निर्मम आत्मसमीक्षा गर्छाैं, सच्चिन्छौं : एमाले कास्की

पोखरा ।
समसामयिक परिस्थितिका सन्दर्भमा नेकपा (एमाले) कास्कीले सोमबार विस्तारित कार्यकर्ता भेला गरेको छ । भेलासँगै जेन जी आन्दोलनको क्रममा क्षतिग्रस्त जिल्ला कमिटी कास्कीको कार्यालय सरसफाइ गरी सञ्चालनमा ल्याइएको छ ।
कार्यालय सरसफाइपश्चात् एमालेका केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज कृष्ण थापाले कार्यालयमा नेपालको र पार्टीको झण्डा राखे । भेलाले आन्दोलनको क्रममा तोडफोड तथा आगजनी भएका पार्टी कार्यालय, नेता तथा कार्यकर्ताको घर एवं व्यावसायिक प्रतिष्ठानको क्षतिको विवरण संकलन गरी सरसफाइ गर्ने निर्णय गरेको एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षत्रीले जानकारी दिए ।
‘जेन–जी आन्दोलनको नाममा नेतृत्वविहीन समूहले पोखरा महानगरपालिका क्षेत्रमा बढी भौतिक संरचनामा आगजनी, तोडफोड र लुटपाट गरेको छ,’ उनले भने, ‘पार्टीको पोखरा महानगरपालिका कमिटीको अगुवाइमा सबै वडा कमिटीलाई परिचालन गरी सरसफाइ गरिनेछ ।’ उनले आन्दोलनको क्रममा क्षति भएका निजी घर, आवास र व्यावसायिक प्रतिष्ठानको विवरण संकलन गरी उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरे ।
भेलाले एमालेको नेतृत्वको राष्ट्रवादी अडानका कारण प्रतिक्रियावादी पार्टीमाथि आक्रमण भएको निष्कर्ष निकालेको छ । पार्टी नेतृत्वमाथि योजनाबद्ध ढंगले आक्रमण र कुप्रचार भएको दाबी गर्दै अध्यक्ष अधिकारीले वर्तमान असहज अवस्थामा पार्टीका नेता तथा कार्यकर्तालाई उत्साह भर्न कार्यक्रम ल्याउने जानकारी दिए । एमालेका नेता तथा कार्यकर्तामा भावनात्मक एकता कायम हुन नसक्नु ठूलो कमजोरी भएको उल्लेख गर्दै उनले आगामी दिनमा विगतका कमी, कमजोरीलाई सुधार गर्ने प्रतिबद्धता जनाए ।
नेतृत्वविहीन समूहले पोखरा महानगरपालिका क्षेत्रमा बढी भौतिक संरचनामा आगजनी, तोडफोड र लुटपाट गरेको दाबी
उनले पछिल्लो राजनीतिक घटनाक्रमको निर्मम समीक्षा गर्ने योजना सुनाए । आगामी दिनमा पार्टीलाई एकमना एकताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दै उनले संगठनलाई मजबुत बनाउन योजनाबद्ध ढंगले काम गर्ने बताए ।
जेन–जीका युवाले देश बनाउने र सुशासन प्रवर्धन लगायत उठाएका विषयवस्तु सकारात्मक भएको उल्लेख गर्दै उनले पार्टीमा युवाको भावनाको कदर गर्ने र सांगठनिक क्षेत्रमा युवालाई समेट्ने बताए । भेलाले पार्टीलाई परेको अप्ठेरो परिस्थितिमा धरमराउने व्यक्तिलाई आत्मालोचना गरी पार्टीमा फर्कन आग्रह गरेको छ ।
भेलाले दसैं, तिहार लगायतका चाडपर्वको सन्दर्भमा आगामी असोज ६ गते आयोजना गर्न लागेको शुभकामना आदानप्रदान कार्यक्रमलाई स्थगित गर्ने निर्णय गरेको सचिव दर्शन लामाले जानकारी दिए । पार्टीले सोही दिन युवा विद्यार्थी केन्द्रित भेला आयोजना हुनेछ । उनले पार्टीका केही गलत क्रियाकलापका कारण अहिलेको अवस्था आएको बताए । पार्टी नेतृत्वप्रति जनताको आक्रोश रहेको उल्लेख गर्दै उनले पार्टीभित्र पनि धेरै समस्या रहेको जनाए ।
विकसित घटनाक्रमले एमालेका नेता तथा कार्यकर्तालाई समयमा सचेत बनाएको चर्चा गर्दै उनले आगामी दिनमा ४२ प्रतिशत जनसंख्या भएको युवालाई लक्षित गरी कार्यक्रम ल्याउने जानकारी दिए । उनले गल्ती, कमजोरीको आत्मसमीक्षा गरी नेता तथा कार्यकर्ता सच्चिनुपर्ने उल्लेख गरे ।
भेलामा एमालेका पोलिटब्युरो सदस्य जगत विश्वकर्मा, केन्द्रीय सदस्यहरू भीम कार्की, चूडामणि जंगली, प्रभा कोइराला, केन्द्रीय सल्लाहकार परिषद्का सदस्यहरू सिर्जना शर्मा, गणेशमान गुरुङ, डीबी नेपाली लगायतका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।







भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
रत्नशोभा मावि व्यवस्थापन समितिमा दोहोरिए तिमिल्सेना
१० दिनदेखि मुस्ताङ–डोल्पा सडक अवरुद्ध
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया