सम्पादकीय—नर्सहरुलाई न्याय देऊ

पोखराको मणिपाल शिक्षण अस्पतालमा कार्यरत नर्सहरूको आन्दोलनले २ साता नाघेको छ । सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम तलब पाएको भन्दै उनीहरूले सुरु गरेको धर्ना र आन्दोलनले अस्पतालको सेवा नै ठप्प पारेको छ । अस्पतालले नर्सहरुका माग सम्बोधन गरेको छैन । नर्सहरुले काम ठप्प पारेपछि बिरामी नै डिस्चार्ज गरिएका छन् वा रिफर । अस्पतालको सेवा पाउने न्यूनतम आधारभूत हक बिरामीहरुको पनि खोसिएको छ ।
अस्पतालको सेवा अत्यावश्यक संवेदनशील सेवा हो, त्यसलाई कुनै पनि बहानामा रोकेर बिरामीमाथि अर्काे अन्याय गर्नु हुँदैन । यसमा सम्बन्धित निकायले समेत ध्यान पु¥याउन नसक्नु बिडम्वना हो । प्रशासन के हेरेर बसेको छ ? उसले यस्ता समस्या समाधानमा भूमिका खेल्नुपर्छ । भारतीय लगानीमा स्थापना भएको यो अस्पतालले धेरै हड्ताल र आन्दोलन बेहोरको छ । केही समययता नेपाली लगानी भित्रिएयता भने आन्दोलनको गुञ्जायस देखिएको थिएन । तर नर्सहरुले न्यूनतम पारिश्रमिकसमेत नपाउँदा आन्दोलन गर्न बाध्य भएका छन् ।
न्यूनतम पारिश्रमिक, ओभरलोड कामको व्यवस्थापन, बिदाको सुविधा, जोखिम भत्ता र यातायात खर्चजस्ता आधारभूत मागमा असहमत हुनुपर्ने कारण देखिन्न । अत्यधिक होइन, न्यूनतम पारिश्रमिक न मागेका छन् नर्सहरुले । त्यो न्यूनतम पनि सरकारले तोकेको १९ हजार ५ सय ५० रुपैयाँ मात्रै हो । त्यति पारिश्रमिक पनि देशकै एउटा प्रतिष्ठित र ठूलो अस्पतालमा काम गर्ने नर्सहरु पाएका रहेनछन् भन्ने तथ्य उजागर हुँदा निजी स्वास्थ्य संस्थामा श्रम शोषणको अवस्था कति विकराल छ भन्ने देखिएको छ ।
स्वास्थ्य सेवा अत्यावश्यक सेवा नै हो । यसको अर्थ यो होइन कि स्वास्थ्यकर्मीहरूले आफ्नो अधिकारका लागि आवाज उठाउन पाउँदैनन् । अत्यावश्यक सेवा ऐनको दुरुपयोग गरी स्वास्थ्यकर्मीको जायज मागलाई दबाउन खोज्नु लोकतान्त्रिक मूल्यमान्यताविपरीत हो । स्वास्थ्य मन्त्रालय र नर्सिङ संघले पटकपटक न्यूनतम पारिश्रमिकका लागि ध्यानाकर्षण गराउँदा पनि निजी अस्पतालले अटेर गर्नुले सरकारको नियमन क्षमतामाथि प्रश्नचिह्न खडा गरेको छ ।
सरकार कहाँ छ खै ? सबैभन्दा पहिला त यो समाधानका लागि अस्पताल प्रशासन, आन्दोलनरत नर्सहरू र सरकारका प्रतिनिधिबीच तत्काल वार्ता हुनु आवश्यक छ । सरकारले तोकेको न्यूनतम पारिश्रमिक लागू गर्न प्रशासन राजी नभई धरै छैन । कानुनको पालना कर्तव्य हो । नर्सहरूका अन्य मागहरूमा पनि सहानुभूतिपूर्वक विचार गरिनुपर्छ । बल प्रयोग र धम्कीले समस्याको समाधान हुँदैन, यसले झन् जटिलता मात्रै थप्छ ।
नर्सहरूले बिरामीहरूसँग क्षमायाचना गर्नुले उनीहरूको संवेदनशीलता देखाउँछ । उनीहरू आफ्नो कर्तव्यप्रति कति इमान्दार छन् भन्ने कुरा यसबाट प्रस्ट हुन्छ । तर, जब पेसागत सम्मान र न्यूनतम अधिकारको कुरा आउँछ, तब उनीहरू आवाज उठाउन बाध्य हुन्छन् । मणिपालका नर्सहरुको आन्दोलनले समग्र स्वास्थ्य सेवा प्रणालीको नियमनमा सुधार ल्याउनुपर्ने आवश्यकतालाई औंल्याएको छ । सरकारले निजी स्वास्थ्य संस्थाहरूलाई आफ्नो नियन्त्रणमा राख्न नसक्दा स्वास्थ्यकर्मीहरूमाथि शोषण बढ्दै गएको छ । यसले अन्ततः गुणस्तरीय स्वास्थ्य सेवामा पनि नकारात्मक असर पार्छ । नर्सहरूले न्याय पाउनुपर्छ । उनीहरूको श्रमको उचित कदर हुनुपर्छ ।







रत्नशोभा मावि व्यवस्थापन समितिमा तिमिल्सिना
‘जारी २’ र ‘मन बिनाको धन’ प्रदर्शनमा
बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै
कोरला भन्सारबाट ३ अर्ब बढी राजस्व संकलन
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया