डेंगी रोकथामका लागि विद्यार्थीलाई प्रशिक्षण

समाधान संवाददाता २०८२ असोज २८ गते १०:५२

पोखरा ।
डेंगी रोगको संक्रमण रोकथाम तथा नियन्त्रणको लागि नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले समुदाय स्तरमा लामखुट्टे खोज र नष्ट गरौं अभियान गरेको छ ।

Advertisement


पोखरा आसपासको क्षेत्रमा डेंगी रोगका संक्रमण बढेको सन्दर्भमा रेडक्रसले विद्यालय स्तरीय सचेतनामूलक कार्यक्रम समेत गरेको छ । टोल समुदाय तथा विद्यालय आसपासमा सरसफाइको अलावा लामखुट्टेको लार्भा खोज र नष्ट गरौं अभियान गरेको रेडक्रस कास्कीका सभापति उर्मिला खड्का भण्डारीले जानकारी दिइन् ।

रेडक्रस कास्कीले पोखरा ३३ भरतपोखरीको शिशु कल्याण मावि र शान्ति उदय मावि, माछापुच्छ्रे गाउँपालिकाको बराह मावि भेडाबारी, पोखरा २१ कृस्तीको युवा वर्ष आधारभूत र पोखरा २२को लीला आधारभूत विद्यालयमा विद्यालय स्तरीय अभिमुखिकरण गरेको छ । त्यस्तै पोखरा २२ पुम्दीभुम्दी र माछापुच्छ्रे ४ लाहाचोक आसपासको क्षेत्रमा लामखुट्टे खोज तथा नष्ट गरौं अभियान भएको छ ।

Advertisement

पोखरा आसपासमा डेंगी संक्रमण बढेपछि रेडक्रसले विद्यालयहरुमा सचेतनामूलक कार्यक्रम गरेको छ ।

गत वर्ष कास्की देशभरीमा डेंगीबाट सबभन्दा बढी प्रभावित जिल्ला थियो । ब्रिटिस रेडक्रसको सहयोग तथा नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा रेडक्रस कास्कीले डेेंगी रोग संक्रमण न्यूनीकरण कार्यक्रम सघन रूपमा सञ्चालन गरेको छ । रेडक्रस कास्कीका सभापति खड्काले विगतका वर्ष झै यस वर्ष पनि मनसुनसँगै कास्कीका विभिन्न क्षेत्रमा डेंगीको संक्रमण बढिरहेको बताइन् ।

Advertisement


‘स्थानीय समुदायको अपनत्वमा तथा विद्यालय स्तर गरेको कार्यक्रम डेंगी रोकथाम र नियन्त्रणको लागि अत्यन्तै प्रभावकारी भएको छ, ’उनले भनिन्, ‘कार्यक्रममा श्रव्य दृश्य सामाग्री सहित स्थानीय समुदाय र विद्यार्थीलाई ब्रोसर वितरण तथा सूचना सामग्री मार्फत सचेत र सजग गराइएको छ । साथै घरदैलो अभियान मार्फत सबै घरहरूमा डेंगी रोगबाट बच्ने उपायका बारेमा अवगत गराउने काम भएको छ ।’ उनले पोखरामा हाल डेंगी संक्रमण फैलिदै गएकोले समुदाय सचेत सरसफाईमा जुट्न आग्रह गरिन् ।


रेडक्रस कास्कीका उपमन्त्री डिल्लीराम बरालले लामखुट्टेको टोकाइबाट हुनसक्ने संक्रमण र त्यसबाट बच्ने उपायका बारेमा सबै सचेत हुनुपर्ने बताए । उनले टोलटोलबाट डेंगी सार्ने लामखुट्टे खोज र नष्ट गरौं अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।


तापमानको बृद्धि तथा वर्खाको पानी खाल्टाखुल्टामा पानी जमेका छन् । प्रयोग भएका सिसाजन्य तथा प्लास्टिकजन्य वस्तुहरू जथाभावी फ्याँकिएको छ । पुराना टायर तथा ट्युबहरूमा पानी जम्मा भएर एडिजजातको लामखुट्टेले अण्डा तथा लार्भा उत्पादन गर्नको निम्ति सहज वातावरण भएका कारण डेंगी संक्रमण फैलिरहेको नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका डेंगी रोकथाम तथा प्रतिकार्य कार्यक्रमका फोकल पर्शन नवराज भण्डारीले जनाए । उनका अनुसार डेंगीबाट बच्नको निम्ति व्यक्तिगत, सामुदायिक तथा संस्थागत सचेतना नै प्रमुख उपाय हो ।

खोज र नष्ट गरेर अभियान अन्तर्गत लामखुटेको बासस्थान नै नष्ट गर्नु डेंगीबाट जोगिने मुख्य उपाय हो । विद्यालय तथा समुदाय स्तरको अभिमुखिकरण कार्यक्रममा रेडक्रस कास्कीका कार्यक्रम फोकल पर्सन भण्डारी र प्रशिक्षक सुनिता पौडेलले सहजीकरण गरेका छन् । कार्यक्रमको समापनसँगै वडाको आसपासमा, टोल टोलमा र विद्यालयको आसपासमा लामखुट्टे खोज र नष्ट गरौं अभियान सञ्चालन गरिएको छ । अभियान अन्तर्गत डेंगी फैलाउने लामखुट्टेका फूल तथा लार्भा समेत विद्यार्थीलाई पहिचान गराउँदै नष्ट गरिएको छ । विद्यालय भएका टायर तथा फुलदानीलाई भएको पानी समेत फ्याकिएको छ ।


कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्कीका सदस्य तथा माछापुच्छ्रे–४ लाहाचोक उपशाखाका सचिव श्रीकान्त पौडेल, पोखरा ३३ उपशाखाका सभापति टुकराज भण्डारी, पोखरा २१ उपशाखाका सभापति बद्रीनाथ सुवेदी, शिशु कल्याण माविका व्यवस्थापन समितिका अध्यक्ष श्रीबहादुर बराल, प्रधानाध्यापक सुदन पौडेल, युवा वर्ष आधारभूत विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद बराल, शिक्षक शंकरप्रसाद बास्तोला, माछापुच्छ्रे गाउँ पालिका कार्यपालिकाका सदस्य, राजु नेपाली, माछापुच्छ्रे ४ लाहाचोकका वडा सदस्य अर्जुन अधिकारी लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया