सजिलो नेट र एभरेष्ट इन्जिनियरिङ कलेजबीच सहकार्य, दक्ष जनशक्ति उत्पादनमा जोड

समाधान संवाददाता २०८२ मंसिर ६ गते १७:३८

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी सजिलो नेट र एभरेष्ट इन्जिनियरिङ कलेजबीच सहकार्यका लागि सम्झौता भएको छ । शिक्षालाई प्रविधिसँग जोड्ने र विद्यार्थीलाई व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्यसहित बिहीबार काठमाडौंमा एक समारोहका बीच दुई पक्षबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

उक्त समझदारीपत्रमा सजिलो नेटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ) सतिश कार्की र क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख प्रा.डा. हरिकृष्ण श्रेष्ठले हस्ताक्षर गरे । इन्जिनियरिङको क्षेत्रमा स्थापित एभरेष्ट कलेजसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताउँदै सजिलो नेटका सिइओ कार्कीले यो सहकार्य कागजमा मात्र सीमित नभई साझा दृष्टिकोण र प्रतिबद्धतामा आधारित रहेको बताए ।

शैक्षिक जगतलाई व्यावहारिकतासँग जोड्ने प्रयास स्वरूप सम्झौता गरिएको कार्कीको भनाइ छ । उनले भने, ‘पढिसकेपछि साथीहरु जागिरका लागि आउनुहुन्छ, उहाँहरुसँग ज्ञान त हुन्छ तर सीप हुँदैन । त्यसलाई परिपूर्ति गर्ने हाम्रो प्रयास हो, त्यसमा सफल हुनेछौँ भन्ने विश्वास लिएका छौँ ।’

Advertisement

यस्तै क्याम्पस प्रमुख प्रा.डा. हरिकृष्ण श्रेष्ठले कलेजबाट उत्तीर्ण भएर गएका विद्यार्थीमा व्यावहारिक ज्ञान नभएको भन्ने बजारको गुनासो अबको सहकार्यले सम्बोधन गर्ने विश्वास व्यक्त गरे । ‘अहिले हामीलाई आउने कम्प्लेन भनेको विद्यार्थीहरुमा प्राक्टिकल नलेज भएन भन्ने छ । सजिलो नेटसँगको सहकार्यले आगामी दिनमा हामीले हाम्रा विद्यार्थीहरुलाई सैद्धान्तिक मात्र होइन, व्यावहारिक ज्ञान दिन सक्नेछौँ,’ उनले भने । यो सहकार्यले कम्पनीका लागि मात्र नभएर देशमा दक्ष जनशक्ति उत्पादनका लागि समेत टेवा पुर्‍याउने उनले बताए । सजिलो नेटसँगको सहकार्यले देशलाई प्रविधिसँग जोड्ने जनशक्ति उत्पादन हुने उनको दाबी छ ।

कार्यक्रममा क्याम्पसका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अरुणकुमार भण्डारीले अब हरेक क्षेत्रले एकले अर्कोलाई आलोचना गरेर भन्दा पनि सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने, ‘अहिले यसले यो गर्‍यो, यो गर्न सकेन भनेर अरुको आलोचना गर्ने गरिन्छ । तर हामीले सहकार्य गरेर काम गरेका छौँ त ? त्यसलाई एकपटक नियाल्नुपर्दछ । त्यसका लागि यस्ता किसिमका सहकार्यले हामीलाई देशमा दक्ष जनशक्ति उत्पादन गर्न मद्दत गर्दछ ।’

Advertisement

समझदारी समारोहमा सजिलो नेटका तर्फबाट सिइओ कार्कीसँगै सिओओ विकास मुडभरी र अध्यक्ष प्रकाशमान सिंह जिसीको उपस्थिति रहेको थियो । त्यस्तै क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख श्रेष्ठ, सहायक क्याम्पस प्रमुख सहप्राध्यापक राजन लामा, कलेजका बोर्ड मेम्बर राजेन्द्र भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया