सम्पादकीय—तिहारको चमक र स्वास्थ्यको चिन्ता

समाधान संवाददाता २०८२ कार्तिक २ गते ११:५५

तिहार भन्नासाथ आँखाअगाडि मिठाईको थाल, बत्तीको माला र फूलको गहना उभिन्छ । यो हाम्रो संस्कृतिको महान् पर्व हो । यसै पर्वलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले दुई महत्वपूर्ण सूचना जारी गरेको छ । एउटा अखाद्य रङको प्रतिबन्धको सूचना छ र अर्को प्लास्टिकका फूल र मालाको प्रतिबन्धको । अखाद्य रङले मानव स्वास्थ्यमा दीर्घकालीन र गम्भीर असर पार्छ । विश्वभरका स्वास्थ्य अध्ययनले यो कुरा प्रमाणित गरिसकेका छन् । यस्ता रङले एलर्जी, छालाको रोग, झाडापखाला, कलेजो र मिर्गौलामा क्षति पु¥याउँछन् । केही रङमा भारी धातु मिसिएको हुन्छ । यी धातुले शरीरमा संचय भएर क्यान्सर निम्त्याउन सक्छन् । बालबालिकामा यसको असर झनै खतरनाक देखिन्छ । उनीहरूको विकासमा नै बाधा पुग्छ । व्यवहारमा परिवर्तन आउँछ । शैक्षिक क्षमतामा कमी आउँछ ।


तिहारमा लडडु, पेडा, बर्फी, तन्दुरी चिकनलगायत अनेक परिकार बन्छन् । यी परिकारलाई आकर्षक बनाउन अखाद्य रङ प्रयोग गरिन्छ । विशेषगरी रातो, पहेँलो, सुन्तला, हरियो जस्ता चर्का रङका लागि औद्योगिक रङको प्रयोग हुन्छ । यस्ता रङ कपडा, प्लास्टिक र रङरोगन उद्योगका लागि बनाइएका हुन्छन् । यी मानव उपभोगका लागि होइनन् । तर नाफाको लोभमा व्यवसायीले यस्ता रङको प्रयोग गर्दछन् । खाद्य रङभन्दा सस्तो पर्छन् । सजिलै बजारमा पाइन्छन् । तर यो व्यापार भनेको वस्तुतः जनतामाथि हुने हिंसा हो ।


नेपाल खाद्य नियमावली २०१९ ले खाद्य पदार्थमा स्वीकृत खाद्य रङ मात्र प्रयोग गर्न अनुमति दिएको छ । तर यसको कार्यान्वयन कमजोर छ । महानगरपालिकाले अहिले लिएको कदम प्रशंसनीय छ । तर यो कदम तिहारको समयमा मात्र सीमित हुनु हुँदैन । वर्षभरि नियमित अनुगमन चाहिन्छ । जनचेतना अभियान चलाउनु पर्छ । व्यवसायीलाई खाद्य रङको बारेमा तालिम दिनु पर्छ । उपभोक्तालाई सजग बनाउनु पर्छ ।

Advertisement


प्लास्टिकका फूलले वातावरणमा विष घोल्छन् । यी सामग्री कहिल्यै कुहिँदैनन् । यी माटोमा शतौं वर्षसम्म रहन्छन् । माटोको उर्वरता घटाउँछन् । जल निकासी प्रणालीमा अवरोध खडा गर्छन् । जलाएमा विषाक्त ग्यास उत्सर्जन गर्छन् । यी ग्यासले वायु प्रदूषण बढाउँछन् । फोक्सो, मुटु, मस्तिष्कमा असर पार्छन् ।


पोखरा महानगरपालिकाले जारी गरेको सूचनामा स्थानीय र प्राकृतिक फूलको प्रयोगमा जोड दिइएको छ । यो निर्णय वातावरण संरक्षण ऐन २०७६ को दफा १५ अनुसार लिइएको हो । सरकारको नीतिअनुसार २०७९ सालदेखि नै प्लास्टिकजन्य फूलगुच्छाको बिक्री, वितरण र भण्डारणमा रोक लगाइएको थियो । तर कार्यान्वयन ढिलो भयो । अहिले आएर मात्र यसको प्रभावकारी कार्यान्वयन हुन थालेको छ । यो निर्णयले हाम्रा किसानलाई फाइदा पुर्‍याउँछ । नेपाली किसानले उत्पादन गरेका फूलले बजार पाउँछन् । उनीहरूको आयमा वृद्धि हुन्छ । रोजगारी सृजना हुन्छ । स्थानीय अर्थतन्त्र बलियो बन्छ । विदेशी उत्पादनको आश्रितता घट्छ । यो आर्थिक स्वावलम्बनको मार्ग हो ।

Advertisement


महानगरपालिकाले ‘रङले स्वाद होइन रोग ल्याउँछ’ र ‘कृषि मूल्य जीवनम्’ जस्ता नारा दिएको छ । यी नारा राम्रा छन् । तर नारामात्रै पुग्दैन । कार्यान्वयन चाहिन्छ । खोजतलासी टोली गठन गर्नु पर्छ । नियमित अनुगमन गर्नु पर्छ । उल्लंघनकारीलाई कडा कारबाही गर्नुपर्छ । आर्थिक जरिवाना मात्र होइन, कारोबार बन्द गर्ने कदमसम्म लिनु पर्छ । बारम्बार उल्लंघन गर्नेविरुद्ध कानुनी कारबाही गर्नु पर्छ ।


तर यसमा सरकारको भूमिका मात्र पुग्दैन । समाजको पनि जिम्मेवारी छ । उपभोक्ताले सचेत हुनु पर्छ । चर्का रङका मिठाई नकिन्नुपर्छ । प्लास्टिकका फूल नप्रयोग गर्नु पर्छ । व्यवसायीले नैतिकता देखाउनु पर्छ । नाफाभन्दा जनस्वास्थ्यलाई प्राथमिकता दिनु पर्छ । प्रमाणित उत्पादन बेच्नु पर्छ । नेपालका अन्य सहरले पनि यो नजिर पछ्याउनु पर्छ ।

तपाईको प्रतिक्रिया