अपराधविरुद्ध निर्मम बन्न र व्यावसायिक सेवा प्रवाह गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

समाधान संवाददाता २०८२ मंसिर २ गते ६:२१

पोखरा । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले समाजमा देखिएका सुरक्षा चुनौतीहरूको सामना गर्न प्रभावकारी सुरक्षा रणनीति र प्रहरी परिचालनमा जोड दिएका छन्। उनले कुनै पनि अपराधविरुद्ध निर्मम भई सबै प्रहरी कर्मचारीहरूलाई व्यावसायिक रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन दिए।

प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरी प्रधान कार्यालयबाट सोमबार भर्चुअल माध्यमद्वारा प्रहरी कर्मचारीहरूलाई सम्बोधन गर्दै उक्त निर्देशन दिएका हुन्। उनले आपराधिक गतिविधिको सूचना संकलन र विश्लेषणमा थप सक्रियता अपनाउन आवश्यक रहेको बताए। वस्तुनिष्ठ अपराध अनुसन्धान, सीमा नाकामा हुने तस्करी नियन्त्रण, हातहतियार बरामद, र फरार प्रतिवादी पक्राउलाई प्राथमिकतामा राखेर काम गर्न पनि उनले निर्देशन दिए।

महानिरीक्षक कार्कीले सबै प्रहरी कर्मचारीहरूलाई शिष्ट बोली, वचन र व्यवहारका साथ नागरिकका गुनासो सम्बोधन गर्न क्रियाशील हुन आग्रह गरे। उनले आ-आफ्नो जिम्मेवार क्षेत्रमा सुरक्षा व्यवस्थापनका लागि आवश्यक सुरक्षा योजना निर्माणका साथै स्थानीय तह र सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी व्यावसायिक, उत्तरदायी र जवाफदेही प्रहरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए। आसन्न निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन आवश्यक सुरक्षा रणनीतिहरू अवलम्बन गरी कार्यान्वयन गर्न पनि उनले निर्देशन दिए।

Advertisement

कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौर र कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्वेदीले पनि समसामयिक विषयमा निर्देशन दिए। कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरूका साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू, जिल्ला प्रहरी परिसरहरू र जिल्ला प्रहरी कार्यालयहरू एवम् मातहत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति थियो।


Advertisement

तपाईको प्रतिक्रिया