भारी वर्षामा गाडी नचलाउन कास्की प्रशासनको आग्रह, संवेदनशील सडकमा विशेष समय तालिका लागू

पोखरा । जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म गण्डकी प्रदेशमा मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान गरेसँगै कास्की प्रशासनले भारी वर्षाको समयमा गाडी नचलाउन आग्रह गरेको छ। संवेदनशील मानिएका सडक खण्डमा भने सवारी सञ्चालनका लागि विशेष समय तालिका समेत लागू गरिएको छ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बुधबार जारी गर्नुभएको विज्ञप्तिअनुसार बिरेठाँटी–घान्द्रुक, बिरेठाँटी–उल्लेरी, लुम्ले–लान्द्रुक र काहुँखोला–सिक्लेस मार्गका सवारी साधनलाई असोज १७ देखि दिउँसो ४ बजेसम्म प्रस्थान गर्ने र असोज १८ देखि बिहान ५ बजेपछि मात्र सञ्चालन हुने व्यवस्था गरिएको छ।
तर, भारी वर्षा भएमा सो सडक खण्डमा कुनै पनि सवारी साधन नचलाउन विज्ञप्तिमा स्पष्ट गरिएको छ। प्रशासनले यातायात व्यवसायीलाई क्षमताभन्दा बढी यात्रु नचढाउन, सावधानीपूर्वक सवारी सञ्चालन गर्न र जोखिम बढेमा तत्काल रोक लगाउन पनि निर्देशन दिएको छ।
त्यसैगरी सिद्धार्थ राजमार्ग, भूपि शेरचन राजमार्ग (पोखरा–बाग्लुङ), मुग्लिन–पोखरा सडकखण्ड, वेगनास–भोर्लेटार सडकखण्ड लगायत जोखिमयुक्त क्षेत्रमा तत्काल परिचालन हुनेगरी डोजर, एक्साभेटर, लोडर लगायतका हेभी इक्युपमेन्ट तयारी अवस्थामा राख्न सम्बन्धित कार्यालय तथा निजी क्षेत्रलाई आदेश दिइएको छ।
प्रशासनले बाढी, पहिरो र डुबानको जोखिम रहेका नदी किनार र भीरालु क्षेत्रमा बसोबास गर्ने वासिन्दालाई सुरक्षित स्थानमा सर्न, आपतकालीन अवस्थामा प्रयोग हुने सामग्रीसहितको ‘झटपट झोला’ तयार राख्न र कुनै विपद् घटना भएमा तुरुन्त प्रहरी, स्थानीय तह वा प्रशासनलाई जानकारी दिन आग्रह गरेको छ।
उच्च हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना भएकाले अन्नपूर्ण, मर्दि हिमाल लगायतका पदयात्रा मार्गमा तत्काल ननिस्किन सन्देश दिइएको छ। साथै, असोज १७ देखि २० गतेसम्म अत्यावश्यक कामबाहेक यात्रामा ननिस्कन सर्वसाधारणलाई अनुरोध गरिएको छ।








चार मन्त्री थपिएसँगै मन्त्रिपरिषद् १४ सदस्यीय, नवनियुक्त मन्त्रीहरूद्वारा पदभार ग्रहण
नवरत्नलाई सम्मान गर्दै महानगर
सम्पादक कोइराला पुरस्कृत
पर्वतीय महोत्सव र जलवायु संकट
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया