मादीको केन्द्र याङ्जाकोटबाट बेतेनीः मतदानबाट आज टुंगो लगाइने

समाधान संवाददाता २०७६ पुष २८ गते ११:२०

समाधान संवाददाता
पोखरा

कास्कीको मादी गाउँपालिकाको केन्द्र याङ्जाकोटबाट बेतेनी साझामा सार्ने विषयमा सहमति नजुट्दा सोमबार मतदान हुने भएको छ । लामो समयदेखिको विवाद, रस्साकस्सी र अवरोध भए पनि आइतबार मतदानबाट टुंगो लगाउने भनिएकोमा साँझ कार्यपालिका सदस्य तितरबितर भएकाले सोमबारलाई सारिएको हो ।

हाल वडा नम्बर ३ को याङ्जाकोटबाट गाउँपालिकाको केन्द्र छ । अब वडा नम्बर ४ को बेतेनी साझामा गाउँपालिकाको प्रशासनिक केन्द्र रहने प्रस्ताव गरिएको छ । हाल केन्द्र रहेको वडा नम्बर ३ का जनप्रतिनिधि बेतेनीको विपक्षमा देखिएका छन् ।

Advertisement

साविकको थुमाकोडाँडामा मादी गाउँपालिकाको केन्द्र हुने गरी स्थानीय तहको घोषणा भयो । नेपाल सरकारले घोषणा गरेअनुरुप थुमाकोडाँडा गाविसको कार्यालय रहेको ठाउँमै गाउँपालिकाको केन्द्र राखियो ।

थप जग्गा नहुँदा प्रशासनिक कार्यालय बनाउने अवस्था नहुँदा साँघुरो भवनमा गाउँपालिकाको केन्द्र चलाउनुको दुख गाउँपालिकाले खेप्यो । गाउँपालिकाको केन्द्र अपायक हुँदा त्योभन्दा पनि ठूलो दुख खेप्नुपरेको मादीका अधिकांश नागरिकको गुनासो थियो । सम्भावित ठाउँको अध्ययन गर्दै मादीको कार्यपालिका बैठकले केन्द्र सार्ने एजेन्डा अगाडि सार्‍यो । तर, स्थानीयको विरोध गाउँ सभा सदस्यबीच एक मत नहुँदा गाउँपालिकाले केन्द्र सार्ने निर्णय हुन सकेको थिएन । याङ्जाकोट केन्द्र तोकिएकोमा गाउँपालिकाको केन्द्र ३२ औं कार्यपालिका बैठकले वडा नम्बर ३ कै देउरालीमा सार्ने निर्णय गर्‍यो । देउरालीमा स्थानीयले गाउँपालिकाका निम्ति जग्गा दान दिने निर्णय पनि गरे । साविकको गाउँपालिकाको केन्द्रदेखि नजिकै अपायकमै कार्यालय सार्न लागिएको भन्दै नागरिकको विरोध यथायतै थियो ।

Advertisement

हिउँदे अधिवेशनको सुरुको दिन गाउँपालिकाको केन्द्र सार्ने प्रमुख एजेन्डा छ । कार्यपालिकाको ३२ औं बैठकले निर्णय गरेको ठाउँ वडा नम्बर ३ को देउराली र वडा नम्बर ४ को बेतेनी साझामध्ये कहाँ केन्द्र तोक्ने भन्ने निर्णय गर्न गाउँ सभा सदस्यले सोमबार मतदान गर्नेछन् । गाउँ सभामा ६२ जना सदस्य छन् । अध्यक्षले मत हाल्न नपाउने व्यवस्था छ । यसअघि गाउँपालिकाको केन्द्र सार्ने कांग्रेसका अधिकांश जनप्रतिनिधिले विरोध गरेका थिए । यसपटक भने कांग्रेसका अधिकांश जनप्रतिनिधिले बेतेनीमा केन्द्र सार्ने पक्षमा देखिएका छन् । बेतेनीमा केन्द्र सार्ने प्रस्ताव गाउँ सभामा अध्यक्ष वेदबहादुर गुरुङले आइतबार पेस गरेका थिए ।

यसअघि गाउँपालिकाको केन्द्र निर्धारण गर्न गाउँपालिका उपाध्यक्षको संयोजकत्वमा प्राविधिकसहित गठित समितिले अध्ययन गरेको थियो । देउराली, कुलेडाँडा, माझाडिही, तारकाङ, साझा भवन काँढे भत्केम्ले, भैंसेलगायत ठाउँमा समितिले स्थलगत अध्ययन गरेको थियो ।

१२ वडा रहेको मादी गाउँपालिकाको केन्द्र सार्न लागिएको बेत्यानीको साझा भन्ने ठाउँ तारकाङ गाउँभन्दा तलको बेंसी, भैंसे भन्ने गाउँको पारिपट्टि पर्छ । धेरै पहिले त्यस ठाउँमा बेतघारी भएको र मादीमा पुल बन्नुअघि बेतकै प्रयोग गरी मादी वारपार गर्ने गरेको भनाइ छ । अहिले त्यो ठाउँलाई साझा पनि भन्ने गर्छन् ।

लमजुङबाट छुट्टिएर कास्कीमा समायोजन भएपछि २०३२÷३३ सालमा साझा सहकारी भवन बनेको थियो । त्यसपछि उक्त ठाउँलाई साझा भन्ने गरिएको हो । मादी करिडोरमा पर्ने साझा भन्ने ठाउँ गाउँपालिकाका धेरैजसो मान्छेहरुका लागि पायक पर्ने भएकाले गाउँसभाबाट पारित हुने कार्यपालिका सदस्य सरोज केसीले बताए ।

जनसंख्या, भौगोलिक अवस्था र सेवाग्राहीको मागलाई सम्बोधन गर्ने गरी गाउँ सभाबाट २ तिहाई बहुमतबाट बेतेनीमा केन्द्र सार्ने निर्णय हुने विश्वास अध्यक्ष वेदबहादुर गुरुङको छ । गाउँ सभाले निर्णयपछि प्रदेशको मन्त्रिपरिषद हुँदै नेपाल सरकारले निर्णय गरेपछि पालिकको केन्द्र कायम हुनेछ ।

तपाईको प्रतिक्रिया