निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन

सञ्जय रानाभाट २०८२ मंसिर १७ गते ६:०२
पोखरा १३ र २६ जोड्न ढल्के पुल नजिकै बनाइएको निकासविहीन पक्की पुल । तस्बिर : समाधान

पोखरा ।
गण्डकीका तत्कालीन भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतको पहलमा उनकै जिल्ला गोरखाको दरौंदी नदीमाथि गोरखा नगरपालिका ३ र सिरानचोक गाउँपालिका ५ को जरेबरलाई जोड्ने पक्की पुल बनाइयो । पुल बनेको वरपर खेतीयोग्य जमिन थियो, निकास थिएन । पुल निर्माणमा करिब ५ करोड रुपैयाँ खर्च भएको थियो । बिना निकासको पुल निर्माणका लागि निर्णय गरेको भन्दै तत्कालीन सचिव, निर्देशकसहित कार्यालय प्रमुखलाई अख्तियारले मुद्दा चलायो । अहिले उनीहरुले सफाइ पनि पाइसके र पुलको निकास पनि जेनतेन निकालिएको छ ।

रामशरण बस्नेत नै मन्त्री भएका बेला पोखरामै त्यस्तै प्रकृतिको अर्को पुल समेत बनेको छ । जसको अहिलेसम्म पनि निकास निस्केको छैन । तत्कालीन प्रदेश सभा सदस्य मनबहादुर गुरुङको पहलमा बजेट परेर बनेको पुल गण्डकीकै पूर्वमुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन पनि गरे । तर पुल प्रयोगमा आउन सकेको छैन ।

पोखरा महानगरपालिका वडा नम्बर १३ र २६ जोड्ने ढल्के–झौरीखेत जोड्न १ दसकअघि नै झोलुंगे पुल बनाइएको थियो । दुवैतिरको ‘जीप’ निजी जग्गामा पर्ने भएकाले त्यो पुल कहिल्यै प्रयोगमा आएन । वडा नम्बर १३ तिरका जग्गाधनीले पुलमै भोटेकुकुर बाँधेर राखिदिन्थे । उता २६ तिरका जग्गाधनीले पनि खेतबाट बाटो दिएनन् । पुल अलपत्र बनेकै थियो । त्यही पुलको विवाद चलिरहेका बेला अलि तलतिर पक्की पुलका लागि बजेट पर्‍यो । वडा नम्बर १३ तिर निकास भए पनि २६ तिर भने निकास छैन । खोलाको मापदण्ड सकिने बित्तिकै व्यक्तिको जग्गा पर्छ ।

Advertisement

पोखरा १३ ढल्केबाट पोखरा २६ झौरीखेत जोड्ने पुल तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरे पनि प्रयोगमा आएको छैन

पुल बनेको ३ वर्ष भइसक्यो, १३ नम्बरतिरबाट खेत र विजयपुर खोलामा जानवाहेक पुलको उपयोग हुन सकेको छैन । जुन पुल २०७९ चैत ३० गते तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन पनि गरेका थिए । तर ३ वर्ष नाघिसक्दा पनि पुलको निकासका लागि पहल भएको छैन । पोखरालाई पृथ्वी राजमार्गसँगसँग जोड्न वैकल्पिक बाटोका रुपमा यो पुललाई लिइएको थियो । विजयपुर खोलामाथि बनेको पुलको चापलाई घटाउन पनि यो पुलले विकल्प बन्न सक्थ्यो । यद्यपि पुल बनेको ३ वर्षसम्म पनि सडक मार्ग खुलाउन सकिएको छैन ।

Advertisement

पुल बनाउनुअघि प्रदेश सरकारले स्थानीयसँग छलफल र सहमति बेगर पुल बनाएको स्थानीयको भनाइ छ । अहिले स्थानीयले बाटो खुलाउन अवरोध सिर्जना गर्दै आएका छन् । यतिसम्म कि बाटो खुलाउने जग्गामा केही महिनाअघि मात्र सानो ब्लकको एक कोठे टहरा निर्माण भइरहेको छ । तर, स्थानीय सरकार र प्रदेश सरकार स्थानीयसँग वार्ता गर्न सकेको छैन । अहिले भनेको ठाउँबाट बाटो खुलाउँदा आफ्नो घर पूरै जाने स्थानीय मनकुमारी नेपाली बताउँछिन् । मुआब्जा दिएर चित्त बुझाए, आफू हट्न तयार भएको उनले सुनाइन् ।

‘श्रीमानको मिर्गौला बिरामी भएकाले उपचारका लागि फूलबारीमा भएको घर जग्गा बेचेको हो, बाँकी पैसाले यहाँ जग्गा किनेर घर बनाएको हो,’ उनले भनिन् । अहिले मनकुमारीका श्रीमान बितिसके, छोरो ८ कक्षा मा पढ्छ । कुना नमिलेको ६ आना जग्गा किनेर उनले अस्थायी प्रकृतिको घर बनाएकी हुन् । खेतकै आडमा झोलुंगे पुल देखेर जग्गा किने पनि आफूहरुले कहिल्ये झोलुंगे पुल प्रयोग गर्न नपाएको उनले सुनाइन् । उनले थपिन्, ‘पहिला यही पुल देखेर जग्गा किनियो, अहिले अर्को पुलको पनि निकास छैन, यही घर पनि भत्काएपछि हामी कहाँ जाने ? सरकारले यस्तै अर्को ठाउँमा घर बनाइदिएर राख्छ भने हामी छाड्छौं, तत्र हामीलाई बेवारिसे बनाउन पाइँदैनँ ।’

विजयपुर खोलामाथि बनेको पुलको चापलाई घटाउन पनि यो पुलले विकल्प बन्न सक्थ्यो । यद्यपि पुल बनेको ३ वर्षसम्म पनि सडक मार्ग खुलाउन सकिएको छैन

पुल निर्माणका लागि ठाउँ नै गलत छानिएको सामाजिक अगुवा विश्व सिग्देलको भनाइ छ । सेती नहरको पानी खस्ने ठाउँ विजयपुर खोलामाथि बन्नुपर्ने पक्की पुल अन्यत्र बनाएर राज्यशक्ति र स्रोतको दुरुपयोग गरेको उनको भनाइ छ । १३ नम्बर वडाको दुईकुलाको मुहानतर्फबाट पोखरा २६ लाई जोड्नेगरी पुल बनाउनुपर्नेमा गलत ठाउँमा बजेट खन्याइएको सिग्देलले बताए । ‘हिजो पृथ्वीराजमार्ग बन्न बन्नुअघि भन्दाअघि दुईकुलाको मुहान नजिकै विजयपुरमा घोडा र मानिस वारपार गर्न मिल्ने गरी पक्की पुल बनाइएको थियो । दसकअघिको बाढीले त्यो पुल भत्काइदिएपछि पोहोर मात्रै झोलुंगे पुल बनाइएको छ ।

जहाँबाट अहिले २ पांग्रे साधन वारपार गर्छन् । ‘पुरानै ठाउँमा पक्की पुल बनाउनु पर्ने थियो, सबैलाई पायक पर्ने ठाउँमा पनि हो । दुरी पनि घटाउँथ्यो । तर, मोटरेबल पुल निर्माण अहिले गलत ठाउँमा बनाइयो,’ सिग्देलले थपे ।


सिग्देलले त्यो ठाउँमा मोटरेबल पुल बनाउन आवश्यक रहेको सुनाए । ‘पुल निर्माण गर्न ढिला भएको छैन, पृथ्वीहाइवेको जाम कम गर्न पनि यो ठाउँमा मोटरेवल पुल आवश्यक छ,’ उनले भने ।

यहाँ अहिले बाटो नहुँदा सवारीसाधन कुद्ने अवस्था नै छैन । स्थानीयका अनुसार पुल छेउमै पुगेर फर्कनुपर्ने बाध्यता छ । यो पुल निर्माणका लागि रसुवा वाईएसएस जेभीसँग २०७७ असार २९ गते सम्झौता गरिएको थियो । यसको लागत अनुमान ८ करोड ५ लाख ७३ हजार ८९९ रुपैयाँ गरिए पनि निर्माण कम्पनीसँग ३ करोड ३८ लाख ९८ हजार २७७ रुपैयाँमा सम्झौता भयो । २०७८ असोज २८ गतेसम्म काम सक्नुपर्ने भए पनि समयमै सम्पन्न हुन सकेन । २०७९ जेठ २० गतेसम्म म्याद थप गरेर पुलको काम सकियो । ‘पुल बनेको वर्षौं भयो, तर २६ तर्फको बाटो नखुल्दा स्थानीयदेखि राज्यलाई ठूलो घाटा लागेको छ,’ स्थानीयवासी भन्छन्, ‘पुल खेतमा पुग्न मात्रै मात्र भयो, जुन प्रयोजनका लागि बनाइएको थियो, त्यो गर्न नपाइने भयो ।’ खेतको छेउबाट विजयपुर खोलाको किनारतिर ट्रक ट्रयाक्टर भने फाट्टफुट्ट आउजाउ गर्छन् ।

स्थानीयले सम्बन्धित निकायलाई २६ तर्फको सडक तत्काल निर्माण गर्न आग्रह गरेका छन् । ‘दुवै वडाध्यक्षले पटकटक बाटो खुलाउन पहल गरेपनि बाटौमै एउटा घर परेकाले त्यो नभत्काइ बाटो खुल्न सकने अवस्था छैन,’ स्थानीय शारदा रानाभाटले भनिन् ।

अहिले विजयपुर खोलामाथि पुल निर्माण भइरहँदा दुईकुलाको मुहानतर्फ बनेको झोलुंगे पुलमा दुई पांग्रे सवारीको चाप बढेको छ । पृथ्वीहाइवेको जाम छल्न यो बाटो प्रयोग भइरहेको छ । अर्कोतर्फ स्थानीयले झोलुंगे पनि भत्किहाल्ने हो कि भनेर चित्ता व्यक्त गरिरहेका छन् । ‘झोलुंगे पुलमा आवाजजावत बढी भयो । कता पुल थेग्न सक्दैन । मोटरेबल पुल बन्नुपर्नेमा झोलुंगे पुल बनाइयो । अहिले यो पुल खतरामा छ,’ स्थानीय लक्ष्मी थापा भन्छिन् ।

पोखरा मुग्लिन सडक स्तरउन्नति गर्ने क्रममा अहिले बिजयपुल खोलामाथि पुल माथि आधुनिक मोटरयबल पुल निर्माण भइरहेको छ । गएको साताभर पुल निर्माणका क्रममा गाडी आवातजावत अस्तव्यस्त भयो । नजिकै वैकल्पिक बाटो भइदिएको भए यात्रुले समेत सास्ती खेप्नु पर्ने थिएन । अहिले बनेकै ढल्के–भौरीखेत मोटरेबल पुल जोड्ने सडक मार्ग खुलाउन सकेमात्रै पनि पोखराको बजार भित्रने वैकल्पिक बाटो बन्न सक्ने थियो ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया