
जोमसोम । यसवर्ष तिहारको भाइटीका सकिएलगत्तै हिमालपारिको जिल्ला मुस्ताङमा अनपेक्षित रूपमा पर्यटकको आगमन बढ्दा यहाँको पर्यटन व्यवस्थापनमा निकै चुनौती थपिएको छ। बर्खायामको भेल जस्तै एकैसाथ पर्यटकहरू मुस्ताङ ओइरिँदा यहाँको पर्यटन व्यवस्थापन अस्तव्यस्त बनेको छ।
विगतका वर्षहरूमा दसैँ, तिहार र छठ पर्व लगायतमा आन्तरिक पर्यटकको आगमन उल्लेख्य हुने गर्थ्यो। तर यसवर्ष युवाहरूको जेन्जी आन्दोलनले उत्पन्न परिस्थिति र प्रतिकूल मौसमका कारण यहाँको पर्यटन व्यवसाय खासै चलायमान नहुने अनुमान यहाँका पर्यटन व्यवसायीले गरेका थिए। देशको विषम परिस्थिति र सबै क्षेत्रको व्यवसाय धराशायी भइरहेको हुँदा नेपालीहरूको आम्दानी नहुने र आम्दानी नहुने भएपछि घुमफिर गर्ने योजनाहरू पनि रोकिने बुझाइ उनीहरूमा थियो।
तर, पर्यटन व्यवसायीको यो पूर्वानुमान गलत साबित भयो। बिहीबारको तिहारको भाइटीका सकिएलगत्तै शुक्रबार र शनिबार मुस्ताङमा पर्यटकको बाढी नै आयो, जुन आइतबार बिहानसम्म कायमै छ। यहाँका पर्यटन व्यवसायीले यो कल्पनासम्म पनि गरेका थिएनन्।
सडक सञ्जालले ल्याएको पर्यटनको नयाँ उभार
यो हिमताल र हिमनदी पग्लिएर आएको बाढी थिएन, न त बर्खायामको नियमित भेलबाढी नै। यो त मुस्ताङको सडक विकासले ल्याइदिएको पर्यटन क्षेत्रको नयाँ उभार थियो। मुस्ताङ जिल्ला देशका सात प्रदेशका ७५३ वटै स्थानीय तहका पर्यटकीय गन्तव्यमध्ये अग्रस्थानमा पर्छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले मुस्ताङ उपत्यकालाई घुम्नै पर्ने सूचीमा पारेपछि मुस्ताङको पर्यटन क्षेत्रमा नयाँ आयाम नै थपिएको छ।
शुक्रबारदेखि राष्ट्रिय गौरवको निर्माणाधीन बेनी-जोमसोम-कोरला सडकमार्गमा सवारी साधनका लस्करले सडकमार्ग पुरै ढाकिएको थियो। म्याग्दी खण्डमा आधाजसो सडक कालोपत्र भएको छ भने आधाजसो सडक ग्राभेल छ। म्याग्दी र मुस्ताङको सीमाना घाँसादेखि मुक्तिनाथसम्मको सडकमा ९५ प्रतिशत सडक कालोपत्र भइसकेको छ। कागबेनीदेखि कोरला नाकासम्मको सडक ग्राभेल भए पनि सवारी साधनका लागि आवतजावतमा निकै सहज भइसकेको छ। कोरला सडकका अधिकांश शाखानदीहरूमा पुलपुलेसाहरू निर्माण भइसकेकाले पोखरा, काठमाडौँ लगायतका सहरबाट मुस्ताङ आउजाउ गर्न कुनै समस्या छैन।
उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडकमार्गको तीव्र गतिको विकासले पर्यटकको ध्यान मुस्ताङतर्फ केन्द्रित भएको छ। बडा दसैँ, चैत दसैँ, औँसी र महत्त्वपूर्ण चाडपर्वहरूमा आन्तरिक पर्यटकहरूका लागि मुस्ताङ घुमफिरको केन्द्र बनेको छ। यसैका कारण तिहारको भाइटीका सकेर मुस्ताङ हानिएका पर्यटकको चापले बेनी-जोमसोम सडकमार्ग र मुस्ताङको ट्राफिक व्यवस्थापन गर्न सुरक्षा निकायलाई निकै हम्मेहम्मे पर्यो। बेनी-जोमसोम सडकमार्गको म्याग्दी खण्डका केही स्थान र काभ्रेभीर लगायतका सडकमा सवारी साधनको लस्करले पर्यटकहरूलाई गन्तव्यतर्फ प्रस्थान गर्न घण्टौँ समय लाग्यो।
म्याग्दी र मुस्ताङको सीमाना प्रहरी चौकी घाँसामा मुस्ताङ भित्रिने सवारी साधन र पर्यटक यात्रुको विवरण सङ्कलन गर्ने गरिन्छ। मुस्ताङ भित्रिएका सवारी साधन र यात्रुहरूको विवरण सङ्कलन गर्न त्यहाँ ड्युटीमा खटिएका प्रहरीहरूलाई निकै गाह्रो पर्यो। मुस्ताङ प्रहरीका अनुसार यो अहिलेसम्मकै ठूलो संख्यामा सीमित समयमा सवारी साधन र यात्रु पर्यटकहरू मुस्ताङ भित्रिएको दाबी गरिएको छ। भाइटीकापछि औसत ८ हजारको संख्यामा पर्यटकहरू मुस्ताङ भित्रिएको बताइएको छ।
आवास र सेवामा चुनौती
बर्खायामको भेल जस्तै मुस्ताङमा पर्यटकहरू एकैसाथ ओइरिँदा पर्वतको कुश्मादेखि मुस्ताङको कोरला नाकासम्मका होटलहरू पर्यटकहरूले भरिभराउ भए। यहाँ आएका पर्यटकमध्ये ९९ प्रतिशत आन्तरिक र १ प्रतिशत विदेशी पर्यटक मुस्ताङ भित्रिएको पाइएको छ। मुस्ताङ घुम्न आइपुगेका पर्यटकहरू कतिपयले पहिल्यै होटल बुकिङ गरेर आएका थिए भने कतिपय होटल बुकिङ नगरी आफ्नै तरिकाले मुस्ताङ घुम्न आउँदा पर्यटन व्यवस्थापनमा समस्या र चुनौतीहरू देखा परेको मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष राजुप्रसाद लालचनले जानकारी दिए। अध्यक्ष लालचनले तिहारपछि मुस्ताङका होटलहरू बिहानैदेखि भरिभराउ भएकाले पर्यटकहरूलाई आवासको समस्या देखिएको बताए।
मुस्ताङमा यतिका संख्यामा पर्यटकहरू एकैसाथ ओइरिन्छन् भन्ने न त यहाँ आइपुगेका पर्यटकहरूले कल्पना गरेका थिए, न त यहाँका स्थानीय प्रशासन, प्रहरी, जनप्रतिनिधि र पर्यटनसँग सम्बन्धित संघसंस्थाहरूले नै। आखिर भइदियो त्यस्तै। तिहार सकेर मुस्ताङमा घुम्न र रमाइलो गर्न आएका कतिपय पर्यटकहरूको बसाइ सुखद रहेन। खल्तीमा पैसा भएर पनि यहाँ आइपुगेका पर्यटकहरूले न राम्ररी सुत्ने आवास सुविधा पाए, न त राम्ररी खाने सुविधा नै पाए।
काठमाडौँबाट मोटरसाइकल चढेर मुस्ताङ घुम्न आइपुगेका मन श्रेष्ठसहित चार जनाको टोली कोरला नाका जाने योजना बनाएर शनिबार जोमसोम आइपुग्यो। बिहान १० बजे जोमसोम आइपुगेका उनीहरू होटलमा कोठा खोज्न भौँतारिए। यतिन्जेलसम्म मुस्ताङका होटलहरू पर्यटकहरूले खचाखच भरिएको थियो। जोमसोम, कागबेनी, मार्फा लगायतका स्थानमा होटल खोज्दा समेत आवास बस्ने होटलहरू भेटिएनन्। मुस्ताङमा घुम्न र रमाउन आएका उनीहरू आवास नपाउने देखिएपछि निराश बने। ‘दुई-चार पैसा बढी तिरौला बरु हामीलाई होटल खोजिदिन पर्यो’ भन्दै उनीहरूले स्थानीय पत्रकार मनिता थकाली समक्ष अनुरोध गरे। पत्रकार थकालीले सामाजिक सञ्जालमा होटल नपाएको र कहीँ कतै खाली भएमा सूचना दिनुहोला भनी पोस्ट गरेपछि एक सामान्य स्तरको होटलमा जसोतसो व्यवस्था मिलाइयो।
यसैगरी, पोखराबाट झन्डै चालीस जना विद्यार्थीहरू लिएर मुस्ताङ घुम्न आएको टोली समेत साँझ जोमसोममा आवास नपाउँदा बिचल्लीमा पर्यो। यो त प्रतिनिधिमूलक घटना थियो। मुस्ताङमा होटलहरूमा आवास नपाएपछि कतिपय पर्यटकहरूले सवारी साधनमा रात कटाए। जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी प्रमुख डिएसपी छिरिङ किप्पा लामाले तिहारपछि ठूलो संख्यामा पर्यटकहरू मुस्ताङ ओइरिँदा होटल व्यवस्थापनमा समस्या परेको बताए। डिएसपी लामाका अनुसार बुकिङ नगरी मुस्ताङ आएका पर्यटकहरूले आवास नपाउँदा यहाँका धर्मशाला, समाजघर र होमस्टे लगायतमा लगेर राखिएको बताए।
यसैगरी, होटल बुकिङ नगरी उपल्लो मुस्ताङको भ्रमण गर्न गएका एक बस टोलीलाई लोमान्थाङस्थित आमा समूहको भवनमा लगेर राखिएको डिएसपी छिरिङ किप्पा लामाले जानकारी दिए। कोरला नाका अवलोकन गरी जोमसोम फर्किँदै गरेको अर्को एक गाडी बिच बाटोमै बिग्रिएपछि बिचल्लीमा परेका पर्यटकहरूलाई छुसाङस्थित स्थानीयहरूको घरघरमा लगेर राखिएको डिएसपी लामाको भनाइ छ।
मनमानी शुल्क र भावी समाधान
जिल्ला प्रहरी कार्यालय मुस्ताङ र यहाँका सरोकारवाला निकायहरूले दसैँ, तिहार र छठ पर्वको बेलामा मुस्ताङ घुम्न आउँदा अनिवार्य होटल बुकिङ गरेर मात्रै आउन पर्यटकहरूलाई सुझाएका छन्। होटल बुकिङ नगरी आउँदा आवास नपाइने र होटल तथा बिचौलियाहरूबाट ठगिन सक्ने भएकाले मुस्ताङ भ्रमण गर्दा होटल बुकिङ गरे मात्रै यात्रा सहज हुने उनीहरूले जनाएका छन्। मुस्ताङमा पर्यटकको चाप बढेपछि यहाँका कतिपय होटलहरूले मनोमानी रूपमा पर्यटकहरूलाई खान र बस्नमा चर्को मूल्य लिएको गुनासो समेत गरिएको छ। पर्यटकहरूले मुस्ताङ महँगो भएको र व्यवसायीहरूले पर्यटकहरूलाई मनोमानी पैसा असुल्ने गरेको गुनासो लेखेर सामाजिक सञ्जालमा समेत सार्वजनिक गर्ने गरेको पाइएको छ।
मुस्ताङ उद्योग वाणिज्य संघले पर्यटकहरूलाई जथाभावी पैसा नलिन र उपयुक्त सेवा सुविधा तथा सुहाउँदो पैसा लिन समेत आग्रह गरेको छ। पर्यटकहरू सधैँका पाहुना भएकाले व्यवसाय एकपटकको मात्रै नभई सधैँका लागि भएकाले मुस्ताङको बदनाम हुने गरी व्यवसाय सञ्चालन नगर्न अनुरोध गरेको छ। मुस्ताङमा सञ्चालित होटलहरू ८ हजार पर्यटक थेग्न नसकिएपछि विशेष चाडपर्वको बेला वैकल्पिक व्यवस्था अपनाउनुपर्ने आवाज उठ्न थालेको छ। यहाँका गाउँगाउँमा समुदायहरूको समाजघर र सार्वजनिक भवनहरू खाली हुने भएकाले पर्यटकहरूलाई अप्ठ्यारो पर्दा त्यहाँ राख्ने व्यवस्था मिलाउन सकेमा पर्यटकहरूलाई परेको पिरमर्का समाधान गर्न सकिने अवस्था रहेको सरोकारवालाहरूको भनाइ छ।
मुस्ताङका पाँच स्थानीय तहमा साना ठूला गरी ३२५ वटा होटलहरू सञ्चालनमा रहेको प्रहरीले जनाएको छ। एक वर्षअघिको यो तथ्यांकमा केही नयाँ होटलहरू थपिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले बताएको छ। यहाँको लोमान्थाङ गाउँपालिकामा २०, लोघेकर दामोदरकुण्डमा ३०, बारागुङ मुक्तिक्षेत्रमा ६३, घरपझोङ गाउँपालिकामा १६३ र थासाङ गाउँपालिकामा ४९ वटा होटलहरू सञ्चालनमा रहेको डिएसपी छिरिङ किप्पा लामाले बताए। यहाँ सञ्चालनमा रहेका होटलहरूमध्ये ९० प्रतिशत राष्ट्रिय राजमार्गमा रहेको र १० प्रतिशत होटल राजमार्गभन्दा बाहिर रहेको जनाइएको छ।
सामान्य अवस्थामा पर्यटक व्यवस्थापनमा खासै अप्ठ्यारो नपर्ने भए पनि मुख्य चाडपर्वहरूमा यहाँका होटलहरूको संख्या अपुग हुने भएकाले पर्यटकहरू मुस्ताङ भ्रमण गर्न आउँदा यहाँको वस्तुस्थिति बुझेर मात्रै आउन प्रहरीले अनुरोध गरेको छ।
धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा मुक्तिनाथ मन्दिरको दर्शन पहिलो प्राथमिकतामा पर्छ। यहाँ आइपुगेका पर्यटकहरूले मुक्तिनाथ मन्दिरको दर्शन गरी कोरला नाका, लोमान्थाङ दरबार, छोसेर गुफा, चिउँसी गुफा, चराङ गुम्बा, मराङ गुम्बा, कागबेनी, ढुम्बाताल र मार्फा गाउँको भ्रमण गर्ने गरेको पाइएको छ। धार्मिक, सांस्कृतिक र जैविक विविधताले भरिपूर्ण मुस्ताङको पृथक भूगोल अवलोकन गरेर पर्यटकहरू यहाँबाट फर्किने गरेको पाइएको छ। यहाँ वर्षेनि ८ लाख बढी आन्तरिक र १ लाख ५० हजार बढी विदेशी पर्यटकले मुस्ताङको भ्रमण गर्ने गरेको पाइएको छ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङले तिहारको भाइटीकापछि मुस्ताङमा पर्यटकको चाप नरोकिएको जनाएको छ। म्याग्दी र मुस्ताङ सीमानामा पर्यटकको विवरण सङ्कलन गर्न तीन जना जनशक्ति खटिएको जनाएको छ। आइतबार पनि मुक्तिनाथमा दर्शनार्थीको संख्या बाक्लो रहेको त्यहाँ कार्यरत समितिका कर्मचारी रविन सुवेदीले जानकारी दिए। यहाँ दर्शन तथा स्वास्थ्य सुरक्षा र अन्य सुरक्षा व्यवस्थापनका लागि आवश्यक जनशक्ति परिचालन भइरहेको उनले बताए।
दसैँ, तिहार लगायतका चाडपर्वको लामो बिदाको अवसरमा स्कुल, कलेजका विद्यार्थी, युवा-तन्नेरी, कर्मचारी, बैंक तथा वित्तीय संस्था र चाडपर्व मनाउन स्वदेश फर्किएका नेपालीहरू मुस्ताङ घुम्न आएका बताइएको छ। मुस्ताङमा चिसो बढेकाले पर्यटकहरू बिरामी परेर अस्पताल भर्ना हुनेको संख्या बढे पनि हालसम्म कसैको ज्यान नगएको मुस्ताङस्थित प्रदेश अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. समिक्षा कडेलले जानकारी दिइन्। तिहारपछि करिब २ हजार पर्यटकहरूले अस्पतालबाट स्वास्थ्य सेवा लिएर फर्किएको उनले जानकारी दिइन्।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया