पोखरालाई स्मार्ट सिटीमा रुपान्तरण गर्ने आधारहरु

आजको युग प्रविधि, नवप्रवर्तन र सूचना–प्रविधिमा आधारित सेवाको युग हो । विश्वका प्रमुख सहरहरू तीव्र गतिमा स्मार्ट सिटीमा रूपान्तरण भइरहेका छन् । ती सहरहरूले प्रविधिको प्रयोगद्वारा सेवा सहज, दिगो र नागरिकमैत्री बनाइरहेका छन् । नेपालका महानगरहरूमध्ये पोखराले पनि ‘स्मार्ट सिटी’ बन्ने क्षमता, भौगोलिक सुन्दरताको अवसर र जनसंख्याको सन्तुलन राखेको सहरका रूपमा आफ्नो विशेष स्थान बनाइसकेको छ ।
स्मार्ट सिटी भन्नाले प्रविधि, पूर्वाधार र नीतिगत संयोजनद्वारा सहरलाई दिगो, सुशासनयुक्त र नागरिकमैत्री बनाउने प्रक्रिया हो । यसले सूचना–प्रविधि (आइसिटी), कृत्रिम बुद्धिमत्ता (एआई), बिग डेटा र इन्टरनेट अफ थिङ्स (आइओटी) जस्ता प्रविधिको प्रयोगमार्फत सार्वजनिक सेवा, यातायात, स्वास्थ्य, शिक्षा, ऊर्जा र फोहोर व्यवस्थापनलाई स्मार्ट बनाउँछ । स्मार्ट सिटीको उद्देश्य नागरिकको जीवनस्तर सुधार गर्नु, स्रोतको दिगो उपयोग सुनिश्चित गर्नु र सहर व्यवस्थापनमा पारदर्शिता तथा उत्तरदायित्व बढाउनु हो । यसले सहरी योजना, सेवा वितरण र नागरिक सहभागितालाई प्रविधिमैत्री बनाउँदै समावेशी र नवप्रवर्तनशील वातावरण निर्माण गर्छ ।
पोखराको भौगोलिक अवस्था र जनसंख्या
पोखरा महानगरपालिका नेपालको गण्डकी प्रदेशको राजधानी र देशको प्रमुख पर्यटकीय केन्द्रका रूपमा परिचित छ । क्षेत्रफलको आधारमा सबैभन्दा ठूलो यस महानगरको कुल क्षेत्रफल ४६४.२४ वर्ग किलोमिटर रहेको छ, जसको औसत उचाइ समुद्र सतहबाट ८२७ मिटरको आसपास छ । सन् २०२१ को जनगणना अनुसार पोखराको कुल जनसंख्या ५१३,५०४ छ, जसमा पुरुषको प्रतिशत ४८.२ र महिलाको प्रतिशत ५१.८ रहेको छ ।
मध्यम तापक्रम, शुद्ध हावा र सफा वातावरणका कारण पोखरा बासयोग्य तथा आकर्षक सहरका रूपमा चिनिन्छ । फेवा, बेगनास, रूपा, खाष्टे, मैदी, दिपाङ, गुदे, न्युरेनी तालका सुन्दर जलाशयहरू, माछापुच्छ्रे र अन्नपूर्ण हिमशृंखलाको मनोरम दृश्य र हरियालीले भरिएको भू–आकृति पोखरा प्राकृतिक सुन्दरताको राजधानी हो । भौगोलिक दृष्टिले हेर्दा, पोखरा उपत्यका पहाड, ताल, नदी र वन क्षेत्रले समृद्ध छ, जसले यसलाई दिगो, हरित र पर्यावरणमैत्री स्मार्ट सिटीका रूपमा विकास गर्न अद्वितीय सम्भावना बोकेको छ ।
पोखरालाई स्मार्ट सिटीमा रूपान्तरण गर्ने आधारहरू
पोखरालाई स्मार्ट सिटीका रूपमा रूपान्तरण गर्न प्रमुख क्षेत्रहरूमा पहिलो प्राथमिकता डिजिटल शासन (ई–गभर्नेन्स) लाई दिनु अपरिहार्य छ । यसअन्तर्गत नगरपालिकाका सबै सेवा जस्तैः कर तिर्ने, जग्गा नापजाँच, घर नक्सा स्वीकृति, जन्म–मृत्यु दर्ता आदि अनलाइन माध्यमबाट सहज रूपमा सम्पन्न गर्न सकिने व्यवस्था हुनुपर्छ । नागरिकले मोबाइल एप वा डिजिटल पोर्टलमार्फत सेवा अनुरोध गर्न, आवश्यक कागजात अपलोड गर्न र सेवा प्रगति ट्र्याक गर्न सक्ने प्रणालीले समय, श्रम र लागतको बचत मात्र होइन, सेवा प्रवाहमा पारदर्शिता र उत्तरदायित्व पनि सुनिश्चित गर्छ ।
नगरपालिकाको बजेट, योजना निर्माण र निर्णय प्रक्रियामा नागरिक सहभागिता बढाउन डिजिटल अभिलेख, सूचना अधिकारको सहज पहुँच र रियल टाइम सार्वजनिक सूचना प्रणाली अनिवार्य हुनुपर्छ । यसले स्थानीय शासनलाई उत्तरदायी, समावेशी र नवप्रवर्तनशील बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्याउँछ ।
दोस्रो महत्वपूर्ण क्षेत्र स्मार्ट यातायात प्रणाली (स्मार्ट मोबिलिटी) हो । सार्वजनिक यातायातमा स्मार्ट कार्ड वा क्यूआर कोड भुक्तानी प्रणाली लागू गरेर नगद रहित यात्रा सहज बनाउन सकिन्छ । सौर्यऊर्जाबाट चल्ने स्मार्ट ट्राफिक सिग्नल, स्मार्ट पार्किङ र सवारी साधनको डिजिटल ट्र्याकिङ प्रणालीले ट्राफिक व्यवस्थापनलाई आधुनिक बनाउँछ । साथै, साइकल लेन, इलेक्ट्रिक स्कुटर स्टेशन र पदयात्रा मैत्री सडक निर्माणले वातावरणमैत्री यातायातलाई प्रोत्साहन दिन्छ ।
तेस्रो क्षेत्र ऊर्जा र वातावरण हो । पोखराले सौर्यऊर्जा, जैविक ग्यास र जलविद्युतबाट स्वतन्त्र ऊर्जा प्रणाली विकास गर्न सक्छ । फोहोर व्यवस्थापनमा ’वेस्ट टु इनर्जी’ मोडेल उपयोग गरी ऊर्जाको पुनःउत्पादन गर्न सकिन्छ । हावा, पानी र माटोको गुणस्तर मापन गर्न डिजिटल सेन्सर प्रणाली स्थापना गर्नाले वातावरणीय स्वास्थ्य सुनिश्चित गर्न सकिन्छ । हरित क्षेत्र विस्तार र ताल संरक्षणका लागि स्मार्ट निगरानी प्रणाली प्रभावकारी हुनेछ ।
नगरपालिकाको बजेट, योजना निर्माण र निर्णय प्रक्रियामा नागरिक सहभागिता बढाउन डिजिटल अभिलेख, सूचना अधिकारको सहज पहुँच र रियल टाइम सार्वजनिक सूचना प्रणाली अनिवार्य हुनुपर्छ ।
चौथो क्षेत्र स्मार्ट शिक्षा र स्वास्थ्य सेवा हो । प्रत्येक विद्यालयमा डिजिटल कक्षा र ई–लर्निङ प्लेटफर्म स्थापना गरेर विद्यार्थीलाई प्रविधि–मैत्री शिक्षामा जोड दिन सकिन्छ । स्वास्थ्य संस्थामा अनलाइन अपोइन्टमेन्ट, डिजिटल रेकर्ड र टेलिमेडिसिन सेवाले स्वास्थ्य सेवा सहज बनाउँछ । आकस्मिक अवस्थामा जीपीएस–आधारित आपतकालीन सेवा प्रणालीले जीवनरक्षा गर्न सहयोग पुर्याउँछ ।
पाँचौँ क्षेत्र स्मार्ट पर्यटन व्यवस्थापन हो, यसले पोखराको आर्थिक मेरुदण्डलाई सुदृढ बनाउँछ । प्रमुख पर्यटकीय गन्तव्यहरू जस्तैः फेवा ताल, सराङकोट, विश्वशान्ति स्तूप, महेन्द्र गुफा आदिका लागि क्युआर आधारित जानकारी प्रणाली निर्माण गर्न सकिन्छ । पर्यटक ट्र्याकिङ, डिजिटल नक्सा र बहुभाषिक मोबाइल गाइड एपले पोखराको पर्यटन अनुभवलाई अझ आकर्षक र व्यवस्थित बनाउँछ । साथै, पर्यावरण संरक्षणसँग सन्तुलनमा रहँदै पर्यटकीय प्रवाह व्यवस्थापन आवश्यक हुन्छ ।
स्मार्ट सहरको निर्माणमा स्मार्ट अर्थतन्त्र र रोजगार सिर्जना स्मार्ट सहरका मेरुदण्ड हुन् । युवालाई उद्यमशीलतामा आकर्षित गर्न स्टार्टअप इनक्यूबेशन सेन्टर र इनोभेसन हब स्थापना गर्नु आवश्यक छ, जसले नवप्रवर्तनशील सोच, प्रविधि प्रयोग र व्यवसाय विकासलाई प्रोत्साहन दिन्छ । डिजिटल मार्केटिङ, ई–कमर्स र घरमै रोजगारी सिर्जना कार्यक्रमहरूले स्थानीय अर्थतन्त्रलाई प्रविधिसँग जोड्दै सामाजिक समावेशिता र आर्थिक सशक्तिकरण सुनिश्चित गर्छन् । यसले विशेषतः महिला, अपांगता भएका व्यक्ति र ग्रामीण युवालाई आर्थिक गतिविधिमा सहभागी गराउने अवसर प्रदान गर्छ ।
प्रविधिमा आधारित कृषि (स्मार्ट फार्मिङ) र स्थानीय उत्पादनको डिजिटल ब्रान्डिङले ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउँदै सहरी–ग्रामीण समन्वयलाई प्रवद्र्धन गर्छ । यसले उत्पादनको मूल्यवृद्धि, बजार पहुँच विस्तार र दिगो कृषि अभ्यासलाई प्रोत्साहन दिन्छ ।
नागरिकले पाउने सेवा सुविधा
स्मार्ट सिटीमा बस्ने नागरिकले अनलाइनमार्फत नगरपालिकाका सबै सेवामा सहज पहुँच पाउँछन् । डिजिटल भुक्तानी प्रणाली र बैंकिङ एकीकरणले आर्थिक व्यवहारलाई पारदर्शी र छिटो बनाउँछ । प्रदूषण, ट्राफिक र सुरक्षा निगरानीका लागि स्मार्ट प्रविधि प्रयोग हुने भएकाले सहर सुरक्षित, स्वच्छ र व्यवस्थित रहन्छ । शिक्षा, स्वास्थ्य, यातायात र ऊर्जा क्षेत्रमा दक्ष, पारदर्शी र दिगो सेवा प्राप्त हुने भएकाले नागरिकको समय, श्रम र खर्च दुवै बचत हुन्छ । अन्ततः, स्मार्ट पोखरा नागरिकमैत्री, पर्यावरणमैत्री र भविष्यमुखी सहरका रूपमा स्थापित हुनेछ ।
कार्यान्वयनका चुनौती र समाधान
स्मार्ट सिटी निर्माणको अवधारणा जति उत्साहजनक छ, यसको कार्यान्वयन त्यति नै चुनौतीपूर्ण पनि छ । पोखरालाई स्मार्ट सिटीमा रूपान्तरण गर्दा विभिन्न आर्थिक, प्राविधिक, राजनीतिक र नीतिगत अवरोधहरू देखा पर्न सक्छन् ।
गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा पोखरा महानगरपालिकामा अनधिकृत प्रवेश र तोडफोडका घटनाले गम्भीर क्षति पुर्याएका छन् । आन्दोलनको दौरानमा महानगरपालिकाको मुख्य कार्यालयसहित ३३ वडामध्ये २७ वडाका कार्यालयमा तोडफोड र आगजनी भएका छन् । धेरै पूर्वाधार, निजी क्षेत्रद्वारा सञ्चालित होटल तथा पर्यटन व्यवसायहरू पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्, जसको पुनर्निर्माण अपरिहार्य बनेको छ । यस अवस्थाले स्मार्ट सिटी निर्माणको यात्रामा थप चुनौती थपिएको छ ।
संविधान संशोधनको संघारमा उभिएको मुलुक अहिले अत्यन्त संवेदनशील राजनीतिक परिस्थितिबाट गुज्रिरहेको छ । भ्रष्टाचार अन्त्य र सुशासन पुनःस्थापनाको जनअपेक्षा अझै पूरा हुन सकेको छैन । राजनीतिक दलहरूप्रति जनविश्वास क्रमशः क्षीण हुँदै गएको छ र पुरानो पुस्ताका नेताहरूको दीर्घकालीन शासनप्रति व्यापक मोहभंग देखिएको छ । शान्तिपूर्ण प्रदर्शनका क्रममा निहत्था नागरिकमाथि भएको हिंसात्मक दमनले जनआक्रोश अझै थामिएको छैन । यस्तो अस्थिर र अविश्वसनीय राजनीतिक वातावरणले शान्ति, स्थायित्व र सुशासनको आधार कमजोर बनाएको छ जसले गर्दा स्मार्ट पोखरा निर्माणको लक्ष्य थप जटिल र चुनौतीपूर्ण बनेको छ ।
अन्य चुनौतीहरूमा पहिलो प्रारम्भिक लगानी उच्च हुनु हो । स्मार्ट पूर्वाधार निर्माण, सूचना–प्रविधि प्रणाली र नवीकरणीय ऊर्जा जस्ता क्षेत्रमा ठूलो पूँजी आवश्यक पर्छ । दोस्रो, प्रविधि पूर्वाधारको कमी र दक्ष जनशक्तिको अभावले योजनाको प्रभावकारी कार्यान्वयनमा अवरोध सिर्जना गर्न सक्छ । तेस्रो, डेटा सुरक्षाको जोखिम पनि गम्भीर चुनौती हो, किनभने स्मार्ट सिटीमा नागरिकका व्यक्तिगत, प्रशासनिक र आर्थिक तथ्यांकहरू डिजिटल रूपमा सञ्चालित हुन्छन् । चौथो, नीति र कानुनी अस्पष्टताका कारण निर्णय प्रक्रिया ढिलो हुने वा अस्पष्ट रहने सम्भावना रहन्छ ।
यी चुनौतीहरूका समाधानका लागि पोखराले केही रणनीतिक कदम चाल्नुपर्छ । पहिलो, सार्वजनिक–निजी साझेदारी (पिपिपि) मोडेल अपनाएर लगानीको बोझ बाँड्न सकिन्छ । यसले निजी क्षेत्रको दक्षता र सरकारी संरचनाको विश्वास दुवैलाई संयोजन गर्छ । दोस्रो, विश्वविद्यालय, अनुसन्धान संस्था र निजी क्षेत्रबीच सहकार्य गरेर प्रविधि विकास, अनुसन्धान र नवप्रवर्तनलाई प्रोत्साहन दिन सकिन्छ । तेस्रो, नागरिक सचेतना र प्रविधि साक्षरता अभियान सञ्चालन गरेर नागरिकलाई प्रविधिको प्रयोगमा सक्षम बनाउने आवश्यक छ । कानुनी ढाँचा र नीतिमा स्पष्टता ल्याई निर्णय प्रक्रिया सरल, पारदर्शी र उत्तरदायी बनाइनु जरुरी छ ।
निष्कर्ष :
पोखरा प्राकृतिक सुन्दरता, सांस्कृतिक विविधता र सामाजिक सन्तुलनले सम्पन्न सहर हो । अब यसको विकासको अर्को चरण प्रविधि र नवप्रवर्तनमा आधारित ’स्मार्ट पोखरा’ बन्ने दिशामा हुनुपर्छ । यस्तो सिटीले नागरिकलाई मात्र सुविधा नदिई, पर्यावरण, पर्यटन, शिक्षा र अर्थतन्त्र सबै क्षेत्रमा दिगो र सन्तुलित विकास सुनिश्चित गर्नेछ ।
(बराल शिक्षा, वातावरण, सूचना प्रविधि तथा समसामयिक विषयमा कलम चलाउने स्वतन्त्र लेखक हुन् ।)







रत्नशोभा मावि व्यवस्थापन समितिमा तिमिल्सिना
‘जारी २’ र ‘मन बिनाको धन’ प्रदर्शनमा
बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै
कोरला भन्सारबाट ३ अर्ब बढी राजस्व संकलन
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया