कास्की जिल्ला अदालतमा कागजात बुझाउने म्याद थप

पोखरा ।
कास्की जिल्ला अदालतले ‘जेन–जी’ आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट नष्ट भएका मिसिल कागजात संकलन गर्नका लागि १ महिना म्याद थप गरेको छ । अदालतले बुधबारदेखि लागू हुने गरी आगामी १० पुससम्मका लागि म्याद थप गरेको हो ।
आन्दोलनका क्रममा अदालत भवनमा भएको आगजनीबाट भौतिक संरचना, चालु तथा फैसला भएका मुद्दाका मिसिल, फैसला कार्यान्वयनका निवेदन र सूचना प्रविधिको उपकरणमा क्षति पुगेपछि अदालतले पक्षहरूसँग भएका प्रमाणका आधारमा मिसिल खडा गर्न लागेको हो ।
अदालतका स्रेस्तेदार राजन खनालले जारी गरेको सूचना अनुसार सर्वोच्च अदालतबाट ५ असोज २०८२ मा जारी भएको ‘विशेष परिस्थितिका कारण नष्ट भएका मिसिल कागजातको प्राप्ति र प्रमाणीकरण सम्बन्धी निर्देशिका, २०८२’ बमोजिम म्याद थप गरिएको हो । यसअघि २४ असोजमा सूचना प्रकाशित गरी १० मंसिरसम्मको समय दिइएको थियो । तर, तोकिएको अवधिभित्र उल्लेख्य मात्रामा मिसिल कागजात प्राप्त नभएको र अझै धेरै कागजात संकलन गर्न बाँकी देखिएपछि पुनः सूचना प्रकाशन गरिएको अदालतले जनाएको छ ।
अदालतले ११ मंसिरदेखि १० पुससम्म नष्ट भएका मिसिल कागजात संकलन गर्ने जनाएको छ । यो अवधिभित्र आफ्नो परिचय खुल्ने कागजात, तारेख पर्चा, फिराद, प्रतिउत्तरपत्र, निवेदनपत्र, फैसला, आदेश लगायतका मुद्दासँग सम्बन्धित कागजातहरू अनिवार्य रूपमा पेश गर्न सम्पूर्ण मुद्दाका पक्ष, कानुन व्यवसायी र सरोकारवालालाई अदालतले अनुरोध गरेको छ । सर्वोच्चको निर्देशिकाको परिच्छेद ३ को दफा ५ को उपदफा (१) मा नष्ट भएका मिसिल कागज संलग्न गर्न ६० दिनको समय प्रदान गर्नुपर्ने व्यवस्था रहेको अदालतले स्मरण गराएको छ ।
यसका साथै जेन–जी आन्दोलनका क्रममा तारेख गुज्रेका, प्रतिउत्तर दिने म्याद गुज्रेका वा फैसला कार्यान्वयनमा हाजिर हुनुपर्ने व्यक्तिहरूले पनि १० पुसभित्र अदालतमा उपस्थित हुन पाउने छन् । अदालतले यो अवधिभित्र तारेख थाम्ने, थमाउने, प्रतिउत्तर पेश गर्ने र फैसला कार्यान्वयनको सूचना म्यादमा हाजिर हुन सकिने व्यवस्था मिलाएको छ । तोकिएको समयभित्र उपस्थित नभए कानुन बमोजिम हुने व्यहोरा अदालतले स्पष्ट पारेको छ ।







पोखराका अग्रज पत्रकार रुद्र थापालाई पत्नी शोक
४ महिने छोराको हत्या अभियोगमा असई पक्राउ
इनरह्वीलको महिला हिंसा विरुद्धबारे कानुनी सचेतना
१९ युनिट रगत संकलन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया