१४औँ युरोपेली चलचित्र महोत्सव

द गल फ्रम टुमरो : पितृसत्ता र प्रतिरोध

समाधान संवाददाता २०८२ मंसिर ६ गते १८:२०

पोखरा । सन् १९६० ताका इटालीमा सामाजिक प्रथासँग गाँसिएको एउटा प्रचलित कानुन थियो—पीडित महिलाले बलात्कारीसँगै विवाह गरेमा पुरुषले माफी पाउने र महिलाले ‘लुटिएको इज्जत’। निर्देशक मार्टा सभिनाले यही कुप्रथा, पितृसत्तात्मक समाज र महिलाले भोगेको पीडा अनि संघर्षलाई कलात्मक ढंगले पर्दामा उतारेकी छन्। पोखरामा आयोजना गरिएको १४औँ युरोपेली संघ चलचित्र महोत्सवमा प्रदर्शन गरिएको फिल्म ‘द गल फ्रम् टुमरो’ले दक्षिण इटालीकी एक युवतीले भोगेको असमानता, संघर्षलाई सूक्ष्म र भावपूर्ण ढंगले देखाएको छ।

कथानक संरचना:

Advertisement

फिल्मको कथा त्रिकोणीय संरचनामा बुनेको छ। सुरुमा, केन्द्रीय पात्र लियालाई एउटा सामान्य किशोरीको रूपमा देखाइएको छ, जसको जीवनमा सामाजिक दबाब र व्यक्तिगत इच्छाबीच द्वन्द्व चलिरहेको हुन्छ। दोस्रो भागमा, परिवार र समाजद्वारा थोपारिएको दबाबको विरुद्ध उनले संघर्ष गर्छिन्। तेस्रो भागमा, समाजका पितृसत्तात्मक बन्धन तोडेर नयाँ जीवनको आरम्भ गर्छिन्।

दृश्य कला र प्रकृतिको प्रतीकात्मक प्रयोग:

Advertisement

चलचित्रमा प्रकृतिलाई शक्तिशाली दर्पणको रूपमा प्रस्तुत गरिएको छ। समुद्रले केन्द्रीय पात्र लियाको मनोदशा र स्वतन्त्रतालाई प्रतिबिम्बित गर्ने प्रयास गरेको छ। सुरुवाती दृश्यमा छालहरूसँगको कोमल स्पर्शले उनको कोमलता र स्वतन्त्रताप्रतिको असीम आकांक्षालाई प्रकट गर्छ। अन्त्यमा समुद्रमा डुबेर लियाले वास्तविक स्वतन्त्रताको अनुभव गर्छिन्। डुबाइ केवल शारीरिक क्रिया नभएर आत्मिक मुक्तिको शक्तिशाली प्रतीकको रूपमा उभ्याइएको छ। त्यस्तै, पहाडहरूको विशालताले समाजको कठोर रूढीवादी संरचनालाई जनाएको छ। अटल पहाडहरूले उनलाई घेरेको छ, जुन समाजले महिलाहरूमाथि लगाएका पारम्परिक बन्धनहरूको प्रतीक हो। त्यसैगरी, उनको आत्म-अन्वेषणको यात्रा जङ्गलका दृश्यहरूले प्रष्ट देखाउँछ। एउटा दृश्यमा, उनी जङ्गलको बीचबाट हिँड्दैछिन्, जहाँ क्यामेराको ट्र्याकिङ सटले उनलाई पछ्याउँछ। जङ्गलको पातले ढाकिएको बाटोले जीवनको अनिश्चितता देखाउँछ भने उनको हिँडाइले आफ्नै मार्ग खोज्ने साहस देखाउँछ। फिल्ममा परम्परागत पोशाकलाई सामाजिक बन्धन, कपडा बुन्ने क्रियाले जीवनको जटिलता, बारीको नयाँ पात र फूलहरूले व्यक्तित्व विकासको प्रतीक तथा रातको दियोले आशाको प्रतीक बिम्बका रूपमा प्रस्तुत गरेको छ।

रङ्गहरूको मनोविज्ञान र छायांकन कौशल:

चलचित्रमा रङहरूको प्रयोगले कथा र पात्रको मनोदशालाई प्रभावकारी रूपमा व्यक्त गरेको छ। एउटा दृश्यमा, लियाको सेतो पोशाकमा माटो लागेको देखिन्छ, जसले समाजले थुपारेका रूढीगत विचार र कुरीतिहरूलाई जनाउँछ। उनले भोग्नु परेको तिरस्कार र दबाबलाई बयान गर्छ। अन्तिम भागमा उनले लगाएको निलो पोशाकले उनको स्वतन्त्रता र आत्मा शान्तिलाई देखाउँछ। सेतोबाट खैरो हुँदै निलो रङले लियाको निर्दोषताबाट संघर्ष र अन्ततः स्वतन्त्रता र शान्तिसम्मको यात्रालाई झल्काउँछ।

छायांकनको दृष्टिले हेर्दा, घरभित्रका साँघुरो र अँध्यारो कोठाहरूमा क्लोज-अप सटहरूको प्रयोगले सामाजिक बन्धन, दमनलाई सूक्ष्मतासाथ चित्रण गरेको छ। यी सटहरूले केन्द्रीय पात्रको मनोभाव प्रभावकारी रूपमा समेट्छ । बाहिरका दृश्यहरूमा लङ र वाइड सटको प्रयोगले पात्रको स्वतन्त्रताको भाव प्रकट गर्छ।

चलचित्रले १९६० को दशकको इटालीको सामाजिक र सांस्कृतिक परिवेशलाई पर्दामा उतारेको छ। त्यतिबेला इटालीमा नारीवादी आन्दोलन बिस्तारै उदय हुँदै थियो भने क्याथोलिक चर्चको समाजमा ठूलो प्रभाव कायमै थियो। आर्थिक परिवर्तनहरूले गाउँ र शहरको सामाजिक संरचनामा नयाँ ढाँचा ल्याइरहेका थिए। चलचित्रले यी सबै ऐतिहासिक र सामाजिक पृष्ठभूमिलाई कथाको अभिन्न हिस्सा बनाएको छ।

केन्द्रीय पात्रको अभिनय अत्यन्तै सूक्ष्म र प्रभावकारी छ। अनुहारको सूक्ष्म भाव, आँखामा झल्किने हलचल, र शरीरको हाउभाउले चरित्रको मनोभावलाई जीवन्त बनाएको छ। ध्वनी र संगीतले कथाको गति र उतार–चढावलाई सशक्त बनाएको छ। अन्ततः, फिल्मले महिलामाथि हुने अन्याय र पितृसत्ताको दबाबलाई मुख्य विषयवस्तुको रूपमा उठाएको छ।

निर्देशकले सामाजिक संरचना, पितृसत्ता, र परम्परागत धार्मिक मान्यताले महिलाको जीवनलाई कसरी सीमित र नियन्त्रण गर्छ भन्ने कुरा कलात्मक शैलीमा देखाउन सफल भएकी छिन्।

तपाईको प्रतिक्रिया