वैदेशिक रोजगार सुरक्षित बनाउन गण्डकीमा चारपक्षीय सम्झौता

समाधान संवाददाता २०८२ मंसिर १६ गते २१:०६

पोखरा ।

श्रम, रोजगार तथा आप्रवासनको क्षेत्रमा क्षमता विकासका लागि गण्डकी प्रदेशमा चारपक्षीय समझदारी भएको छ । प्रदेशमा सुरक्षित आप्रवासन (सामी) कार्यक्रमलाई प्रभावकारी बनाउन सरोकारवालाबिच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

Advertisement

गण्डकी प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरेको अध्यक्षतामा बसेको बैठकमा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान, सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय, वैदेशिक रोजगार बोर्ड सचिवालय र सामी/हेल्भेटासबिच हस्ताक्षर भएको छ । सामी कार्यक्रम नेपाल सरकार र स्विट्जरल्यान्ड सरकारको द्विपक्षीय पहल हो, जसमा हेल्भेटास नेपालले प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

हस्ताक्षर समारोहमा प्रमुख सचिव घिमिरेले स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र विदेश जाने व्यक्ति स्वयं सचेत हुनुपर्ने बताए । भावनात्मक रूपमा विदेश जाने निर्णय गर्ने परिपाटीले समस्या निम्त्याएको उनको भनाइ छ । ‘असुरक्षाबाट जोगिन र वैदेशिक रोजगारीलाई प्रतिफलयुक्त बनाउन सही सूचना लिएर वैध बाटो अपनाउनुपर्छ,’ घिमिरेले भने ।

Advertisement

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्रबाबु तिवारीले जनप्रतिनिधि तथा कर्मचारीको क्षमता विकासमा अब श्रम आप्रवासनको विषयलाई पनि प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाए । प्रतिष्ठानले समन्वय, सहकार्य र साझेदारीको मोडेलमा टेकेर काम गर्ने उनले बताए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रदेश सचिव ऋषिराज आचार्य र सामाजिक विकास मन्त्रालयका निमित्त सचिव दामोदर सुवेदीले श्रम तथा आप्रवासनलाई सुरक्षित र व्यवस्थित बनाउन मन्त्रालय जिम्मेवार भएर लाग्ने बताए ।

सामी कार्यक्रमका टिम लिडर टंकराज अर्यालले यो साझेदारी केवल निर्धारित क्रियाकलापमा मात्र सीमित नरही संस्थागत विकासमा केन्द्रित हुने बताए । प्रतिष्ठानमार्फत हुने क्षमता विकासका कार्यक्रमले अझ बढी प्रतिफल दिने उनको विश्वास छ ।

सामी कार्यक्रमले सूचना तथा परामर्श, निःशुल्क कानुनी सहायता, सीप तालिममा सहजीकरण, मनोसामाजिक परामर्श र वित्तीय साक्षरतासम्बन्धी काम गर्दै आएको छ । नेपालमै पहिलो पटक प्रदेशस्तरीय प्रशिक्षण केन्द्रमार्फत सुरु हुन लागेको यो क्षमता विकास कार्यक्रम विस्तारै सातै प्रदेशमा लागु गर्ने तयारी रहेको कार्यक्रममा जानकारी दिइयो ।

तपाईको प्रतिक्रिया