सम्पादकीय—युवाको अर्थपूर्ण सहभागिता

नेपालको कुल जनसंख्याको करिब ४० प्रतिशत हिस्सा ओगट्ने युवाशक्ति राष्ट्रको सबैभन्दा ऊर्जाशील र सिर्जनशील सम्पत्ति हो । तर, विडम्बना यो छ कि देशको नीति निर्माणदेखि कार्यान्वयन तहसम्म, अर्थात् राज्यका हरेक निकायमा यही युवाको उपस्थिति र सहभागिता अत्यन्तै न्यून र फितलो देखिन्छ । हालै जेन्जी पुस्ताको प्रदर्शनसँगै युवा सहभागिताको बहसले पुनः एकपटक जोडदार चर्चा पाएको छ, जसले राज्य सञ्चालनका हरेक तहमा युवाको हस्तक्षेपकारी र नेतृत्वदायी भूमिकाको अपरिहार्यतालाई उजागर गरेको छ ।
अघिल्लो सरकारको पालामा पारित ‘राष्ट्रिय युवा नीति–२०८२’ ले युवाको उमेर समूह १८ देखि ३५ वर्ष तोक्दै उनीहरूको सर्वागिंण विकास, उद्यमशीलता र राष्ट्र निर्माणमा सार्थक सहभागिता बढाउने लक्ष्य राख्नु स्वागतयोग्य कदम हो । नीतिले स्वस्थ, शिक्षित, सिर्जनशील र प्रविधिमैत्री युवा तयार गरी राष्ट्रिय विकासमा परिचालन गर्ने जुन ध्येय लिएको छ, त्यसले कागजमा एउटा सुन्दर भविष्यको चित्र कोरेको छ । तर, जब हामी राज्यका नीति निर्माण तह, राजनीतिक संयन्त्र र प्रशासनिक निकायहरूमा युवाको उपस्थितिलाई नियाल्छौं, तब यो चित्र र यथार्थबीचको खाडल अत्यन्तै फराकिलो देखिन्छ ।
विडम्बना यो छ कि, देश युवाको बाहुल्यताले भरिएको छ, तर देश चलाउने संयन्त्रहरू भने पुरानै पुस्ताको नियन्त्रण र सोंचको संकुचित घेराबाट बाहिर निस्कन सकेका छैनन् । हालैका दिनमा ‘जेन–जी’ पुस्ताले सडकमा देखाएको स्वतःस्फूर्त प्रदर्शनले राज्य र युवाबीच बढ्दो दूरीलाई मात्र संकेत गर्दैन, बरु परम्परागत शक्ति र संरचनाप्रति उनीहरूको अविश्वास र आक्रोशलाई पनि उजागर गर्दछ । युवा नीतिले उद्यमशीलता, स्टार्टअप, सहुलियतपूर्ण कर्जा र सीपमूलक तालिमको व्यवस्था गरेर युवालाई आत्मनिर्भर बनाउने परिकल्पना गरेको छ । तर, जबसम्म नीतिगत निर्णय प्रक्रियामा युवाको अर्थपूर्ण हस्तक्षेप हुँदैन, तबसम्म बन्ने कार्यक्रमहरू उनीहरूको वास्तविक आवश्यकता र आकांक्षाभन्दा टाढा हुने जोखिम रहन्छ ।
राष्ट्र निर्माण केवल भौतिक विकास मात्र होइन, यो वैचारिक र सामाजिक रूपान्तरणको प्रक्रिया पनि हो । आज देशले भोगिरहेको बेथिति, भ्रष्टाचार र अराजकताको चक्रव्यूह तोड्न युवाको नवीन सोच, साहस र नैतिक नेतृत्व अपरिहार्य छ । धार्मिक ग्रन्थमा वर्णन गरिएझैँ कुनै अवतारी पुरुष वा चलचित्रको नायकले देशलाई संकटबाट मुक्ति दिँदैन । यो जिम्मेवारी काँधमा बोक्ने हरेक युगमा युवा पुस्ता नै हो । उनीहरूमा रहेको अनुसन्धान, अन्वेषण र प्रविधिप्रतिको लगावलाई राज्य सञ्चालनका हरेक तहमा उपयोग गर्न नसक्नु राष्ट्रकै लागि दुर्भाग्य हो ।
तसर्थ, ‘राष्ट्रिय युवा नीति–२०८२’ को सफल कार्यान्वयनको पहिलो शर्त नै राज्यका हरेक निकायमा युवाको सहभागिता सुनिश्चित गर्नु हो । यो सहभागिता केवल संख्यात्मक वा सजावटी मात्र नभएर निर्णायक र अर्थपूर्ण हुनुपर्छ । नीतिले कोरेको मार्गचित्रमा हिँड्नका लागि राज्यले युवालाई अवसरको ढोका खोल्नैपर्छ भने युवाहरूले पनि सडकमा मात्रै होइन, नीति निर्माणको टेबलमा आफ्नो स्थान खोज्न संगठित र जागरुक हुनुपर्छ । अन्यथा, उत्कृष्ट नीतिहरू बन्ने तर तिनको लाभ लक्षित वर्गसम्म नपुग्ने पुरानै रोग दोहोरिइरहनेछ र नेपालले आफ्नो सबैभन्दा ठूलो सम्पत्ति अर्थात् युवाशक्तिको ऊर्जालाई खेर फालिरहनेछ ।







मुक्तिनाथ नजिकै बनाएको हाइअल्टिच्युड केन्द्र बेकामे
पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया