यबाट भएको हो ? यो प्रश्नको उत्तर खोज्दा, सूर्य कसरी बन्यो भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ ।
विज्ञानका अनुसार, सूर्यको निर्माण अणु र परमाणुबाट भएको हो । कालान्तरमा सूर्यमा भएको विस्फोटनबाट पृथ्वी लगायत अन्य ग्रहहरू बनेको मानिन्छ । आजको नक्षत्र विज्ञान र अन्य वैज्ञानिक तथ्यहरूले सूर्य विभाजित भएर ग्रह र उपग्रहहरूको निर्माण भएको पुष्टि गर्छन्, जसमध्ये पृथ्वी पनि एक हो ।
तर, विश्वभरका विभिन्न धार्मिक विश्वासहरूमा भने फरक मत पाइन्छ । उनीहरूका अनुसार पृथ्वीको उत्पत्ति कुनै दैवी शक्तिबाट भएको हो । यद्यपि, यो भनाइलाई वैज्ञानिक तथ्यले पुष्टि गर्न सकेको छैन । आज विश्वमा प्रचलित सबै धार्मिक मान्यताहरूले पृथ्वी, जगत्, चराचर, जीवजन्तु, वनस्पति लगायत सम्पूर्ण ब्रह्माण्डको संरचना ईश्वर वा कुनै अदृश्य शक्तिले गरेको बताउँछन् । तर, आजको युगमा यो भनाइलाई धर्मका अनुयायीहरूले नै पूर्ण रूपमा स्वीकार गर्न सक्ने अवस्था छैन । पृथ्वीको उत्पत्ति अणु र परमाणुबाट भएको हो भन्ने वैज्ञानिक तथ्यलाई धेरैजसो धार्मिक समुदायका मानिसहरूले पनि स्वीकार्न थालेका छन् ।
पृथ्वीको उत्पत्ति लगभग ४.५ अर्ब वर्षभन्दा पहिले भएको अनुमान छ । हालसम्मको खोज अनुसन्धानअनुसार, पृथ्वी बनेपछि जल वा महासागरहरूको निर्माण भयो । त्यसपछि जलमा रहने जीवहरूको उत्पत्ति भयो, जसलाई जलचर भनिन्छ । जीव विकासको क्रममा जलचरपछि जल र स्थल दुवैमा बस्न सक्ने (उभयचर), त्यसपछि स्थलमा मात्र रहने (स्थलचर) जीवहरूको विकास भयो । स्थलचर जीवहरूमा पनि स्तनधारी जनावर, बाँदर, आदिमानव (एप) र अन्तमा आधुनिक मानिसको उत्पत्ति भएको मानिन्छ। सबैभन्दा प्राचीन मानव समाज, जसलाई आदिमानव मानिन्छ, को पृथ्वीमा आगमन करिब २० लाख वर्षभन्दा पहिले भएको थियो ।
आदिम मानव समाजमा धर्मको उदय कसरी भयो भन्ने सम्बन्धमा पुरातत्वविद्हरूले केही अनुमान गरेका छन् । उनीहरूका अनुसार, आदिम र असभ्य समाजमा पनि ज्येष्ठ नागरिकको रक्षा गर्ने तथा महिला र बालबालिकाप्रति सम्मान र रक्षाको भावना थियो । सपनामा आफ्ना दिवंगत पुर्खाहरूलाई देखेर उनीहरू डराउँथे र तिनका आत्माहरू आफ्नो वरिपरि घुमिरहेको महसुस गर्थे । पछिल्लो ढुंगे युग, जुन लगभग ३० हजार वर्ष पहिले सुरु भयो, का निएन्डरथल मानवले पनि आफ्ना पुर्खाहरूको स्मरण गर्थे । तर, लाखौं वर्ष पहिले अस्तित्वमा रहेका आफ्ना पुराना पूर्वजहरू (जस्तै कि पिथेकान्थ्रोपस र सिनेन्थ्रोपस) को धार्मिक अवस्थाबारे उनीहरूलाई कुनै जानकारी थिएन ।
वास्तवमा, उनीहरूमा कुनै पनि प्रकारको धार्मिक चेतना हुनु सम्भव थिएन, किनभने उनीहरूको चेतना प्रत्यक्ष व्यवहारसँग सम्बन्धित थियो । त्यसैले, उनीहरूले अमूर्त धार्मिक अवधारणाहरू निर्माण गर्न सक्दैनथे । यो तथाकथित धर्म–पूर्व युग निकै लामो समयसम्म चल्यो, जुन प्राचीन ढुंगे युगको अन्त्यसम्म कायम रह्यो । यस अवधिमा, विशेषगरी मौस्टेरियन युगमा, निएन्डरथल मानवका धेरै चिहानहरू फेला परेका छन् । चिहानहरूको अध्ययनबाट मृतकका हड्डीहरूसँगै दैनिक उपभोगका वस्तुहरू, गहना, हतियार र भाँडाकुँडाहरू पनि राखेको पाइएको छ । मृतकलाई दफनाउने विभिन्न प्रचलनहरू रहेको कुरा चिहानहरूमा देखिएको भिन्नताले प्रस्ट पार्छ ।
फ्रान्सेली पुरातत्वविद्हरूले शव दफ्नाउने तरिकालाई मुख्यतया पाँच श्रेणीमा विभाजन गरेका छन् ।
१. केवल माटोमा दफ्नाउनु
२. कुनै ओडार वा गुफामा दफ्नाउनु
३. नकुँदिएका ढुुंगाबाट बनेको समाधिमा दफ्नाउनु
४. कृत्रिम गुफाहरूमा दफ्नाउनु
५. ढुंगाको ताबुतमा राखेर दफ्नाउनु
शवहरूलाई घोप्टो पारेर, उत्तानो पारेर, घुँडा टेकाएर, बसाएर वा सुताएर जस्ता विभिन्न आसनमा राखेर दफनाउने गरेको पनि पाइएको छ ।
ढुंगे युग मूलतः शिकारी युग थियो । त्यस युगका मानिसहरू शिकार गरेर आफ्नो जीविका चलाउँथे । उनीहरूमा जनावरको चित्र बनाएर शिकारमा जाँदा सफल भइने विश्वास थियो । त्यसबेलाका मानिसहरू आत्मा मानिसमा मात्र नभएर सबै जीव, बोटबिरुवा र ढुंगामा पनि हुने विश्वास गर्थे । मृत शरीरबाट आत्मा निस्केपछि पृथ्वीमा यत्रतत्र डुलिरहन्छ भन्ने उनीहरूको मान्यता थियो । त्यस समयमा मृत्युपछि शवलाई जनावर र चराचुरुगींलाई टुक्रा–टुक्रा पारेर खुवाउने चलन पनि थियो, जुन चलन आज पनि तिब्बतका केही समुदायमा विद्यमान छ ।
धर्म वास्तवमा कानुन नभएर व्यवहारमा लागू गर्ने विषय हो । यसलाई समय–समयमा परिमार्जन र पुनर्परिभाषित पनि गरिँदै आएको छ । धर्म मानव उत्पत्तिको समयदेखि नै एक मानवले अर्कोप्रति गर्ने राम्रो व्यवहार हो । धर्म भनेको सबै मानिसमा आस्थाप्रति उब्जिएको धारणा हो ।
जब मानिस प्रागैतिहासिक अवस्थामा आइपुग्यो, उसलाई बाढी, वर्षा, महामारी, भूकम्प, ज्वालामुखी जस्ता प्राकृतिक परिघटनाहरूको बारेमा जानकारी थिएन। प्राकृतिक कारणले हुने हानी–नोक्सानीलाई उनीहरू अदृश्य शक्तिको कारण वा ईश्वरको क्रोध मान्थे र भयभीत हुन्थे । यस्ता परिघटनाहरूबाट छुटकारा पाउनका लागि उनीहरूले काल्पनिक अदृश्य शक्तिको कल्पना गर्न थाले । त्यही काल्पनिक अदृश्य शक्तिलाई सम्मान गरेर र खुसी तुल्याएर आफ्नो अनिष्टबाट मुक्ति पाउन सकिन्छ भन्ने विश्वास प्रागैतिहासिक कालका मानवमा थियो, जसलाई पुरातत्वविद्हरूको खोज अनुसन्धानले पुष्टि गरेको छ ।
मानिसको जीवनमा कृषि र पशुपालन युगको सुरुवात भयो । आजभन्दा करिब १८ हजार वर्ष पहिलेसम्म आइपुग्दा मानिसहरूको आर्थिक र सामाजिक जीवनमा निकै परिवर्तन आयो । कृषि युगमा राम्रो खेतीपाती र पशुपालनका लागि सूर्य, जमिन, वायु आदिको अनुकूलता आवश्यक पर्ने विश्वास पलायो । जब प्राकृतिक प्रकोप हुँदैनथ्यो, तब उनीहरू राम्रो गर्ने सबै देवता (प्रेत आत्मा) खुसी भएको मान्थे। तर जब बाढी, खडेरी, पशुमा महामारी जस्ता प्राकृतिक विपत्तिहरू आइपर्थे, तब तिनै देवता (प्रेत आत्मा) रिसाएको र दुःख दिएको महसुस गर्थे ।
प्रेत आत्मालाई खुसी पार्न पूजाआजा र टुनामुना गरेर छुटकारा पाइन्छ भन्ने विश्वासको सुरुवात भयो । मानिसको दुःखको कारण प्राकृतिक प्रकोप हो भन्ने नजान्दा, उनीहरूले यसलाई देवता रिसाएको परिणाम मान्न थाले । यिनै र यस्तै कारणहरूले अदृश्य शक्ति ‘ईश्वर’ को कल्पना गरियो । यस्तै कारणबाट धर्मको उदय भयो र देवी–देवताहरूको अवधारणा उब्जियो ।
मानिसको प्रारम्भिक अवस्था आजको मानवभन्दा धेरै असभ्य थियो । तर पनि तत्कालीन मानिसहरूले ठूला तथा ज्येष्ठ नागरिकप्रति सम्मान गर्थे । उनीहरूले ज्येष्ठ र अशक्तको रक्षा गर्ने, महिलाप्रति इमानदार हुने जस्ता असल व्यवहार गर्थे । यी भावनाहरूलाई सपना र मानसिक कल्पनाले अझ गहिरो बनाइदिएको हुन सक्छ । शक्तिशाली एवं सहयोगी व्यक्तिप्रति सम्मानको भावना र मृत्युपश्चात् सपनामा उनीहरूको आगमनले ती व्यक्तिहरूप्रति भय एवं सम्मानको भावना अझ बढाएको हुनुपर्छ । उनीहरूमा यस्तो विश्वास पलाउनु स्वाभाविक थियो कि मरेका आफन्त वास्तवमा मरेका छैनन्, बरु विलक्षण रूपले टाढा गएका छन् र अझ शक्तिशाली भएर बसेका छन् ।
आजभन्दा केही हजार वर्ष पहिलेको दुनियाँमा, खेती गर्ने समय आउँदा नवपाषाणकालीन मानवले कृषि कार्य सुरु गर्नुअघि देवता वा प्रकृतिलाई खुसी पार्न मानव बलि चढाउँथे । यो बलि कुनै तुच्छ जाति वा बहिष्कृत व्यक्तिको नभई विधिवत् रूपमा चुनिएको युवक वा युवतीको हुन्थ्यो, जसलाई विशेष व्यवहार गरिन्थ्यो । बलि चढाउने क्षणसम्म उसलाई विभिन्न धार्मिक अनुष्ठानमा सामेल गराइन्थ्यो । यी सबै क्रियाकलाप ज्येष्ठ र जानकार मानिसको निर्देशनमा युगौंदेखि चलिआएको परम्पराअनुसार हुन्थ्यो । मौसमको सामान्य ज्ञान मात्र भएका आदिम मानवलाई कृषिका लागि बीउ छर्ने शुभ साइत निर्धारण गर्न अवश्य पनि धेरै कठिनाइ भएको हुनुपर्छ, किनभने उनीहरूलाई आजको जस्तो तिथि–मितिको ज्ञान थिएन ।
पुरातत्वविद् र मानवशास्त्रीहरूका अनुसार, प्राचीन समयको धर्ममा मानिसले आफ्ना मृत आफन्तहरूको सम्झनामा उनीहरूलाई खुसी पार्न पूजा गर्ने चलन थियो । मानवशास्त्रका आधारमा, धर्म पनि समय–समयमा परिवर्तन हुँदै आएको छ । खासमा धर्मको उदय भाषाको उत्पत्ति र लेखनकलाको विकासपछि, अर्थात् आजभन्दा करिब ५२०० वर्ष पहिले (३२०० ईसापूर्व) भएको मानिन्छ । आर्यहरूको सनातन धर्म त आजभन्दा ५५०० वर्ष पहिले मध्यएसियाका हालका टर्की, इरान र इराक जस्ता देशहरूमा सुरु भएर भारतमा प्रवेश गरेको देखिन्छ । त्यो समयमा लिपि नभए पनि आर्यहरूले आफ्ना ज्ञान र विश्वासलाई मौखिक रूपमा पुस्तान्तरण गर्दै आएका थिए । उनीहरूका धर्मग्रन्थहरू लिपिको विकासपछि मात्र लेखिएका हुन् ।
धर्मको लेखनकला सर्वप्रथम मेसोपोटामियामा सुरु भएको थियो । त्यहाँ हिलो वा गिलो माटोका पाटी बनाएर लेखिएका प्रमाणहरू आज पनि फेला परेका छन् । यद्यपि, मिश्रको सभ्यताको काल गणना ईसाको १ हजार वर्ष पहिलेबाट सुरु भएको मानिन्छ, र त्यस समयमा मिश्रमा लेखन कार्य सुरु भएको थिएन । त्यहाँ बहुदेवता मान्ने धार्मिक आस्था थियो। सुरुमा मिश्रवासीहरू प्रकृति–पूजामा विश्वास गर्थे । उनीहरू पशु, पंक्षी, रुख, पृथ्वी, जल, चन्द्रमा र विशेषगरी सूर्य (जसलाई ‘रा’ भनिन्थ्यो) को पूजा गर्थे । पृथ्वीलाई देवी ‘आइसिस’ को रूपमा र खजुरको वृक्षलाई (जसरी हिन्दूहरूले पीपल पूजा गर्छन्) पूजा गरिन्थ्यो । मिश्रमा असंख्य देवी–देवताका साथै प्रकृतिको पूजा गर्ने चलन थियो । ईसापूर्व १३५३ मा त्यहाँका सम्राट अखेनातेनले जनतालाई एकेश्वरवाद मान्न बाध्य पारेका थिए, तर उनको मृत्युपछि मिश्रको समाज पुनः बहुईश्वरवादमा फर्कियो ।
सुमेरियनहरू पनि धर्ममा अति विश्वास गर्थे । उनीहरूका मुख्य देवताहरूमा सूर्य देवता ‘शमस’, चन्द्र देवता ‘सिन’, वायु देवता ‘एनलिल’ र आकाश देवता ‘ईय’ प्रसिद्ध थिए । देवतालाई खुसी बनाउन बलि दिने चलन पनि थियो । बेबिलोनियामा पनि ‘शमस’ (सूर्य) र ‘सिन’ (चन्द्रमा) को पूजा गर्ने चलन थियो । बाढी, खडेरी, अभाव र आँधीबेहरी जस्ता प्राकृतिक प्रकोपबाट बच्नका लागि श्रद्धापूर्वक पूजा गर्ने चलन थियो। वृक्ष र वनस्पतिको पनि श्रद्धापूर्वक पूजा गरिन्थ्यो ।
सिन्धु घाटीको सभ्यतामा पाइएका मुद्राहरू र मूर्तिहरूको अध्ययनबाट धेरै जानकारी पाइएको छ । मोहनजोदारो र हडप्पाको उत्खननबाट त्यहाँ प्रकृति देवी र मातृ देवीको पूजा गर्ने चलन थियो भन्ने कुरा मूर्तिहरूबाट थाहा हुन्छ । विशाल जटाधारी, साँढेमा चढेको र त्रिशूल बोकेको एकमुखी वा त्रिमुखी मूर्तिहरू पाइएका छन्, जसलाई शिवको मूर्ति मानिन्छ ।
तत्कालीन आर्य समाजमा प्रकृति–उपासना गरिन्थ्यो । सूर्य, चन्द्र, वायु र मेघमा ईश्वरको वास हुन्छ भन्ने विश्वास थियो र सबैको उपासना गरिन्थ्यो । आर्यहरूका मुख्य देवता ‘प्रजापति’ लाई मानिन्छ, जसले एकेश्वरवादको संकेत गर्छ । तर पनि आर्यहरूले अग्नि र नदीहरूको बढी पूजा गरेको देखिन्छ । आर्यहरूको प्राचीन ग्रन्थ ऋग्वेदको दशौं मण्डलको १२९औं ऋचामा भनिएको छः ‘सृष्टिको सुरुवातमा कुनै पनि वस्तुको अस्तित्व थिएन, सत्यको पनि अस्तित्व थिएन । यस धर्तीमा धुलो पनि थिएन, आकाश पनि थिएन । कुनै कुरा अग्लो पनि थिएन, होँचो पनि थिएन । यत्रो ठूलो समुद्र पनि कहाँ थियो र ? यो सारा दृश्यमान विश्व–ब्रह्माण्ड पनि कहाँ थियो र ? मृत्यु पनि थिएन भने अमर हुने कुरै भएन ।
त्यतिबेला रात पनि थिएन भने दिन पनि हुने कुरै भएन । त्यो सृष्टि कसरी, कहाँबाट भयो ? यो कुरा कसले जान्दछ ? यसबारेमा कसले भन्न सक्छ ? जो अहिले केही भन्न सक्ने भएका छन्, ‘पहिले थिए नै । यस संसारको उत्पत्ति कहिले भयो र कसले रचना ग¥यो भन्ने कुरा कसैले पनि पूर्णतया भन्न सक्ने अवस्था छैन ।’ यसरी आर्यहरूको प्राचीन ग्रन्थले पृथ्वीको रचना र जीवको उत्पत्तिबारे अनभिज्ञता जनाएको छ । ऋषिहरूले ईश्वरको बारेमा भन्दा पनि प्रकृतिको पूजा (सूर्य, चन्द्र, तारागण, पानी, नदी, पीपल, तुलसी, दुबो, भूमि) मा जोड दिएको पाइन्छ ।
युनान (ग्रीस) वासीहरू पनि बहुईश्वरवादी थिए । उनीहरू भूत, प्रेत र सूर्य, वायु, चन्द्रमा, पृथ्वी जस्ता प्राकृतिक शक्तिहरूको पूजा गर्थे र नरबलि दिने प्रथा पनि प्रचलनमा थियो । ‘अपोलो’ सूर्य देवता थिए र उनलाई स्वास्थ्यका देवता मानिन्थ्यो ।
धर्मको विकासक्रमको अध्ययन गर्दा दुई भिन्न विचार वा सिद्धान्तहरू देखिन्छन् । एउटा सिद्धान्तअनुसार, धर्म प्रकृतिबाट छनोट भएर परिभाषित हुन्छ । अर्को सिद्धान्तअनुसार, धर्मको विकास मानिसहरूको व्यवहारबाट नियमित भएको हुन्छ । धर्मका परिभाषाहरू अनेकौं हुन सक्छन् । नेपाली शब्दकोशअनुसार धर्मका केही परिभाषाहरू यस्ता छन् ।
(क) व्यक्ति वा वस्तुमा सधैं रहिरहने गुण वा मूल प्रवृत्ति र स्वभाव ।
(ख) स्वाभाविक गुण, सहज वृत्ति ।
(ग) स्वर्ग प्राप्त गर्न सकिने भन्ने लोकविश्वास भएको पुण्य कार्य ।
(घ) कुनै जाति, धर्म, पद आदिका निमित्त निर्धारित कार्य वा व्यवहार; लोकहित वा व्यवस्थाका लागि अँगालिने कार्य वा कर्तव्य (जस्तैः मानवधर्म, नारीधर्म, युगधर्म इत्यादि) ।
(ङ) असल आचरण, सदाचार, नियम ।
(च) पुण्य, सत्कर्म ।
(छ) ईश्वर वा सद्गति प्राप्तिका लागि गरिने शास्त्रविहित कर्म ।
(ज) कुनै महापुरुषले चलाएको मत वा सम्प्रदाय ।
अर्को परिभाषाअनुसार, ‘यो चराचर जगत् कुनै शक्ति वा व्यक्तिद्वारा नियन्त्रित छ र त्यसलाई प्रार्थना, भेटी वा बलि आदिद्वारा खुसी पारेर फाइदा लिन सकिन्छ भन्ने विश्वास वा आस्थालाई धर्म भनिन्छ ।’ (प्राकृतिक भौतिकवाद, गोपीरमण उपाध्याय) । धर्मलाई विश्वासमा आधारित एक सांस्कृतिक र सामाजिक व्यवस्था मानिन्छ, जसले संस्थागत रूपमा विश्वव्यापी नैतिक आधार कायम गराउँछ ।
धर्म वास्तवमा कानुन होइन, तर व्यवहारमा लागू गरिन्छ । यसलाई समय–समयमा परिमार्जन र पुनर्परिभाषित पनि गरिँदै आएको छ । यी परिभाषाहरूबाट के झल्किन्छ भने, धर्म मानव उत्पत्तिको समयदेखि नै एक मानवले अर्कोप्रति गर्ने राम्रो व्यवहार हो । धर्म भनेको सबै मानिसमा आस्थाप्रति उब्जिएको धारणा हो ।
सर्वप्रथम मेसोपोटामियामा धर्मलाई लिपिबद्ध गर्ने कामको सुरुवात भएको कुरा माथि भनिसकिएको छ । अलिखित भए पनि आर्यहरूको सनातन धर्म अझ पुरानो मानिन्छ, जसको संरक्षण र हस्तान्तरण मौखिक रूपमा बाबुबाट छोरामा गरिँदै आएको थियो । लिपि सुरु भएपछि लेखिएको ग्रन्थ ऋग्वेद हो । अहिले पनि आर्य समाज वा हाम्रो नेपालमा प्रकृतिको पूजाका प्रशस्त उदाहरण छन् । जस्तैः भूमि, सर्प, कुकुर, पीपल, तुलसीको पूजा । साथै, आदिवासीहरूले पुज्ने ‘मष्टो’ लाई पनि पूजा गरिन्छ । यसबाहेक, खेती सुरु गर्ने बेलामा ’उभौली’ र बाली भिœयाउने बेलामा ‘उधौली’ मनाउने चलन छ ।
त्यसैगरी, अर्को प्राचीन धर्म इरानीहरूको ‘मज्दा’ धर्म हो, जसको धार्मिक दस्तावेज ‘अवेस्ता’ हो । अवेस्तामा अग्निको बढी प्रशंसा र परिभाषा गरिएको छ । यो धर्मको रचना जरथुस्त्रले गरेका हुन् । यो धर्म मान्ने मानिसहरू भारत र इरानमा थोरै मात्रामा छन् ।
ईसापूर्व ५०० तिर हालको इजरायल÷प्यालेस्टाइन क्षेत्रमा, जसको राजधानी जेरुशलेम थियो, लेखिएका विभिन्न साहित्यहरूमध्ये ‘ओल्ड टेस्टामेन्ट’ बाट हिब्रु बाइबल बन्यो, जो यहुदीहरूको धर्मग्रन्थ हो । आजभन्दा २५०० वर्षअघि हालको नेपालमा आर्य अनुयायी राजकुमार सिद्धार्थले आफ्नो राजपाठ छाडेर नयाँ धर्मको स्थापना गरी विश्वमा शान्तिको खोजीमा लाग्न सबैलाई पथप्रदर्शन गर्ने कार्यको सुरुवात गरे । जुन समयमा भारत र आर्य समाज पुरोहित्याइँ र जातीय विभाजनले आक्रान्त थियो, त्यही अवस्थामा समानता र शान्तिको उपहार लिएर बुद्ध धर्मको जन्म भयो ।
यसपछि संसारमा आफ्नो धार्मिक साम्राज्य फैलाइरहेको क्रिश्चियन धर्मले हिब्रुहरूको ‘ओल्ड टेस्टामेन्ट’ लाई परिवर्तन गरेर ‘न्यु टेस्टामेन्ट’ बनायो । यो धर्मको जन्म पनि प्यालेस्टाइनमा नै भएको थियो । अर्कोतिर, मध्यपूर्वमा नै इस्लाम धर्मको जन्म भयो । यिनीहरू एकेश्वरवादी धार्मिक अनुयायी भएर पनि विश्वभरि लामो समयदेखि आ–आफ्नो धर्म फैलाउन प्रतिस्पर्धा गरिरहेका छन् । विश्व इतिहासको अध्ययनबाट थाहा हुन्छ कि क्रिश्चियन र इस्लाम धर्म विश्वभरि आफ्नो साम्राज्य फैलाउन एकआपसमा प्रतिस्पर्धा गरिरहेका छन् ।
चीनमा ताओ र कन्फ्युसियस धर्म, भारतमा गुरु नानक (सिख धर्म) लगायत विश्वमा अनेकौं धर्म र सम्प्रदायहरू छन्, जसको सबैको उल्लेख गर्न असम्भव छ । अहिलेसम्म विश्वमा धर्मको नाममा देखिएको विभाजन स्पष्ट रूपमा एकेश्वरवादी र बहुईश्वरवादीमा देखिन्छ । अर्को तरिकाले भन्दा, धर्म व्यक्ति–पूजन र प्रकृति–पूजनमा विभाजित देखिन्छ । तर, ती सबै मानिसमा देखा परेका व्यावहारिक र काल्पनिक आस्थाका कारण विभिन्न समयमा स्थापित भएका मान्यता र विचारबाटै स्थापित भएका हुन् ।
अब मेरो लेखनको आशय के हो भने, आज हामीले संसारमा देखेका तमाम धर्म र सम्प्रदायहरू कुनै दैवी शक्तिबाट सिकेर मानिसलाई दिइएको जस्तो आभास हुँदैन । बरु, प्रत्येक सम्प्रदाय वा मतहरू युगअनुसार मानिसको आर्थिक र सामाजिक परिवर्तनसँगै समाज सुधारकको नामबाट जन्मिएका व्यक्तिहरूले नै सुरु गरेका हुन् । ढुंगे युगबाट विकासहुँदै विभिन्न समय वा युगमा मानिसमा आएको परिवर्तन र चेतनाको अभिवृद्धिले नै धर्मको स्वरूप निर्धारण गरेको छ । मानिसमा आइपरेका कठिनाइहरूसँग सामना गर्न र त्यसबाट पार पाइन्छ कि भन्ने आशामा सिर्जना गरिएका प्रकृति–पूजनका कार्यहरू पनि मानिसको विकसित चेतनाको उपज हुन् ।
सन्दर्भ सामग्रीः मानव जातिको संक्षिप्त इतिहास युभल नोएह हरारी
प्राचीन विश्व इतिहासको परिचय – फ्योदोर कोराबकिन
प्राकृतिक भौतिकवाद – गोपी रमण उपाध्याय
विश्वको इतिहास – एचजी वेल्स
विश्व इतिहासका केही पानाहरू – डा. राजेश गौतम
धर्मको इतिहास – अनुवादकः युवराज पन्थी







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया