काली छोरी र डिजिटल भीड

डा. कैलाश तिमिल्सिना २०८२ असोज २९ गते १०:५७

काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलको अवतरणपट्टीमा जहाजको चक्का बिस्तारै पृथ्वी छुँदै थियो । त्यही क्षण, रमिलाको हृदय एकछिन थरथरायो—धड्कनले आकाश चुमेझैं महसुस गरायो । लामो समयपछि उनी नेपाली माटोमा पाइला टेक्न लागेकी थिइन् । ‘यही देश हो,’ उनले मनमनै भनिन्, ‘जहाँ मेरी छोरी वर्षा हुर्केकी छिन्—मात्र शारीरिक रूपमा होइन, चेतनामा, आत्मबलमा र सपनाहरूको आकाशमा पनि । यही माटोमा उसको पहिचान उम्रिएको छ, अनि यही देश मेरो शाश्वत प्रेम रहिरहनेछ—जहाँ म आत्मसम्मान र योगदानसहित सधैंको लागि समर्पित छु ।’


संगै सुतिरहेकी थिइन् सप्री—कालो छालाको उज्यालो, काँडेजस्तै उभिएको कपाल, र ती गहिरा आँखाहरू, जसको भित्र अबोध प्रश्नहरूको समुन्द्र लुकेको थियो । जहाजको ढोका खुल्नासाथ, न त कसैले फुलमालासहित प्रतीक्षा गरिरहेको थियो, न ‘स्वागत छ रमिला’ लेखिएको कुनै बोर्ड थियो ।


थिए त केवल घोरिरहेका आँखाहरू—केही जिज्ञासु, केही आलोचक, केही अचम्मचकित, अनि केही… कटु, विषविलासी ।
ती नजरहरू रमिलालाई होइन, उनको छोरी सप्रीतर्फ निर्देशित थिए ।
‘हेर न, कालो छोरी !’
‘को होला बाउ त्यो केटीको ?’
‘एउटी नेपाली केटी, अफ्रिकीसँग सुतेर छोरी जन्माएर फर्किएकी रे !’
‘शर्म नामको त कुनै चीज नै छैन !’
यी शब्दहरू कानसम्म पुग्नेगरी चिच्याइएका थिएनन्, तर तिनको फुसफुसाहटले रमिलाको आत्मा छेडिसकेको थियो । ती शब्दहरू हावामा थिएनन्—ती उनको अस्तित्वमाथि झरिरहेको खारिलो पानी जस्ता थिए ।
छोरी सप्रीले आमाको हात झन् कसेर समाइन् र वरिपरि हेर्दै डरालु स्वरमा सोधिन्—
‘मामा, किन सबले हामीलाई हेर्छन् यसरी?’

Advertisement


रमिला केही क्षण …….., उत्तर दिन सकिनन् । मनभित्रै केही चिरिएको महसुस गरिन् । के भनेर सम्झाउनु? के भनेर बचाउनु?
अचानक एक वृद्ध पुरुष अगाडि बढे र कड्किएर भने—
‘अब त यस्ता विदेशी जात ल्याउने पनि सामान्य भएछ! धर्म, कुल, संस्कार—सबै गयो!’
त्यसैबेला छेउमा उभिएकी एक महिलाले रमिलालाई टोलाएर हेर्दै हकारिन्—
‘लुगा त हेर न! अफ्रिकी ज्वाइँको छोरी छ, हेठी समाजको! समाजको लाज बोक्न आइ!’
रमिला गहिरो सास फेर्दै केही नबोली अगाडि बढिन् । न रोइन्, न प्रतिवाद गरिन् । तर उनका आँखा रसाए ।
भित्रभित्रै उनले चिच्याउन खोजिन्—
‘के मेरी छोरीको छालाको रंगले मेरो मातृत्वलाई अपमानित गरिदियो?’


त्यो भीडमा उनलाई न्याय दिने कोही थिएन । थिए त केवल टोक्ने नजरहरू, गिज्याउने मुस्कानहरू, र चिहानजस्तो भारी निस्तब्धता ।
तर रमिला झुकिनन् । छोरीको हात मजबूतीले समाउँदै, उनी बिस्तारै अगाडि बढिन् ।
प्रत्येक पाइला काँडेदार थियो—
तिरस्कारका काँडा, पूर्वाग्रहका काँडा, संस्कारको नाममा फैलाइएका पर्खालहरू ।
तर ती सबैभन्दा बलियो थिएनन्—बलियो थियो रमिलाको विश्वास ।
विश्वास—छोरीको उज्यालो भविष्यप्रति, अनि समाज फेरिने सम्भावनाप्रति ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीडभाड, हतार, अनि अनिश्चित हावामा रमिला एक पाइलामा अर्को पाइला राख्दै अघि बढिरहेकी थिइन् । हातमा समाइएको थियो सानी छोरी सप्रीको नानी औंला—जसमा माया मात्र थिएन, सुरक्षा थियो, आत्मरक्षा थियो ।

Advertisement


सप्री, मासूम आँखाहरू—जसले अझै संसारको कठोरता बुझ्न सकेकी थिइनन् । उसले केही बुझेकी थिइन भने त्यो थियो—आमाको हात कहिल्यै नछोड्नु । तर समाज, जुन अनुहारभन्दा पनि वर्ण हेर्छ, संस्कृतिभन्दा पनि शुद्धता खोज्छ, त्यो समाजको आँखामा सप्रीको अस्तित्व स्वयंमा एक प्रश्न थियो—एक कलंक ।


त्यही बेला, भीडभाडबीच, मोबाइल हातमा बोकेको एक युट्युबरको क्यामेरा रमिलाको अनुहारतर्फ तेर्सियो । क्यामेराको प्वालभित्रबाट निस्किएको शब्दहरू झन् क्रूरताले भरिएका थिए—
‘हेर्नुस्, विदेशी यौनसम्पर्कबाट जन्मिएको बच्चा लिएर एउटी नेपाली महिला देश फर्किँदैछिन् । संस्कृति नष्ट पार्ने यिनै हुन् ।’
त्यो शब्द केवल वाक्य थिएन । त्यो एक डिजिटल विष थियो, जसले समाजका सुकिला–मुखिला घाउहरूमा एकैछिनमा आगो सल्कायो ।


एक मिनेटको त्यो भिडियोलाई आगो बन्न धेरै समय लागेन ।
केही घण्टाभित्रै, टेलिफोनको गतिजस्तै फैलिएको थियो—
टिकटक, ट्विटर, युट्युब, फेसबुक…
रमिलाको नाम एउटा सामाजिक आरोपको पर्याय बनिसकेको थियो ।
—काली—छोरी—ल्याउने—रमिला
—विदेशी—वासना—पीडित—महिला
—संस्कृति—नास—गराउने—फोहोर


ह्यासट्यागहरू केवल शब्द थिएनन् । ती हजारौं चिहान थिए, जसमा सामाजिक विवेक गाडिएको थियो ।
रमिला कुनै पनि स्पष्टीकरण दिइनन् ।
किनभने उनी बुझ्थिन्—यी भीड, यी डिजिटल न्यायाधीशहरू, प्रश्न होइन केवल फैसला सुन्न चाहन्छन् ।
किनकि उनी जान्दथिन्—साँचो न्याय समयले गर्छ, भीडले होइन ।
‘सप्रीको छालाको रंग तिमीहरूको आँखा बदल्न सक्दैन ।
तर ऊ जुन न्याय देख्नेछ—त्यो न्याय तिमीहरूको दृष्टि बदल्नेछ ।’
तर उनको हृदय चिच्याइरहेको थियो—
‘एक सानो छोरीलाई माया गर्न मैले समाजको अनुमति किन माग्नुपर्छ?’
‘मैले पाएको प्रेम, पीडा, र मातृत्व—ती सबै तिमीहरूका संस्कारभन्दा सानो कसरी भए?’


युट्युबर उनको पछाडि लाग्यो एयरपोर्टको गेटदेखि गल्लीसम्म, अनि घरको पुरानो गेटदेखि चिनारुहरूसम्म । मोबाइलको स्क्रिनमा आँखा गाडेर उसले रमिलाको तस्बिर खिच्यो, भिडियो बनायो, अनि वरिपरिका मानिसहरूलाई चुपचाप सोध्दै हिँड्यो—
‘किन गइन् उनी?’, ‘छोरीको बाउ को हो?’, ’राजनलाई छाडेर किन?’ ।
तर उसले कथा बुझ्ने प्रयास गरेन — ऊ त कथा बनाउने उद्देश्यमा लागिपरेको थियो । युट्युबरका लागि भ्यु’ महत्त्वपूर्ण थियो ।
त्यसपछि मिडिया उर्लियो । अब युट्युबर र समाचार च्यानलहरूले रमिलाको जीवनलाई ’सनसनीखेज खुलासा’ भन्दै मादलजस्तै बजाउन थाले ।


हेडलाइनहरू बनाइए—
‘राजनलाई छाडी अफ्रिकीसँग प्रेम ।’
‘कालो छोरी लिएर फर्किएकी रमिला को हुन्?’
‘सामाजिक संस्कार तोड्ने साहसी महिला कि विकृत सोचकी शिकार?’
टेलिभिजन च्यानलहरूमा बहस कार्यक्रम सुरु भए, युट्युबमा रिएक्सन भिडियोहरू बर्सिए, टिकटकमा अभिनय, फेसबुकमा द्वेष स्टाटसहरूको बाढी आयो ।


कसैले रमिलालाई राष्ट्रघाती भने, कसैले चरित्रहीन ठहराए, र कसैले त सिधै ‘पश्चिमी वासना’ को शिकार ठहराए ।
टेलिभिजनका स्क्रिनहरूमा, जहाँ कहिल्यै रामायण चल्थ्यो, अब ‘रमिला कि राजन – पीडित को?’ भन्ने पोल राखिएको थियो । ८० प्रतिशत जनता राजनको पक्षमा । राजन—जो कहिल्यै बोलेन, तर समाजको मौन समर्थनमा ‘नायक’ बनाइए ।
चर्चित टेलिभिजन शो ’जनता निर्णय गर्छ’ मा एंकरले माइक झटार्दै चिच्यायो—
‘रमिलाजस्ता महिलाले नेपाली समाजलाई कलंकित बनाइरहेका छन् ।’


अखबारमा ठूला अक्षरमा लेखियो—
‘एकल महिलाले समाजको संरचना नै बिगार्छन् ।’
नेताहरू पनि चुप लाग्ने कुरै थिएन । एउटा सांसदले संसदमै घोषणा गरिदिए—
‘हामी यस्ता महिलालाई नेपाल फर्कन दिनुहुँदैन ।’
रमिला त्यो बेला घरभित्र थिइन्—शून्यतामा टोलाउँदै, अनिदो सप्रीको निधारमा शान्त स्पर्श गर्दै । बाहिरको संसार चाहिँ तमाशाघरमा परिणत भइसकेको थियो ।
टेलिभिजन च्यानलहरू, युट्युब भिडियोहरू, टिकटक क्लिपहरू, मिमहरू, स्टाटसहरू सबै रमिलाको नाममा नाचिरहेका थिए । फेसबुक खोल्नासाथ घृणाको बाढी आइपुग्थ्यो
‘नेपालको नाम मटियामेट पार्ने नारी ।’
‘धिक्कार छ यस्तालाई आमा भन्न ।’
‘राजनजस्तो इमानदार श्रीमानलाई धोका दिने चरित्रहीन महिला ।’
केवल एक पोस्टमा हजारौं कमेन्टहरू घृणाले भरिएका इमोजहरू, घृणाले लेखिएका स्टाटसहरू, र छायाँजस्तै पछ्याउने आरोपहरू ।


कसैले लेखेको थियो—
‘रमिलालाई देश निकाला गर । यिनै हुन् संस्कृतिको कालो धब्बा ।’
अर्कोले—
‘सप्रीजस्तो बच्चालाई नेपाली भूमिमा राख्नु हुँदैन, न समाज स्विकार्छ, न धर्म ।’
तर कसैले बुझ्न चाहेनन् सत्य के हो । उनीहरूलाई चाहिएको थियो—
कालो छोरीको तस्बिरमा टाँसिएको ’कुरूपता’
महिलाको आँसुमा बनाइएको मिम
राजनको नाममा रचेको सहानुभूतिको ड्रामा
किनभने सार्वजनिक मनोविज्ञान न्याय खोज्दैन—कथा खोज्छ । र त्यो कथामा खलनायक बन्न महिलाको लिंग नै पर्याप्त ठहर्छ ।
सामाजिक संजालमा स्टाटसहरू बनाइए—
‘रमिलाले नेपाली महिलाको इज्जत माटोमा मिलाइन् ।’


‘अब छोरीहरूलाई विदेश पठाउनु हुन्न ।’
‘महिलाले स्वतन्त्रता पाउँदा यस्तै हुन्छ ।’
उनीहरू रमिलाको कथा बुझ्न होइन, उपभोग गर्न चाहन्थे—मनोरञ्जनको साधनझैं । यो युग न्याय खोज्दैन—भाइरल खोज्छ ।
रमिलाको पीडा त केवल एक कप चियाको गफ बनेर बाँडिन थाल्यो—जहाँ आँसु र आरोप मिसिएर मिम बन्थे । सामाजिक सञ्जाल अब अदालत बनिसकेको थियो, तर त्यहाँ न्यायाधीश थिएनन्—केवल भीड थियो । र त्यो भीडले फैसला गरिसकेको थियो—रमिला दोषी छिन् ।
रमिलाले मोबाइल बन्द गरिन् । उनले बुझिन् भीडलाई पात्र होइन, कथा चाहिन्छ । तर उनको मुटुमा त्यसबेला एक नयाँ प्रण पलायो—


‘अब म बोल्नेछु—आफ्नो पक्षबाट, आफ्नै भाषामा, संसारको अगाडि ।’
रमिला जान्दथिन् छोरी सप्रीको उज्यालो भविष्यलाई सुरक्षित राख्ने जिम्मेवारी, आफ्नो मातृत्वको मूल्य, र व्यक्तिगत स्वतन्त्रताको अधिकारलाई समाजको पूर्वाग्रहको आगोमा जलाउन दिइन सक्दैनन् । उनले आफैँसँग प्रतिज्ञा गरिन् सत्यलाई उजागर गर्ने, आफ्नो कथा आफ्नै शब्दमा भन्न र सामाजिक न्यायको खोजीमा सक्रिय रहने ।

(गण्डकी विश्वविद्यालयका रजिस्ट्रार तिमिल्सिनाको लेखन प्रक्रियामा रहेको उपन्यास ’रमिला’ बाट एक अंश — ‘काली छोरी र डिजिटल भीड’)

तपाईको प्रतिक्रिया