सम्पादकीय—‘निषेधित क्षेत्र’ र ‘स्वायत्तता’ को चेपुवामा मुस्ताङ

हिमाली जिल्ला मुस्ताङ यतिबेला ‘निषेधित क्षेत्र’ को पुरानो परिभाषा र संघीयताले दिएको ‘स्वायत्तता’ बीचको चेपुवामा परेको छ । जिल्ला समन्वय समिति र पाँचवटै पालिकाका प्रमुख–उपप्रमुखसहितको टोलीले प्रधानमन्त्रीलाई बुझाएको १० बुँदे ज्ञापनपत्र केवल मागको सूची मात्र होइन, यो सिंहदरबारले हिमाली भेगलाई हेर्ने परम्परागत चस्मा फेर्नुपर्ने समय आएको बलियो संकेत पनि हो ।
उपल्लो मुस्ताङका तीन पालिका (लो–घेकर दामोदरकुण्ड, लोमान्थाङ र वारागुङ मुक्तिक्षेत्र) लाई अझै पनि ‘निषेधित क्षेत्र’ को सूचीमा राखिराख्नु आफैँमा विरोधाभासपूर्ण देखिन्छ । एकातिर सरकार चीनसँगको रणनीतिक कोरला नाका सञ्चालनमा आएकोमा गौरव गर्छ, अर्कोतिर आफ्नै भूभागमा विदेशी पर्यटकलाई सहज आउजाउमा बन्देज लगाइरहेको छ । सरकारले प्रवेश शुल्क घटाएर सकारात्मक सन्देश दिन खोजे पनि बदलिएको भू–राजनीतिक परिस्थिति र स्थानीयको चाहनाबमोजिम ‘निषेधित क्षेत्र’ को ट्याग नै हटाउनु अबको आवश्यकता हो । खुल्ला नाका र बन्द क्षेत्रको नीति एकसाथ अघि बढ्न सक्दैन ।
विकास निर्माणको अर्को तगारो ‘संरक्षित क्षेत्र’ सम्बन्धी कानुनी अड्चन बनेको छ । एक्याप क्षेत्रभित्र पर्ने भएकाले स्थानीय सरकारले आफ्नै नदीको ढुंगा, गिट्टी र बालुवा उपयोग गर्न नपाउनु विडम्बनापूर्ण छ । तल्लो भेगमा निर्माण सामग्री थुप्रिने तर माथिल्लो भेगमा विकासका लागि बाहिरबाट महँगो मूल्यमा किन्नुपर्ने बाध्यता व्यावहारिक छैन । ‘ढुंगा, गिट्टी, बालुवा मापदण्ड, २०७७’ संशोधन गरेर स्थानीय स्रोतमाथि स्थानीय सरकारकै अधिकार स्थापित नगरेसम्म संघीयताको मर्म मुस्ताङमा पुग्नेछैन । संरक्षण महत्वपूर्ण हो, तर यसको नाममा विकास नै ठप्प पार्नु हुँदैन ।
जलवायु परिवर्तनको प्रत्यक्ष मारमा परेको मुस्ताङको पीडा अर्को गम्भीर विषय हो । स्याउ खेतीको विस्थापन, वन्यजन्तुको संकट र कागबेनी बाढीजस्ता घटनाले मुस्ताङको अस्तित्वमाथि नै प्रश्न उठाइरहेका छन् । साथै, कोरला नाकामा न्यूनतम पूर्वाधार (बिजुली, पानी, आवास) समेत नहुनुले राज्यको तयारीमाथि प्रश्न खडा गरेको छ । तसर्थ, सरकारले मुस्ताङको ज्ञापनपत्रलाई औपचारिकतामा मात्र सीमित नराखोस् । निषेधित क्षेत्र खारेज गरी पर्यटन प्रवद्र्धन गर्ने र स्थानीय स्रोत साधनमाथिको अधिकार स्थानीय तहलाई नै सुम्पिने आँट केन्द्र सरकारले गर्नुपर्छ । मुस्ताङलाई हेर्ने ‘निषेधित’ मानसिकता र नीति दुवै बदल्नु अपरिहार्य छ ।








कास्कीमा थपिए १७ हजार ७८६ मतदाता
गण्डकी विश्वविद्यालयमा कानूनी प्रशिक्षण
एउटा कर्मचारीको भरमा बलेवा विमानस्थल
मुस्ताङमा ६२ करोड बढीको आलु बिक्री
पोखरामा प्रहरी कल्याण कोष पेट्रोल पम्पको उद्घाटन
खुमा अर्याल फाउन्डेसनको सातौं साधारणसभा, सामाजिक कार्यमा सहकार्यको आह्वान
प्रदेश सांसदका स्वकीयको तलब दिन छाडियो
राष्ट्रिय वाणिज्य बैंकको फ्ल्याट भाडामा लिँदै पोखरा महानगर
तपाईको प्रतिक्रिया