मुक्तिनाथ दर्शन

२९ असोजको बिहान, विद्यालयका ३३ जना शिक्षक र कर्मचारीले भ्रमणको सुरुआत गर्दा चिसो हावा हल्का बगिरहेको थियो । आकाश नीलो र सुनौलो रङले रंगिएको थियो । मेरो मनमा यो नयाँ अनुभव र सम्झनाहरूको अध्याय लेख्ने शुभ संकेतझैँ लागिरहेको थियो ।
हिमाली जिल्लाको यात्रा भएको हुँदा साथीहरूमाझ लेक लाग्ने डरत्रास र आफूले भोगेका अनुभवहरू सुनाउँदै, रमाइला कहानीहरू भन्दै हाम्रो यात्रा अगाडि बढिरहेको थियो । ’मुटु छुने लुम्लेको हावाले’ बोलको गीतमा लय मिलाउँदै लुम्लेमा गएर तातो चियाको चुस्की लियौँ ।
हिमाली जिल्लाको यात्रा भएकाले साथीहरूबीच लेक लाग्ने डर र त्यससँग सम्बन्धित आफ्ना पुराना अनुभव साझा गर्ने क्रम चलिरहेको थियो । कसैले हास्यरसका कुरा गरिरहनुभएको थियो, कसैले आफ्ना रमाइला घटना सुनाइरहनुभएको थियो । यात्राको माहोल उत्साहपूर्ण र जीवन्त बन्दै गइरहेको थियो । ‘मुटु छुने लुम्लेको हावाले’ बोलको गीतमा सबैले स्वर मिलाउँदै, हामी लुम्ले पुग्यौँ र त्यहाँको तातो चियाको चुस्कीले बिहानको चिसो हटायौँ ।
पोखराबाट झन्डै ११० किलोमिटरको यात्रापछि म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा रहेको रूप्से झरनामा पुग्यौँ । बिचमा गलेश्वर धामको दर्शन गरिसकेका थियौं । समुद्र सतहदेखि करिब १८०० मिटर उचाइमा अवस्थित रूप्से झरना नाम सुन्नासाथै मनमा एक किसिमको चन्चलता जाग्यो । रूप्से पुग्ने बित्तिकै टाढाबाटै सुनिन्थ्यो झरनाको गर्जन, जसले यात्राको थकान पलभरमै हराइदियो । पहाडको काखबाट गर्जँदै बग्ने सेतो पानी, अनि सडक किनारमै उभिँदा अनुहारमा ठोक्किने स–साना पानीका थोपा, त्यो क्षण यति जीवन्त थियो कि लाग्थ्यो, प्रकृतिले आफैँले स्वागत गरिरहेकी छिन् ।
वरपरका हरियाली, ठुला ढुंगामाथि ठोकिएर तल झर्ने पानीको चमक, अनि शीतल हावासँग मिसिएको पानीको फुहार— सबैले मिलेर एक अद्भुत दृश्य कोरेका छन् । रूप्से झरनाको सुन्दरता शब्दमा बयान गर्न कठिन छ । यो त अनुभूति गर्नुपर्ने स्थल हो, जसले यात्रुलाई क्षणभरका लागि प्रकृतिसँगै विलीन गरिदिन्छ । यही मनमोहक दृश्यलाई केही समय मन र फोटोमा कैद गरेर हामी मुस्ताङतर्फ अगाडि बढ्यौँ ।
बाटोमा पर्ने लेते, मार्फा, जोमसोम, कागबेनी, छुसाङ जस्ता सुन्दर ऐतिहासिक स्थलहरूको दृश्यावलोकन गर्दै करिब २१३ किलोमिटरको यात्रापश्चात् स्याङबोचेमा गएर बास बस्यौँ ।
९०० मिटरको उचाइबाट सुरुभएको हाम्रो यात्रा लगभग ३८०० मिटरमा पुगेर विश्राम लियो । एक्कासि धेरै उचाइमा पुगेको हुँदा केही साथीहरूमा रिंगटा लाग्ने, टाउको दुख्ने, खाना खान मन नलाग्ने जस्ता समस्याहरू देखापरे । विभिन्न घरेलु तथा एलोपेथिक औषधिको सहायताले उहाँहरूलाई सहजीकरण गरियो ।
स्याङबोचेको विश्रामका क्रममा हाम्रो यात्राको अर्को रमाइलो पाटो पनि जोडियो । यात्रामा सँगै रहनुभएका हामी सबैका प्रिय पात्र, सहायक प्र.अ. वासुदेव अधिकारी सरको शुभजन्मोत्सव त्यही रात मनाइयो । स्थानीय उत्पादन र संस्कृतिको प्रवद्र्धन गर्दै तयार गरिएको स्याउ र तिब्बती परिकारका साथ जन्मोत्सवको माहोल झन् उल्लासमय बन्यो ।
प्रकृतिको साक्षात्कार, धार्मिक आस्था र साथीहरूबीचको आत्मीय सम्बन्धले यो मुस्ताङ भ्रमण हाम्रो जीवनकै यादगार अध्याय बन्यो
गीत–संगीत, हाँसो–ठट्टा र आत्मीयताले भरिएको त्यो रात हाम्रो यात्राको अविस्मरणीय स्मृति बन्यो । सबै जना खुसीका साथ शुभकामना साट्दै सुत्यौँ ।
दिनभरको थकान र अत्यन्त चिसो वातावरणका कारण हाम्रो कोठामा रहेका कुनै पनि साथीहरू राम्रोसँग निदाउन सकेनौँ । जतिसुकै प्रयत्न गरे पनि निद्रा लागेन । नाक पोल्ने, ओठ र मुख सुक्ने समस्या देखा प¥यो । रातको करिब १ बजे तातोपानीको अत्यावश्यकता महसुस भयो । अन्जान ठाउँ, त्यो पनि मध्यरात कतै पानीको व्यवस्था नहुँदा हामी अलि आत्तियौँ । प्रिय मित्र नारायण लामिछानेले होटलका मालिकलाई उठाउन लाग्नुभयो ।
सुरुमा होटलका साहुले उहाँलाई झपारे, तर उहाँको वाक्पटुता र मधुर स्वरको अगाडि होटल साहुको मन पग्लियो । अन्ततः तातोपानीको व्यवस्था भयो । तातोपानी पिएपछि सबैको असहजता कम भयो । वास्तवमा, यात्रामा साथीहरू हुनु मात्र ठूलो कुरा होइन । यात्रामा सँगै रहेका साथीहरूबीचको आपसी सहयोग र माया नै साथित्वको साँचो अर्थ रहेछ, जसले कहिल्यै नबिर्सिने आत्मीयताको प्रादुर्भाव गरिदियो ।
दोस्रो दिनः लोमान्थाङको बास
स्थानीय चाउमिनबाट बनेको अत्यन्त स्वादिष्ट थुक्पाको स्वाद लिएर हाम्रो यात्रा नेपाल–चीनको नाका कोरोलातर्फ अघि बढ्यो । बाटोमा देखिने मनमोहक दृश्यहरू अवलोकन गर्दै करिब १२ बजेतिर हामी कोरोला पुग्यौँ । समुद्र सतहदेखि ४ हजार ६ सय ५० मिटर उचाइमा मुस्ताङको उपल्लो भेगमा अवस्थित कोरोला नाका नेपाल–चीन सीमाको २४ नम्बर सीमास्तम्भ रहेको फराकिलो पठार रहेछ ।
चीनतर्फ पक्की संरचना बनेका भए पनि नेपालतर्फ भने नेपाली सुरक्षाकर्मीका लागि अस्थायी आश्रयस्थल मात्र तयार गरिएको रहेछ । भन्सार कार्यालय करिब १२ किलोमिटर तल नेचुङमा नै रहेछ । कोरोला नाकामा चिनियाँ भन्सारको आमनेसामने हुने गरी पूर्वाधार निर्माणका लागि करिब एक हजार रोपनी जग्गा अधिग्रहण गरिएको भनिए पनि आवश्यक पूर्वाधार भने अहिलेसम्म निर्माण गरिएको देखिएन ।
स्थानीयहरूले व्यापारका लागि पाल टाँगेर अस्थायी पसल सञ्चालन गरिरहेका रहेछन् । उनीहरूका अनुसार उपल्लो मुस्ताङका लोमान्थाङ र लोघेकर–दामोदरकुण्ड गाउँपालिकाका बासिन्दालाई परिचयपत्रका आधारमा तिब्बततर्फ करिब ३० किलोमिटर दूरीसम्मका बजारमा आवतजावत गर्ने छुटको व्यवस्था गरिएको रहेछ ।
चीनतर्फ बजार अत्यन्त व्यवस्थित भए पनि नेपालतर्फ पानीको अभावका कारण त्यहाँको जनजीवन अत्यन्त कष्टकर देखिन्थ्यो । त्यहाँको तीव्र र चिसो हावाले लामो समय बस्ने इच्छा भए पनि सम्भव भएन । केही किनमेल र तातो चियाको चुस्कीसँगै हामी कोरोला नाकाबाट लोमान्थाङतर्फ फर्कियौँ ।
कोरोलाबाट फर्किँदै गर्दा ल्होमन्थाङ गाउँपालिका–१ को छोसेर गाउँमा अवस्थित जोङ गुफा (स्थानीय भाषामा ’सिजा जोङ’) गुफाको अवलोकन गर्यौँ । यो नेपालको सबैभन्दा पुरानो मानवनिर्मित गुफामध्ये एक रहेछ । समुद्री सतहदेखि करिब तीन हजार ७८५ मिटर उचाइमा रहेको यो गुफा अवलोकन गर्दा प्राचीन मानव सभ्यताको झल्को दियो ।
गुफाको प्रवेशद्वार जमिनभन्दा माथि रहेका कारण भित्र प्रवेश गर्न पहाड चढ्नुपर्यो । यो गुफा करिब १५५ फिट अग्लो चट्टानमा खोपिएको रहेछ । जोङ गुफा भुइँसहित छ तला भएको यस्तो संरचना रहेछ जसमा करिब ५० वटा कोठा रहेछन् । हरेक तलाको बिचमा बाटो र दायाँबायाँ कोठा रहेछन् ।
एक तलाबाट अर्को तलामा जान काठका भर्याङ प्रयोग गरिएको रहेछ । गुफाभित्र बत्ती बाल्ने ठाउँ, सामग्री भण्डारण गर्ने स्थान र विभिन्न कलाकृति देख्न सकिन्छ । यहाँका कोठामा धुवाँ लागेका भित्ता र सामग्री भण्डारण गर्ने ठाउँ देखिएकाले यो गुफाले कुनै समय दीर्घकालीन बसोबासका लागि प्रयोग भएको प्राचीन जीवनशैलीको संकेत दिन्छ । छोसर गुफाको नजिकै अर्को झोङ गुफा (व्जयलन ऋबखभ), गर्फु र निफु गुम्बा रहेछन् तिनीहरूलाई हामीले टाढाबाट नै हेरेर फर्कियौँ ।
लोमान्थाङ दरबार क्षेत्रमा झरेपछि स्थानीयहरूले वर्णन गरेअनुसार स्थानीय भाषामा जोङ गुफालाई सिजा जोङ भनिने रहेछ । जसको अर्थ ’राजाको गुफा’ वा ’गोप्य दरबार’ भन्ने हुँदो रहेछ । स्थानीयको अनुसार मुस्ताङ राज्यमा बाह्य आक्रमण (विशेषतः तिब्बती आक्रमण) बढेपछि राजा र बासिन्दाले यो गुफालाई गोप्य र सुरक्षित बस्तीको रूपमा विकास गरेका थिए रे ।
गुफाभित्रका कोठा, भण्डारण कक्ष र चुलोको अवशेषले के देखाउँछ भने यहाँ लामो समयसम्म बाँच्न सकिने तयारी थियो ।
गुफाको भ्रमणपछि हामी पहिले नै बुकिङ गरेको साङ्ग्रिला गेस्टहाउस पुग्यौँ । कोरोलाबाट फर्किँदा भएको जाडोलाई कार्सुङ बिष्ट र गंगा कार्कीले पस्किएको मिठो चियाले तुरुन्तै भगाइदियो । विवाह योग्य उमेरका उहाँहरूसँग नाम जोडेर अविवाहितलाई साथीहरूले अलिकति जिस्काउनुभयो ।
होटलका सञ्चालक कार्सुङ बिष्टकी आमाले ’घरज्वाइँ नै बस्ने हो भने विवाह गराइदिने’ भन्नुभयो, जसले केही समयका लागि निकै रमाइलो माहोल सिर्जना ग¥यो । चियापानपछि हामी लोमान्थाङ दरबार क्षेत्रको भ्रमणका लागि निस्कियौँ ।
नीलगिरि र धौलागिरि हिमशृङ्खलाको बिचमा रहेको ढुंगा र माटोबाट निर्मित विशाल पर्खालले घेरिएको ठूलो बस्ती र बस्तीको बिच भागमा सुन्दर दरबार । मुस्ताङको लोमान्थाङ राजदरबार कुनै समय निकै शक्तिशाली र त्यस क्षेत्रका मानिसहरूको आस्थाको केन्द्र थियो भन्ने सुनेका हामीलाई निकै उत्साहित तुल्यायो । त्यही शक्तिकेन्द्र कालान्तरमा कमजोर मात्रै होइन मानिसविहीन बनेको रहेछ ।
६ सय वर्षअघि सैनिकहरूले पहरा दिइरहने दरबारको रक्षा यतिबेला एउटा डरलाग्दो भोटे कुकुरले गरिरहेको झैँ देखियो । १५औँ शताब्दीमा माटो, ढुंगा र दाउराले बनेको यो दरबारलाई स्थानीयहरू टास्सी ध्याफेल दरबार भन्दा रहेछन् । जसको अर्थ ’भाग्यमानी दरबार’ भन्ने हुँदो रहेछ ।
तत्कालीन समयमा यहाँका पहिलो राजा आमेपालले बाहिरी आक्रमणबाट बच्न नौ मिटर अग्लो र ५६३ मिटर लामो पर्खाल निर्माण गर्नुभएको इतिहास रहेछ । दिनभरि खुला हुने दरबार साँझ बन्द गरिन्थ्यो रे । यही बन्द पर्खालभित्र जनताका घर, गुम्बा र बिच भागमा काँचो माटोले बनेको भव्य दरबार अझै देख्न सकिन्छ ।
घुम्दै गर्दा भेटिएका स्थानीयको अनुसार पर्खालभित्र १२८ वटा घर रहेछन् । अचेल पनि दरबार परिसरमा २१ वटा परिवार बसोबास गरिरहेका रहेछन् । बाँकी परिवारहरू त्यहाँबाट बसाइँ सरिसकेका रहेछन् । केही मानिसहरू त्यहीँ पसलहरू सञ्चालन गरेर बसेका रहेछन् भने धेरैले बाहिरी भागमा होटल तथा गेस्टहाउस सञ्चालन गर्दै आएका रहेछन् ।
तत्कालीन समयमा पर्खालभित्र मात्रै घर निर्माण गर्ने चलन रहेछ, त्यसताका पर्खालबाहिर घर बनाउँदा यहाँका राजालाई शत्रुको आक्रमण हुन्छ भन्ने लाग्थ्यो रे । तर, मुलुकमा गणतन्त्र आइसकेपछि पर्खालबाहिर पनि बस्ती विस्तार भइरहेको रहेछ । बस्ती दरबारबाट टाढिँदै गर्दा दरबारको रेखदेखमा पनि कमी आएको रहेछ । यसले दरबार एक्लिँदै गएको भान भयो । स्थानीयले यहाँका अन्तिम राजा जिग्मीपलवर बिस्टलाई हाल पनि निकै श्रद्धापूर्वक नामोच्चारण गर्दा रहेछन् ।
हामी बास बसेको गेस्ट हाउस सञ्चालिका स्थानीय सुन्दर युवती कार्सुङ बिष्टका अनुसार कुल पाँचवटा वडा रहेको लोमान्थाङमा करिब दुई हजार जनसंख्या रहेछ । चौतर्फी माटोको पर्खालले घेरिएको यो बस्ती सुक्खा पहाडको काखमा छ । बस्ती प्राकृतिक सुन्दरताले जति आकर्षक छ, सांस्कृतिक सम्पदाले त्यत्ति नै भरिपूर्ण छ । यहाँका दरबार, गुम्बा, सांस्कृतिक राजा, मुखिया परम्परा, तिब्बती संस्कृतिसँग मिल्दोजुल्दो संस्कार र जीवनशैली लोमान्थाङको पहिचान रहेछ । म जस्तो इतिहास र धर्ममा रुचि राख्नेका लागि विविध कारणले यो क्षेत्र निकै महत्वपूर्ण गन्तव्य रहेछ ।
दरबार क्षेत्रको भ्रमणपछि गेस्टहाउस फर्किएर केही समय सबैजना साथीहरूले रमाइलो नाचगान ग¥यौँ । थकानका बिच पनि संगीत र हाँसोले गेस्टहाउस गुन्जायमान बनायो ।
मासु खाने साथीहरूले स्थानीय च्याङ्राको ’एक खुर’ (अर्थात् च्याङ्राको एकचौथाइ भाग) मासुसँग स्वादिष्ट खाना खानुभयो भने नखाने साथीहरूले मुस्ताङको आलुको तरकारी र स्वादिष्ट दाल–भातको मजा लिनुभयो । पेटभर खानापछि सबैजना आरामको निद्रामा तल्लीन भयौँ ।
तेस्रो दिनः मुक्तिनाथ रानिपौवामा बास
लोमान्थाङमा चियाको चुस्की लिएर हाम्रो यात्रा छुसाङतर्फ अघि बढ्यो । झन्डै चार घण्टाको यात्रापछि छुसाङ आइपुगियो । बिहानको भोजनपछि हामी स्याउको बगैचा घुम्न गयौँ । आफ्नै हातले स्याउ टिपेर खाने अद्वितीय अनुभव सँगाल्ने अवसर प्राप्त भयो । छुसाङमा ताजा स्याउ किनेसँगै हाम्रो यात्रा ढुम्बा तालतर्फ अघि बढ्यो ।
घरपझोङ गाउँपालिका–५ मा अवस्थित ढुम्बा ताल जोमसोम बजारबाट करिब १५ मिनेटको दूरीमा रहेको आकर्षक पर्यटकीय स्थल रहेछ । ताल वरपर भौतिक पूर्वाधार निर्माणसँगै पर्यटकहरूको सुविधाका लागि रेस्टुरेन्टहरू सञ्चालनमा आएका रहेछन् ।
निलो रङमा झल्किने यो ताल मुटु आकारको भएकाले मुस्ताङ भ्रमणमा आएका युवायुवतीहरू यहाँ पुगेर टिकटक बनाउने, फोटो र भिडियो खिच्ने गर्दा रहेछन् । साँच्चै, ढुम्बा ताल प्राकृतिक सुन्दरताको खानीजस्तै लाग्यो ।
तालको प्रवेशद्वारमा रहेका कर्मचारीका अनुसार जोमसोमदेखि ठिनी हुँदै ढुम्बा ताल पुग्ने सडक विस्तार र वरपर पर्यटन पूर्वाधार निर्माण भएपछि पछिल्ला केही वर्षयता ताल अवलोकन गर्ने पर्यटकहरूको संख्या उल्लेख्य रूपमा बढेको रहेछ । उपल्लो मुस्ताङ, कोरोला र मुक्तिनाथ पुग्ने अधिकांश पर्यटकहरू ढुम्बा तालमा पनि पुग्ने रहेछन् ।
समुद्र सतहदेखि करिब तीन हजार मिटर उचाइमा रहेको ढुम्बा तालको लम्बाइ करिब १६० मिटर, चौडाइ १३० मिटर, र गहिराइ १० मिटर जति रहेछ । ताललाई फन्को लगाउन करिब १५ मिनेट समय लाग्दो रहेछ । ताल र त्यससँगै देखिने अन्य मनोरम दृश्यहरूको अवलोकन गर्दै, फोटो र भिडियोमा ती क्षणहरू कैद गर्यौँ । त्यसपछि रानिपौवामा पहिले नै बुकिङ गरेको गेस्टहाउस पुगेर आराम गर्यौँ ।
चौथो दिनः मुक्तिनाथ दर्शन गरेर पोखरा
समुद्र सतहदेखि ३ हजार ६१० मिटरको उचाइमा अवस्थित मुक्तिनाथ मन्दिर हिन्दु र बौद्ध दुवै धर्मावलम्बीहरूको दृष्टिमा पवित्र तीर्थस्थलको रूपमा प्रख्यात छ । मन्दिर परिसरमा रहेका साधु–सन्तका अनुसार, मुक्ति प्राप्तिका लागि उहिल्यै ब्रह्माले मुक्तिनाथमा योगरूप यज्ञ गरेको धार्मिक उल्लेख पाइन्छ । त्यसैगरी, बौद्धमार्गीहरूको विश्वासअनुसार तिब्बतबाट आएका एक बौद्ध पण्डितले कैलाश पर्वतको दर्शन गरी त्यहाँको पवित्र जल ल्याएर मुक्तिनाथमा सञ्चय गरेपछि १०८ धारा निर्माण गरिएको धर्मग्रन्थमा उल्लेख छ ।
मुक्तिनाथमा दर्शन, पूजापाठ र स्नान गरेमा भित्री मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । संसारको जुनसुकै स्थानमा भए पनि एकपटक मुक्तिनाथको दर्शन गरी त्यहाँका १०८ धारामा स्नान गरे मोक्ष प्राप्ति हुन्छ भन्ने दृढ आस्था छ । यही विश्वासका साथ हामीले पनि स्नान र पूजापाठ गर्यौँ । मन्दिरको दर्शनपछि भजन–कीर्तन गर्दै हामी पोखरा फर्कियौँ ।
यो यात्रा केवल भौगोलिक गन्तव्यमा पुग्ने उद्देश्यले होइन, आत्मिक शान्ति र अनुभव संकलनका लागि पनि अविस्मरणीय रह्यो । प्रकृतिको साक्षात्कार, धार्मिक आस्था र साथीहरूबीचको आत्मीय सम्बन्धले यो मुस्ताङ भ्रमण हाम्रो जीवनकै यादगार अध्याय बन्यो । आन्तरिक पर्यटनको विकासमा सबैले हातेमालो गरौँ । सबैलाई शुभकामना ।







रत्नशोभा मावि व्यवस्थापन समितिमा तिमिल्सिना
‘जारी २’ र ‘मन बिनाको धन’ प्रदर्शनमा
बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै
कोरला भन्सारबाट ३ अर्ब बढी राजस्व संकलन
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया