२०६२/६३ देखि जेनजी विद्रोहको अनुभव

कञ्चन थापा कोइराला २०८२ असोज १ गते १०:३८

नेपालको कतिपय राजनीतिक इतिहास आन्दोलनहरूको ऊर्जाले लेखिएको छ । कहिले निरंकुश शासन अन्त्य गर्न, कहिले गणतन्त्र ल्याउन, कहिले लोकतन्त्रलाई संस्थागत गर्न, कहिले भ्रष्टाचारविरुद्ध जनताले सडक तताएका छन्, कहिले विभिन्न दलका नेताहरूको कुर्सी मोहले सदन तताए । प्रत्येक आन्दोलनको आफ्नै कथा छ, रगत, पसिना, आँसु र आशाले बुनेको परिवेश छ ।

म आफैँ २०६२/६३ सालको जनआन्दोलनमा युवाको उत्साहका साथ होमिएकी थिएँ र आज फेरि जेन जी पुस्ताको आन्दोलनलाई रिपोर्टरको दृष्टिले नियाल्न पुगेँ । यी दुई आन्दोलनबीचको तुलना मात्र होइन, मेरो व्यक्तिगत अनुभव र पीडाले पनि मलाई लेख्न मन लाग्यो । किनकि जेन जीको आन्दोलनपछि धेरै कुराले म सुत्न र मन शान्त पार्नै सकिनँ र आफ्ना बिगतमा आफैँ आन्दोलनमा होमिँदाका कुरा र फरक परिवेशहरू मेरा आँखामा नाचिरह्यो ।


२०६२/६३ सालको जनआन्दोलन मेरो जीवनको एउटा अविस्मरणीय मोड हो । त्यतिबेला देशभरि उर्लिएको भीडमा म पनि युवाशक्तिको प्रतिनिधि भएर सडकमा उत्रिएकी थिएँ । गणतन्त्र ल्याउने, निरंकुशताको अन्त्य गर्ने, लोकतन्त्रलाई स्थापित गर्ने साझा लक्ष्यले हजारौँ युवाको मनभित्र आगो बलिरहेको थियो, तीमध्ये म पनि थिएँ । १९ दिनसम्म लगातार चलेको आन्दोलनमा मानिसहरू मरे, धेरै घाइते भए, प्रहरीको लाठी र गोली खानुपर्‍यो । म पनि सोही भीडमा लाठी खाएर घाइते भएकी थिएँ । तर ती घाउचोटले हामीलाई कमजोर बनाएनन्, बरु, हाम्रो आँट र साहसलाई अझ बलियो बनायो र अन्तमा त्यो आन्दोलन सफल भयो । निरंकुशता ढल्यो, गणतन्त्र आयो । त्यो क्षणमा लाग्थ्यो अब हाम्रो देशले नयाँ मोड लिन्छ, भ्रष्टाचार अन्त्य हुन्छ, समानता र न्याय स्थापित हुन्छ ।

Advertisement


समय बित्दै जाँदा ती सपनाहरू धमिलो हुँदै गए । परिवर्तन ल्याउन र नयाँ शासन व्यवस्थालाई सुदृढ बनाउन हामीले दिएको बलिदान धुलोमा मिसियो । म युवा हुँदा जुन कुराको दुःखको अनुभव गरेर सुधार गर्नुपर्छ भनेर नेपालको २ सय ३७ वर्ष पुरानो राजतन्त्र ढालेर देशमा लोकतान्त्रिक गणतन्त्रको जग बसाल्यौँ, देशको शासक फे¥यौँ तर शासक फेरिए पनि प्रवृत्ति फेरिएन । भ्रष्टाचार अझै जरा गाडेर बस्यो । सरकारी संरचनाले नागरिकलाई सेवाभन्दा सास्ती दिन थाल्यो । आशा र भरोसाले सुरु भएको गणतन्त्र निराशा र मोहभंगको यात्रामा बदलिँदै गयो र आज मेरो छोरा पुस्ताले उहीँ दुःख, उहीँ माहोल महसुस गरेका छन् ।


हिजो त्यही आन्दोलनको हिस्सा भएकी म, आज फेरि अर्को आन्दोलनको साक्षी बनेँ । तर यसपटक मेरो भूमिका फरक थियो । म अब आन्दोलनकारी होइन, रिपोर्टरको भूमिकामा थिएँ । पोखरामा भएका आन्दोलनका विभिन्न दृश्य कैद गर्ने क्रममा मैले देखेको जनसागरले मलाई फेरि २०६२/६३ सालको आफैँले तताएको सडक सम्झायो । फरक यति मात्र थियो, त्यतिबेला सत्ता परिवर्तनका लागि १९/२० दिनसम्म लागि पर्‍यौँ भने, अहिलेका जेन जी युवाले दुई दिनमा नै सत्ताको स्वरूप उल्ट्याइदिए ।
यो पुस्ताको आन्दोलन ऊर्जा, गति र तिखोपनमा निकै नै फरक छ । हिजोका आन्दोलनमा देश र सत्ता परिवर्तन गर्नका लागि हाम्रो शरीर र आत्माले दुःख सहनुपर्ने थियो, युवा शक्ति जम्मा हुनका लागि निकै कठिन हुन्थ्यो । तर आजको पुस्ताले सामाजिक सञ्जाल, डिजिटल प्लेटफर्म र क्षणमै जम्मा हुने क्षमताले इतिहासलाई पलभरमै बदल्ने शक्ति प्रदर्शन गरेको छ ।

Advertisement


जेन जी पुस्ता नेताहरूको भाषणमा होइन, आफ्नै आक्रोशमा विश्वास गर्छ । उनीहरूलाई थाहा छ देशको सबैभन्दा ठूलो समस्या भ्रष्टाचार हो, उनीहरूलाई थाहा छ सरकारी निकाय जनताको सेवक नभई मालिक बनेको छ र उनीहरूलाई विश्वास छ समानता र सुशासन केवल सडकको दबाबले मात्र आउन सक्छ । यस आन्दोलनले देशलाई ठूलो क्षति पुर्‍याएको हो, यो यथार्थ हो । तर त्यति मात्र होइन, यसले एउटा पुस्ताको सोच, चेतना र संकल्पलाई पनि उजागर गर्‍यो । जेन जी पुस्ताले स्पष्ट सन्देश दियो— ’देश चलाउने निर्णयमा हाम्रो पनि आवाज समावेश आवश्यक छ र भविष्य कोर्ने अधिकार हाम्रो पनि बराबर छ ।’

म आन्दोलनकारीदेखि रिपोर्टरमा रूपान्तरण भएँ, तर मेरो भित्रको चाहना भने उही छ—‘एक न्यायपूर्ण, भ्रष्टाचारविहीन, समतामूलक नेपाल ।’


यतिबेला तितो अनुभव पनि नजिकबाट नियालेँ । हुनत यस्ता अनुभव र सास्ती बिगतका दिनमा नपाएकी त हैन तर पनि ढुंगामुढा चलिरहेका बेला म ’प्रेस’ लेखिएको ज्याकेट लगाएर रिपोर्टिङ गर्दै थिएँ । प्रेस ज्याकेट हाम्रालागि पहिचान र सुरक्षा कवच थियो तर त्यही पहिचानले जोखिम बढाएको महसुस मैले गरेकी थिएँ । भीडबाट भन्दै थिए— ’पत्रकारहरूलाई पनि निशाना बनाउनुपर्छ ।’ हुनत बने पनि, काठमाडौंका ठूला मिडिया हाउस ध्वस्त नै भए भने केही पत्रकार घाइते भए । मसँगै रिपोर्टिङ गरेका साथीहरूको क्यामेरा फुटाइयो, उपकरण लुटियो । पत्रकारलाई शत्रु झैँ देख्नेहरूले कसरी उनीहरूका आन्दोलनमा सत्य र तथ्य उजागर गर्न सक्छन्? के यो जनआन्दोलनको आत्मा थियो?


भीडको आक्रोश पत्रकारप्रति उत्रिएको थियो । ममाथि समेत थ्रेट आएको थियो । मैले प्रेस लेखिएको ज्याकेट खोलेँ, कार्ड लुकाएँ र आन्दोलनकारीकै भूमिकामा केही फुटेजहरू कैद गरेँ । यही बिचमा पोखरा महानगर जलाउने क्रमको मुठभेडमा भाग्ने क्रममा मेरो खुट्टा ठोक्कियो, घुँडाको मासु च्यातियो । शारीरिक पीडाभन्दा ठूलो पीडा महानगरपालिकाको जलेको संरचना देख्दा महसुस भयो । त्यो संरचना ढुंगा सिमेन्टको मात्र थिएन, त्यो हाम्रो रगत पसिनाले बनेको सम्पत्ति थियो । एकैछिनमा महानगर बल्यो, मैले टुलुटुलु हेर्नबाहेक केही गर्न सकिनँ ।

अहिले पनि आफैँलाई आत्मग्लानि भएर आउँछ र यो घटनाले एउटा गहिरो प्रश्न गरेको छ— ’हामीसंग हामी देख्न मात्र जन्मिएका हौँ कि बचाउन पनि सक्ने समाज हौँ?’ आलोचना गर्ने, आरोप लगाउने काममा त हामी छिटो हतियार निकाल्छौँ, तर विपत्ति आइपुग्दा हातेमालो गर्ने साहस किन सक्दैनौँ? जलेको संरचना हेरेर मात्र आक्रोश पोख्ने होइन, संकट रोक्न हात अघि बढाउने संस्कार विकास गर्न जरुरी देखियो, जुन आँट केही व्यक्तिहरूले देखाउन सकेको भए थुप्रै संरचना जल्ने थिएन कि!


बिस्तारै देशैभर सरकारी संरचना ध्वस्त भयो । व्यापारिक संरचना ध्वस्त भयो । पसलहरू जले, विद्यालयहरू जलाए, कार्यालयहरू खरानी बने । प्रश्न उठ्यो— ’के यो नै समाधानको पाटो थियो र?’ हिजो र आजको आन्दोलनबीचको सबैभन्दा ठूलो समानता भनेको युवाशक्ति हो । हिजो पनि युवाले सडक तताएका थिए, आज पनि । फरक यति मात्र हिजोको आन्दोलन लामो, धैर्यसहितको थियो, आजको आन्दोलन छोटो, तिखो र छरितो । हिजोका आन्दोलनकारीसँग राजनीतिक दर्शन थियो— ’गणतन्त्र ल्याउने, राजतन्त्र अन्त्य गर्ने ।’ आजका आन्दोलनकारीसँग तात्कालिक क्रान्तिको भावना छ— ’भ्रष्टाचार अन्त्य गर्ने, असमानता मेट्ने, सुशासन कायम गर्ने ।’


युवाको यही जोश र आक्रोशलाई सकारात्मक दिशामा लैजान सकियो भने देशले साँच्चिकै नयाँ मुहार फेर्न सक्छ । तर यो जोशलाई नेताहरूले दुरुपयोग गरे भने फेरि अर्को निराशा जन्मिन सक्छ ।


नेता र कर्मचारीको चरित्र नै देशको सबैभन्दा ठूलो समस्या बनेको छ । नेताहरू पदमा पुग्नेबित्तिकै जनताको पीडा बिर्सन्छन् । जनताको रगत पसिनाले तिरेको कर, चन्दा र बलिदानलाई आफ्नै स्वार्थमा खर्च गर्छन् । सरकारी कर्मचारी पनि सेवक नभई मालिक झैँ व्यवहार गर्छन् । कार्यालयमा जानु भनेको लाजमर्दो अनुभव हुन्छ ।


त्यसैले, आन्दोलन केवल सडक तताउने मात्र होइन, संस्थागत सुधारमा केन्द्रित हुनुपर्ने देखिन्छ । हिजो पनि यही समस्या थियो, देशको शासक बदलिए तर प्रवृत्ति बदलिएन । आज फेरि त्यही खतरा हुने हो कि भन्ने प्रश्न आम जनमानसमा छ । बुझ्न जरुरी छ— ‘परिवर्तनलाई केवल सत्ताको पालो बदल्नु भनेर बुझ्नु हुँदैन ।’ परिवर्तन भनेको मूल्य र संस्कारको सुधार हो । त्यो नबदलेसम्म २० दिन लामो आन्दोलन होस् वा २० घण्टाको, नतिजा उस्तै निराशाजनक हुनेछ ।


पत्रकारको नजरले आन्दोलन नियाल्दा देखिन्छ— ‘युवाले अझै देशलाई प्रेम गर्छन् ।’ उनीहरू अझै भ्रष्टाचारविहीन समाज, न्यायपूर्ण शासन र समानताको सपना देख्छन्, आफ्नै देशमा रोजगार र शिक्षा खोज्छन् । यो सपना पूरा गर्न केवल जोश पुग्दैन, अनुशासन, रणनीति र दीर्घकालीन दृष्टि पनि चाहिन्छ । अहिलेका युवाहरू अलि जोशिला देखिन्छन् ।


आजको आन्दोलनमा मैले देखेको एक अर्को पीडादायी कुरा भने— ‘तितो सत्य खोतल्ने कलम र क्यामेरा असुरक्षित छन् ।’ पत्रकारलाई दुश्मन ठान्ने मानसिकता बढेको छ । यसलाई सच्याउन जरुरी छ, किनकि पत्रकार लोकतन्त्रको मेरुदण्ड हुन्, उनीहरूको सुरक्षाबिना साँचो तथ्य बाहिर आउन सक्दैन ।


अहिले सबैलाई लागेको कुरा के छ भने— ’के यो आन्दोलनले देशलाई साँच्चिकै नयाँ दिशामा लैजान सक्छ? हिजो जस्तै फेरि अर्को मोहभंग त हुने होइन?’ यसको जवाफ समयले दिनेछ । तर यथार्थ के हो भने देशलाई अब फेरि अर्को निराशा सहने क्षमता छैन । युवाशक्तिको जोशलाई न्यायसंगत परिवर्तनमा रूपान्तरण गर्न सकेनौँ भने यो देश केवल भत्किने, बल्ने र फुट्ने कथा पटक पटक दोहोर्‍याइरहनेछ । पहिला बाउ पुस्ताले गरे, हिजो हामीले गर्‍यौँ र अहिले छोरा पुस्ताले गर्दैछन् र भोलि फेरि जन्मिन्छन् ।


त्यसैले, आज हामीले गर्नुपर्ने मुख्य काम भनेको भ्रष्टाचारविरुद्ध कठोर कानुनी कारबाही, पारदर्शी शासन प्रणाली र नागरिकमैत्री प्रशासनिक सुधार हो । नेताले आफ्नो लोभ, स्वार्थ र परिवारवाद त्याग्नुपर्छ । सरकारी कर्मचारीले सेवकत्व बोध गर्नुपर्छ । पत्रकारलाई स्वतन्त्र र सुरक्षित वातावरण दिनुपर्छ र हामी पत्रकार पनि सच्चिन जरुरी छ । हाम्रा आवाजमा, हाम्रा कलममा कुनै पनि दलको गन्ध आउनु हुन्न । अनि मात्र, हिजोको बलिदान र आजको आक्रोश मिलेर एक उज्यालो भोलि निर्माण गर्न सक्छौँ ।
२०६२/६३ को आन्दोलनले हामीलाई गणतन्त्र दियो, तर गणतन्त्रले आशा दिएको न्याय अझै अधुरो भयो । आजको जेन जी आन्दोलनले फेरि आशा जगाएको छ त्यो अधुरोपन पूरा गर्ने । म आन्दोलनकारीदेखि रिपोर्टरमा रूपान्तरण भएँ, तर मेरो भित्रको चाहना भने उही छ— ‘एक न्यायपूर्ण, भ्रष्टाचारविहीन, समतामूलक नेपाल ।’


यही चाहनाले मलाई दुखेको घुँडाभन्दा पनि जलेको देशको खरानीले पोल्छ । किनभने त्यो केवल भवन थिएन, त्यो हाम्रो सपनाको प्रतिनिधित्व थियो, देशको पहिचान थियो र जबसम्म हाम्रो सपना बारम्बार खरानी बन्दै जान्छ, तबसम्म यो देशको पीडा अन्त्य हुने छैन ।


देशले अब अर्को निराशा सहने क्षमता गुमाइसकेको छ । युवाको आक्रोशलाई सकारात्मक दिशामा मोड्न सके मात्र, हिजोको बलिदान र आजको विद्रोह मिलेर नयाँ नेपाल निर्माण हुनेछ ।

तपाईको प्रतिक्रिया