समुद्रपारि दाजुभाइ, आँगनभरि मखमली

मधु शाही, काठमाडौं ।
आँगनभरि ढकमक्क मखमली । टपक्क टिपेर माला उनेर दाजुको गलामा पहिराउने चाहना । तर, जुन फूल जसको गलामा हुनुपर्ने हो, ऊ समुद्रपारि छ । बौद्ध जोरपाटीकी सुमना बेल्वासेलाई जब तिहार आउँछ, समुद्रपारि पुगेका दाजुको सम्झना आँखाभरि छल्किन थाल्छ ।
उनी भन्छिन्, ‘दाइ हुँदा हुन त यी सबै मखमली टिपेर गलाभरी पहिरीदिन्थे ।’ ‘सम्बन्ध जति टाढा उति गाढा’, भनेजस्तै बेल्वासेले दाजु विदेशिएपछि तिहारको महत्व झनै मनन गरे । कोरियामा चार वर्षदेखि रोजगारी गर्न पुगेका दाजुले नै घर खर्च धानेका छन् । आर्थिक स्रोतको मुख्य भूमिका निर्वाह गरेका दाइको दायित्वप्रति उनी सधैँ हार्दिक भाव राख्छन् । यद्यपि पर्वको बेला भने परिवारको सदस्य नहुँदा मन अमिलो हुने गरेको छ ।
विगतमा देउसी र भैलो खेलेर रमाइलो गरे क्षण सँगालेकी बेल्वासेले भन्छिन्, ‘दाइ अर्को वर्ष त आउँछ रे ।’ विदेशिएका भाइको सम्झनामा ३ वर्षदेखि एक्लै तिहार मनाउँदै आएकी ललितपुर डल्लुकी प्रिन्सा बस्नेतले भिडियो कलबाटै तिहार मनाउँछिन् । डिजिटल माध्यम नभएको भए त झनै गाह्रो हुन्थ्यो । भिडियोमा मज्जाल गफिएर पर्वको आभाव गर्ने अवसरलाई उनले सकारात्मक लिएकी छन् ।
विदेशिएको भाइ र यही भएको दाजु एकैसाथ भएर तिहार मनाउने कहिले होला ?
हुन त बेल्वासेका आफन्ती दाजुभाइहरू छन् । जो साथमा छैन, उसैको चासो बढी हुनेरहेछ । उनी विदेशिएका दाइको निधारमा टीका लगाएर बहिनी र दाजुबीचको आत्मीयता साट्ने क्षणको प्रतीक्षामा छिन् । उनीजस्तै, परदेशी भाइलाई सधैँ तिहारमा सम्झिन बाध्य छिन्, भक्तपुरकी रोमा भट्टराई । भट्टराईका २ दाजुभाइ छन् ।
कान्छो भाइ रोजगारीको सिलसिलामा कतार छन् । घरमै भएका दाजुको निधारमा सप्तरंगी टीका लगाउँदा भाइको समेत ख्याल नआउने कुरै भएन । उनी प्रत्येक तिहारमा भाइलाई भिडियो कल गर्दै दाजुलाई तिहारमा टीका लगाएको दृश्य देखाउँछिन् । ‘यस्तो बेला हाँसो र आँसु दुवै छल्किन्छ’, उनी भन्छिन्, ‘विदेशिएको भाइ र यही भएको दाजु एकैसाथ भएर तिहार मनाउने कहिले होला ? त्यही समयको प्रतीक्षामा छु ।’
कोटेश्वर बस्ने गंगा कोइरालाले भने २ वर्षअघि विदेशिएका दुई दाजुको महिमा टाढिएपछि झनै गाढा भएको सुनाइन् । रोजगारीका सिलसिलामा दुवै दाजु कतारमा छन् । उनीहरूले हरेक तिहारमा बिहिनीको सम्झनामा तिहार दक्षिणा अथवा केही न केही उपहार पठाएकै हुन्छन् । कोइरालाले खाडी मुलुक पुगेका २ दाजुप्रति माया भाव दर्शाउँदै भनिन्, ‘उहाँहरू यहाँ भइदिएको भए देउसीभैलो खेल्न पाउने थियौँ भन्ने लाग्छ ।’
वैदेशिक रोजगारको सामाजिक संरचना र मनोविज्ञानलाई समेत प्रभाव पारेको समाजशाास्त्रीहरू बताउँछन् । समाजशास्त्री डा मीना पौडेलका अनुसार वैदेशिक रोजगारले जसरी समाजमा आर्थिक क्षेत्रमा रेमिट्यान्स भित्र्याएर योगदान दिएको छ । जस्तै, वैदेशिक रोजगारीमा जाने संस्कृतिले सामाजिक सद्भाव र पर्वको महत्वमा थप उचाइ थपेको छ । विदेशमा भएका र स्वदेशमा भएका दुवैले आत्मीय सम्बन्ध बोध गराउने समाजशास्त्री पौडेलको धारणा छ ।
उनी भन्छन्, ‘वैदेशिक रोजगारले सामाजिक मूल्य, मान्यता र संस्कृति जर्गेनाको भूमिका पनि खेलेको छ ।’ यसलाई उहाँले सामाजिक पुँजी भनेर सम्बोधन गर्न उपयुक्त हुने बताउँछन् । आर्थिक रेमिट्यान्स भित्राएझैँ, वैदेशिक रोजगारले सामाजिक मूल्य र मान्यताको पुँजीमा पनि इँटा थप्ने काम गरेको छ भन्ने उनको बुझाइ छ ।
वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या ८ लाख ३३ हजार पुगेको छ । गत वर्षको तुलनामा यस वर्ष १ लाखले बढेको छ । आव २०८०/८१ को तथ्यांक हेर्ने हो भने, सात लाख ३९ हजार ४९ पुरुष र ९३ हजार महिला वैदेशिक रोजगारमा गएको सरकारी तथ्यांक छ ।









प्रतिनिधिसभा निर्वाचनका लागि १०७ चुनाव चिह्न तय, कुन दललाई के ?
कांग्रेस कास्की–१ मा उम्मेदवार प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ १२ र समानुपातिकमा ८ जनाको दाबी
गोरखा–२ बाट पूर्वउपरथी बाबुराम श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिने
प्रेमराजको ‘एक्लो रात’ सार्वजनिक, भाषाविद् उपाध्यायले गरे विमोचन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया