राजनीतिक परिवर्तन, सूचना प्रवाह र हाम्रो वार्तालाप

नारायणप्रसाद सापकोटा २०८२ असोज ९ गते ११:२१

वैज्ञानिक इतिहासका पिता भनेर चिनिने प्रसिद्ध अंग्रेजी इतिहासकार हेनरी थोमस बकलको एउटा बहुचर्चित कथन छ, ’ग्रेट माइण्ड्स डिसकस आइडियाज । एभरेज माइण्ड्स डिसकस इभेन्ट्स । स्मल माइण्ड्स डिसकस पिपल ।’ (महान् मस्तिष्कहरूले विचारको चर्चा गर्छन्; औसत मस्तिष्कहरूले घटनाको चर्चा गछन्न्; निम्नस्तरका मस्तिष्कहरूले मानिसको चर्चा गर्छन् ।) त्यसो त उक्त भनाइ पूर्व अमेरिकी राष्ट्रपति फ्रांकलिन डी. रुजभेल्ट कि पत्नी प्रसिद्ध राजनैतिक व्यक्तित्व, कुटनीतिज्ञ र सामाजिक अभियन्ता एना एलेनोर रुजभेल्टसँग पनि जोडिन्छ ।


भनाइ जसको भए पनि यसको अर्थ अद्भुत छ । यस उक्ति अनुसार मानिसहरू शक्ति, सत्ता, सम्पति, जात, धर्म, लिंग, शिक्षा, भूगोल आदिका आधारमा मात्र फरक फरक वर्गका हुँदैनन् । सामान्य दैनिक बोलीचालीको विषयवस्तुको आधारमा पनि स्पष्ट रुपमा तीन वर्गमा बाँडिएका हुन्छन् । अथवा, मानिसहरूको वार्तालापको एक प्रकारको पदानुक्रम हुन्छ । अर्को शब्दमा भन्दा यस उक्तिले मानिसका वार्तालापलाई बौद्धिक गहिराइमा आधारमा वर्गीकरण गर्ने ढाँचा प्रस्तुत गर्दछ । जस अनुसार महान् मस्तिष्कहरू (मानिसहरू) विचार, अवधारणा, सिद्धान्त र नवप्रवर्तनबारे छलफल गर्दछन् । औसत मस्तिष्कहरू समाचार, चालु घटनाक्रम र घटित कुरामा केन्द्रित हुन्छन् । त्यसैगरी निम्नस्तरका मस्तिष्कहरू भने गफ, हल्ला, अरू व्यक्तिहरू र अरूको व्यक्तिगत जीवनमा बढी केन्द्रित हुने गर्दछन् ।


सारमा भन्नुपर्दा यस भनाइको आशय सभ्य मानिसका वार्तालापहरू गहिरो र उच्च स्तरमा हुनुपर्छ भन्ने आह्वान हो । यद्यपि मानिस जस्तो प्राणीका वार्तालापहरू यति सरल वर्गीकरणमा सीमित हुँदैनन् भन्ने आलोचना पनि छ । कतिपयको लागि त यो भनाइ आफैमा विरोधाभास र व्यंग्यले भरिएको पनि छ । किनकि अरु मानिसबारे कुरा नगर्न सुझाव दिने उक्तिले नै मानिसलाई वर्गीकरण गरेको छ । तर कोही पनि व्यक्ति किटान नगरिकन आम मानिसहरूको बोलीचालीको शैली र विषयवस्तुको वर्गीकरण गरेकोले यसलाई व्यंग्य र विरोधाभासको रुपमा भन्दा एउटा जीवनदर्शनको रुपमा मनन गर्दा कुनै नोक्सानी हुँदैन ।

Advertisement


तपाईं कस्तो मस्तिष्कधारी बन्न चाहनुहुन्छ? महान् कि औसत कि निम्न स्तरको ? हुन त तपाईंले चाहे अनुसारको मस्तिष्क रोजेर धारण गर्न सक्ने कुरा होइन । खासमा तपाईंले धारण गरिसकेको मस्तिष्कको आधारमा तपाईंको पहिचान र व्यक्तित्व बनेको हुन्छ । यसो भन्दैमा तपाईंले अहिले गर्ने सचेत प्रयासहरूको कुनै अर्थ छैन भन्ने चाहिँ होइन । तपाईंका प्रयासहरूमार्फत क्रमिक रुपमा आफ्नो मस्तिष्कलाई तालिम दिन सक्नुहुन्छ र व्यक्तित्वमा जादुमय बदलाव ल्याउन सक्नुहुन्छ ।


तर यस किसिमको परिवर्तन ल्याउन भने त्यति सजिलो छैन । संसार अहिले ’सूचना युग’मा प्रवेश गरिसकेको छ । मोबाइल र इन्टरनेटको सहज पहुँचले मानिसको जीवनशैली, सोच र निर्णय लिने क्षमता मूलतः बदलिएको छ । नेपालको परिप्रेक्ष्यमा पनि यो परिवर्तन चमत्कारिक छ । पहिले पत्रिका वा रेडियो सुनेर मात्र थाहा पाइने अवस्थाबाट हामी अहिले इन्टरनेट र सामाजिक संजालमार्फत् सेकेन्डभरमा नै हाम्रो हातहातमा सूचनाको बाढी नै आउने अवस्थामा पुगेका छौँ ।

Advertisement


आजभोलि यसरी सहज रुपमा प्राप्त सूचनाहरू नै महान्, औसत र निम्न स्तरको मस्तिष्कका उत्पादन हुने गर्दछन् । महान् मस्तिष्कका उत्पादनहरू महान् मस्तिष्कले नै खपत गर्दछन् । त्यसैगरी औसत र निम्न स्तरका मस्तिष्कका उत्पादनहरू क्रमश सोहि किसिमका मस्तिष्कहरूले नै बढी खपत गर्दछन् । ’जेन जी’ पुस्ताको जन्म पूर्व सूचनाहरू आधिकारिक निकाय वा समूहद्वारा सम्पादन र यकिन गरेपछि मात्र प्रशारण र प्रकाशन हुने गर्दथे । यसले गर्दा समाजमा उक्त निकाय वा समूहले चाहे अनुसार विचारको प्रवाह र सोहि अनुसारको समाज निर्माण हुने गर्दथ्यो । तर आजभोलि हरेक व्यक्ति सूचनाको श्रोत बन्न पुगेका छन् । सूचनाका आधिकारिक माध्यम र व्यक्तिको पहिचान नै एउटा जटिल सिकाई बन्न पुगेको छ ।


आम संचारको सिद्धान्त अनुसार द्वन्द्व, नकारात्मकता, असामान्यताहरू त समाचारका विशेषता (न्युज एट्रिब्युट्स) नै हुन् । त्यसै अनुसार खोजिन्छन् र एबिसी संरचना (एकुरेसी, ब्यालेन्स र क्रेडिबिलिटी) को कसीमा राखेर बनाइन्छन् । तर तात्कालिकताको दबाबको होडबाजीले गर्दा सबै समाचार माध्यम र स्रोतहरूले एबिसी संरचना नै पालना गर्दैनन् । अनि आइपुग्छन् हाम्रो हातहातमा समाचारका नाममा अफवाह र भ्रामक सूचनाहरू ।


यहाँ सम्म केही समस्या छैन । यो नियमित रित नै हो । जस्तो कि जंगलमा अत्यन्त लाभदायक र अत्यन्त विषालु च्याउहरू एकै ठाउँमा हुनसक्छन् । समस्या तपाईंले के टिप्नुहुन्छ, चिन्नुहुन्छ कि हुन्न, आफू मात्रै खानुहुन्छ कि अरूलाई पनि बाँड्नुहुन्छ भन्ने हो । त्यो जंगल हुँदै यात्रा गर्ने सबै मानिसहरूले ती च्याउहरू देखेका थिए । कतिले हेरे र च्याउ रहेछन् भनेर मात्र अघि बढे । कतिले ती च्याउहरू मध्ये कुन खान हुने र कुन विषालु भनेर पनि चिनेका थिए । तर, भैगो ती दुईचार वटा च्याउ लिएर गएर के गर्नु भनेर त्यसै गए । त्यसरी चिन्ने मध्य कतिपयले एक छाक भए पनि लगेर खाउँ भनेर खानहुने च्याउ मात्र टिपेर लगे । परिवारमा एक छाक मिठो परिकार खुवाए । यी सबै मानिसहरू असल नै हुन् । खानहुने र विषालु च्याउ चिनेर खानहुने मात्र छुट्याएर लगेका केही मानिसले थोरै भए पनि छिमेकीलाई पनि चखाऔँ भनेर थोरै थोरै बाँडे । यिनीहरू त झन् महान् मानिसहरू हुन् ।

खासमा ठूला विषयमा दुई लाइन लेख्नु आफ्नै मानसिक क्षमता र स्वस्थको लागि पनि ज्यादै हानिकारक छ ।


समस्या त ती मानिसहरू हुन् जसले खान हुने र विषालु च्याउ चिन्दैनन् । छुट्याउन सक्दैनन् । आकर्षक देखिएको भरमा खान हुने होला भनेर निश्चित हुन्छन् । एक झोला टिपेर लैजान्छन् र सबै छिमेकीलाई पनि मिठो च्याउ भन्दै बाँड्छन् । छिमेकीलाई दिने बेला सम्म त ’मिठो छ…, हामीले त खाइसक्यौँ…, विषालु होइन…, मैले चिनेर नै ल्याएको…, बजारबाट किनेर ल्याएको…’ आदि इत्यादि भन्न भ्याइसक्ने हुन्छन् । अस्ति फर्सी र कुभिण्डो पनि बाँड्ने यतिको मर्द छिमेकीले भनेपछि होला भनेर सबैले विश्वास गर्छन् । सबैका घरमा च्याउ पाक्छ । सबैले खान्छन् । र सबै आ–आफ्नो घरमा चुपचाप लडिरहेका हुन्छन्, चीरनिद्रामा परेर । हो यस्ता मानिसहरू ती विषालु च्याउ जत्तिकै हानिकारक हुन्छन् । जसका कारण हामी आज वैचारिक रुपमा मृत प्राय बन्न पुगेका छौँ ।


आज सूचना प्रवाहको ठूलो हिस्सा सामाजिक संजालमार्फत् हुन्छ । फेसबुक, टिकटक, युट्युब वा ट्विटरका एल्गोरिदमहरूले प्रयोगकर्तालाई मनपर्ने सामग्री बढी देखाउँछन् । यसले ’प्रतिध्वनि कक्ष’ (इको चेम्बर) को अवस्था सिर्जना गर्छ । उदाहरणका लागि, यदि कसैले कुनै विशेष दलको प्रचारात्मक भिडियो हेर्छ भने उसलाई त्यसै प्रकारका अरू भिडियो मात्र बढी देखाइन्छ । यसरी व्यक्तिले अरू विचार सुन्ने मौका पाउँदैन र आफ्नो त्यही एउटा धारणालाई अझ मजबुत बनाउँदै जान्छ । यसले समाजलाई खतरनाक ध्रुवीकरणतर्फ धकेल्छ । मानिसहरू आफ्नै विश्वासमा मात्र सीमित हुन्छन् र विपरीत विचारलाई शत्रुको रुपमा हेर्न थाल्छन् ।


नेपालमा टिकटक र फेसबुकमार्फत् राजनीतिक र सामाजिक बहस ध्रुवीकृत भएको स्पष्ट देख्न सकिन्छ । सामाजिक संजाल र आम संचारका माध्यमहरूबाट प्राप्त आफ्नो धारणालाई पुष्टि गर्ने सामग्रीहरू हतार हतार आफु संलग्न विभिन्न समूहहरूमा शेयर गर्ने र त्यस किसिमका सामग्रीहरूमा दुइ लाइनको तुच्छ प्रतिक्रिया दिने प्रवृत्ति यसैको उपज हो ।


यो संचारको जंगलमा पनि धेरै थरी च्याउ रूपी समाचारहरू छन् । कतिपय सूचना र समाचारहरू तपाईंलाई तपाईंको प्रतिध्वनि कक्षका कारण आएका हुन्छन् भने कतिपय सूचना र समाचारहरू आम संचार माध्यमद्वारा अरु सबैसँग पनि पुगेका हुन्छन् । त्यसैले तपाईंले थाहा पाएको कुरा कि त सबैलाई थाहा छ कि त तपाइको एल्गोरिदम अनुसार आएका भुलभुलैयाहरू हुन् । त्यसैले त्यस्ता आम सूचना, समाचार र सामग्रीहरू शेयर गर्नु र तिनीहरूमा प्रतिक्रिया दिनुको कुनै अर्थ छैन । त्यसमाथि वार्तालापको सोपान अनुसार उत्पादन र खपत हुने विषयवस्तुहरू र त्यसले सिर्जना गर्ने कुचक्र त छँदैछन् ।


अर्को रमाइलो कुरा, समाचार सत्य नै भए पनि नकारात्मक कुरो बाँड्न हामीलाई किन हतार हुन्छ? त्यसो गरेर हामीलाई सन्तुष्टि मिल्छ कि फाइदा हुन्छ ? विषालु च्याउ बाँडेर किन समाजको हत्या गर्नुहुन्छ? किन कलंकित बन्नुहुन्छ? हो, तपाईंमा पनि मानवीय गुण होला । बाँड्न मन लाग्ला । त्यसो भए, फाइदा हुने कुरा बाँडेर आफ्नै इज्जत बढाउनुस् न । समाजमा आशा जगाउनुस् न । च्याउ चिन्नुहुन्न भने बरु गिठा बाँड्नुहोस् । कुनै पनि गिठा विषालु हुँदैनन् ।


देशमा ठूलो आन्दोलन भयो । दर्जनौँ नौजवानहरूले सहादत प्राप्त गरे । सयौँ मानिसहरू घाइते भए । संरचनाहरू ढले । सम्पदाहरू जले । सरकार ढल्यो । नयाँ प्रधानमन्त्री र मन्त्रीहरू बने । हो, सिंहदरबार जल्यो । वडा कार्यालय पनि जल्यो । अरु पनि धेरै कुरा भए । राम्रो वा नराम्रो जे सुकैको लागि भएको भए पनि झट्ट आँखाले देख्ने र कानले सुन्ने ठूला नकारात्मक सूचनाहरूले मानिसहरूको मस्तिष्कमा गहिरो र दूरगामी असर पार्दछन् । वयस्कहरूमा यसले तनाव, निराशा, चिन्ता र असुरक्षाको भावना बढाउँछ, जसले उनीहरूको निर्णय क्षमता र दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पार्छ ।

राजनीतिक अशान्ति, दुर्घटना, प्राकृतिक प्रकोप वा हिंसात्मक घटनाबारे निरन्तर जानकारी पाउँदा उनीहरूमा मानसिक थकान, आक्रोश वा असहिष्णुता बढ्न सक्ने देखिन्छ । यस्तै, बालबालिकामा त यसको प्रभाव झन् संवेदनशील र गहिरो हुन्छ । उनीहरूले यस्ता घटनालाई बुझ्ने क्षमता सीमित भएको कारण डर, त्रास, असुरक्षाको भावनाले उनीहरूको मानसिक र संवेगात्मक विकासमा बाधा पुर्‍याउँछ । त्यसैले सकारात्मक सूचनाहरू हामी प्रत्येक व्यक्तिहरूले पनि बाँडौँ तर नकारात्मक सूचनाको लागि आधिकारिक सूचना प्रदायकलाई नै छोडिदिउँ ।


ठूला ठूला विषयलाई लिएर यो भयो, त्यो भयो, यो आउने, त्यो आउने, अब यसो हुन्छ, उसो हुन्छ भनेर आफ्नो अड्कलबाजीलाई दुई लाइनमा लेखेर हाइलाइट गर्दा सामाजिक रुपमा घाटा नै हुन्छ । कुनै सूचनाको प्रतिक्रिया स्वरूप दुई लाइन लेखेर पोस्ट गर्नेहरूले कृपया के, किन, कसरी सबै फेहरिस्त लामो लेख्ने प्रयास गर्नुहोस् त, कि तपाईं लेख्नै सक्नुहुन्न कि लेख्दा लेख्दै तपाईँको विचार परिवर्तन हुन्छ । कम्तीमा तपाईंले गरेको पछिल्लो दुई लाइनको प्रतिक्रिया त आफै हटाउनुहुन्छ । किनकि हामीले बोल्न सक्ने सबै कुराको लिखित रुपमा पुष्टि गर्न सकिँदैन ।

लिखित रुपमा पुष्टि गर्न सकिने सबै कुरालाई गरेर देखाउन वा व्यवहारमा उतार्न सकिँदैन । तपाईंले सार्वजनिक गर्ने छोटा प्रतिक्रियाहरू झट्ट दिमागमा आएका वाक शैलीका उत्तरहरू हुन् । फोन नम्बर सम्झेको जस्तो अल्पकालीन स्मृतिले चलेको हुँदैन देश । त्यही क्षेत्रमा वर्षौँ लागिपरेको विद्वान्लाई हम्मे हम्मे पर्ने प्रश्नको उत्तर दिन तपाईंलाई यति सहज हुने कसरी हो ? हैन, तपाईं दुई लाइनमा नै बानी पर्नुभएको छ भने पनि कम्तीमा आफ्नो विचारको आधारमा लेख्नु । आफ्नो विचारमा सुसंगत त बन्नुस् । खासमा ठूला विषयमा दुई लाइन लेख्नु आफ्नै मानसिक क्षमता र स्वस्थको लागि पनि ज्यादै हानिकारक छ ।


समाज धेरै अधीर बनिसकेको छ । सूचनाको स्रोत सामाजिक संजाल बनेको छ । यस्ता संजालहरूमा सविस्तार गरिएका विचारहरू धेरैले पढ्ने कोशिस नै गर्दैनन् । छोटा प्रतिक्रियाको आधारमा विचार निर्माणको शृंखला नै बनेको जस्तो देखिन्छ । तर परिवर्तन चाहने मानिस अधीर हुनै सक्दैन । परिवर्तन चाहने मानिसले धेरै नकारात्मक जानकारीको खोजी र शेयर गर्दै गर्दैन । यसो गर्ने भनेको त अस्तव्यस्ततामा रमाउने मानिसले हो । यदि तपाईं साँच्चिकै परिवर्तन चाहनुहुन्छ भने धैर्य गर्नुहोस् ।

खाने च्याउहरू चिन्नुस् । सकारात्मक बन्नुस् । आफूलाई माया गर्नुहोस् । सक्नुहुन्छ भने अरूलाई पनि माया गर्न जान्नुहोस् न ! किनकि राजनीतिक संरचना र नेतृत्वमा आएको आमूल परिवर्तनले मात्र समाजलाई सहि दिशामा लैजान सक्दैन । यथार्थमा, समाजको चेतनास्तर र संचार संस्कृतिमा समेत रुपान्तरण आवश्यक छ । आजको लोकतान्त्रिक परिवेशले हरेक व्यक्तिलाई सूचना उत्पादक र वितरकको भूमिकामा पुर्‍याएको छ । तर, यो अधिकारसँगै जिम्मेवारी पनि गाँसिएको छ । कस्तो सूचना प्रवाह गर्ने, कसरी संवाद गर्ने भन्ने प्रश्न अब हरेक नागरिकसँग जोडिएको छ ।


राजनीतिक रूपमा हामी लोकतन्त्रमा छौँ । संवैधानिक लक्ष्य समाजवाद छ । सुशासन, सामाजिक न्याय र समृद्धि हाम्रा साझा सपनाका साथै रणनीतिहरू हुन् । यी सबै कुराको बलियो जग बस्नको लागि व्यवस्था परिवर्तन र आर्थिक समृद्धि नै पनि पर्याप्त हुँदैनन् । त्यसका लागि त हाम्रो सर्वांगीण अवस्था परिवर्तन हुन जरुरी छ । अवस्था भन्नाले विभिन्न अर्थसामाजिक सूचकहरूको साथै औपचारिक रुपमा मापन नगरिएका वा गर्न नसकिने सामाजिक र अन्तव्र्ययक्तिक चरित्रहरू पनि बुझ्नु पर्दछ ।
प्रत्येक व्यक्ति र परिवारको जस्तै एउटा राष्ट्रको पनि आवश्यकताको सोपान हुन्छ ।

भविष्यमा हामीलाई पनि आत्मसन्तुष्टिको आवश्यकताको बोध होला तर अहिले हामी आधारभूत शारीरिक, सुरक्षाजन्य र सामाजिक आवश्यकताको परिपूर्तिमा नै संघर्षरत छौँ । हाम्रो यस्तो आवश्यकतालाई पूरा गर्न विश्वव्यापीकरणको वर्तमान युगमा हामी अत्यन्त जिम्मेवार र संयमित बन्न जरुरी छ । हामी सबैले योगदान गर्न आवश्यक छ । देश बनाउन सबै नागरिकको बराबर भूमिका हुन्छ । तर देश बनाउने भन्दैमा हामीले ठूलो कुरा गर्नु पर्दैन । अधिकार खोजिरहँदा आफ्नो कर्तव्य सम्झिदिए पुग्छ ।


त्यसैले, हामी सबैले आ–आफ्नो नागरिक कर्तव्य परायणताको लेखाजोखा गरौँ । राज्यका नियमहरू मानौँ देशलाई आफ्नो घर जस्तै ठानौँ । कम्तीमा हामीले प्रवाह गर्ने सूचना र हाम्रो संचार शैलीको एउटा बारम्बारता नै बनाएर विश्लेषण गरौँ । अरू कुनै पनि व्यक्ति वा समूहलाई इंगित नगरी वस्तुनिष्ठ भएर र कुनै पनि विषयवस्तुप्रति नकारात्मक मात्र नबनी समालोचनात्मक भएर बाँच्न किन सक्दैनौँ हामी ? एक पटक सोचौँ त ! हाम्रा संवाद र संचारहरू कति वस्तुनिष्ठ र समालोचनात्मक छन् ? हामीले कुन तहको मस्तिष्कले कुरा गरिरहेका छौँ?


हो, अबको आवश्यकता केवल नकारात्मकता र सतही प्रतिक्रियामा सीमित हुने होइन । बरु विचार, दृष्टिकोण र समाधानमुखी संवादमा केन्द्रित हुनु हो । महान् मस्तिष्कहरूले विचार र सिद्धान्तबारे छलफल गर्छन् भन्ने भनाइलाई जीवनदर्शनका रूपमा ग्रहण गर्दै हामीले आफ्नो वार्तालापलाई पनि त्यही स्तरमा लैजान सक्नुपर्छ । कम्तीमा साक्षर र शिक्षित वर्गले यति गर्न सके समाजको बाँकी वर्गमा स्वतः सकारात्मकता र जिम्मेवारी पन आउँछ । राजनीतिक परिवर्तनलाई सार्थक बनाउन सूचनाको प्रवाह पारदर्शी, सन्तुलित र सकारात्मक हुनुपर्छ भने वार्तालापको शैली तर्कसंगत र जिम्मेवार बन्नुपर्छ । यति गर्न सक्दा मात्र मुलुकको राजनीतिक रुपान्तरणले सामाजिक चेतनामा समेत गहिरो परिवर्तन ल्याउनेछ र यसको लाभ सम्पूर्ण समाजले पाउनेछ । तसर्थ, के हामी देशमा भएको ठूलो राजनीतिक परिवर्तन सँगै सूचना प्रवाह र वार्तालापको शैलीमा पनि परिवर्तन ल्याउन सक्छौँ ?

(सापकोटा पोखरा –१३, साझाका बासिन्दा हुन् ।)

तपाईको प्रतिक्रिया