कांग्रेस गण्डकी सभापति भन्छन् : अहिलेको समस्याको निकास २०४७ संविधान !

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले शुक्रबार पार्टी कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत वर्तमान राजनीतिक अव्यवस्थाबाट समाधान खोज्न २०४७ सालको संविधान नै सर्वश्रेष्ठ विकल्प बन्न सक्ने बताएका छन् । उनले देश अहिले खरानीमाथि उभिएको भन्दै शर्माले कांग्रेस महिनौंदेखि अधिवेशन, विशेष अधिवेशन र नियमित अधिवेशनको विवादले अल्झिएको र राष्ट्रिय मुद्दामा नेतृत्व दिन ढिलाइ भएको उल्लेख गरे । ‘जेएनजी आन्दोलनपछि देश अस्तव्यस्त छ । सबै पार्टीहरू एकअर्कालाई अन्योलमा पारिरहेका छन् । तर यस्तै कठिन समयमा जिम्मेवारी लिएर अगाडि बढ्ने शक्ति कांग्रेस हो,’ उनले भने ।
शर्माले अहिले देशलाई निकास दिन ०४७ को संविधान विकल्प बन्न सक्ने सुनाए । उनले १७ सालको संविधानमा सबै पक्ष अटेको भए पनि पछि राजाले नै संविधान तोडेर देशलाई अधिनायकवादतर्फ धकेलेको स्मरण गरे । ‘राजाले प्रधानमन्त्री पनि आफैं, राजा पनि आफैं बने । अनि हामीलाई आन्दोलन गर्नुप¥यो,’ उनले भने, ‘त्यसपछि २०४६÷४७ को आन्दोलनले जनताका अधिकार पुनःस्थापित गरेको र बीपी कोईरालाको विचारले देश जोगिएको उदाहरण प्रस्तुत गरे ।
देश अहिले अप्ठ्यारो अवस्थामा रहेको भन्दै उनले २०४७ सालको संविधानलाई पुनःस्थापना गरेर राजनीतिक स्थिरता ल्याउन सकिने बताए ।
‘बीपीले भने झै अब देश ठूलो हो, पार्टी होइन । २०४७ सालको संविधानले हामीलाई निकास दिन्छ भने कांग्रेस फर्कन तयार हुनुपर्छ,’ उनले भने । उनले संविधानको ढाँचा ए–टु–जेड फिर्ता गर्ने भन्दा पनि त्यसको सिद्धान्त, संरचना र प्रजातान्त्रिक मूल्य पुनःस्थापित गरिनुपर्ने बताए । उनका अनुसार ०४७ सालको संविधान राजतन्त्र–गणतन्त्र दुवैबीच सेतु बन्न सक्छ । ‘धार्मिक स्वतन्त्रता सुरक्षित रहन्छ । राष्ट्रियता र समाजवादको आधार मजबुत हुन्छ, देशलाई विभाजन गर्ने तत्वहरू कमजोर हुन्छन् । अन्तर्राष्ट्रिय हस्तक्षेपलाई रोक्न शक्तिशाली राष्ट्रिय संरचना निर्माण हुन्छ र देश अब अलपत्र पर्न नदिने जिम्मेवारी कांग्रेसकै हो,’ शर्माले दोहोर्याए । उनले कांग्रेसले अहिले नै गलत बाटो सच्याएर सिद्धान्तमा फर्कनुपर्ने दृढता व्यक्त गरे ।
‘देश बाँच्न कांग्रेस अगाडि आउनुपर्छ । अन्य कुनै पार्टीसँग त्यो क्षमता, त्यो इतिहास, त्यो हैसियत छैन,’ उनले दाबी गरे । कांग्रेसले राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र धार्मिक स्वतन्त्रताको ‘विरासत’ लिएर अगाडि बढे मात्र सबै पार्टी, वर्ग र समुदाय एक ठाउँमा उभिन सक्ने उनको विश्लेषण छ । शर्माले लामो समयदेखि कांग्रेस नै प्रत्यक्ष–परोक्ष रूपमा सत्ता संचालनमा सहभागी रहँदा पनि अपेक्षित परिवर्तन ल्याउन नसकिएको स्वीकार गरे ।
‘हामीले राष्ट्रपतिको सुरक्षा गर्न सकेनौं, प्रधानमन्त्रीको कार्यालय सुरक्षित राख्न सकेनौं, सर्वोच्च अदालत सुरक्षित राख्न सकेनौं,’ उनले जेन जी आन्दोदलनको त्यो दिन सम्झे । शर्माका अनुसार कांग्रेस धेरै पार्टीसँग प्रतिस्पर्धा नभई सिद्धान्तमा फरक भएर उभिएको दल हो । ‘हामी फरक छौं । हाम्रो अनुहारका कारण होइन, हाम्रो सिद्धान्तका कारण । हामी राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र धार्मिक स्वतन्त्रताका पक्षमा उभिएका छौं । अन्य पार्टीहरू प्रजातन्त्रमा विश्वास गर्दैनन्, धर्मनिरपेक्षतालाई भिन्न रूपमा बुझाउँछन्, समाजवादलाई पनि मोडेर व्याख्या गर्छन्,’ उनले भने ।
तर पछिल्ला वर्षहरूमा कांग्रेसले नै आफ्नै विरासत छोडेर अन्य शक्तिसँग बराबरीमा उभिन खोज्दा पार्टी कमजोर हुँदै गएको उनको तर्क छ । ‘हामीले सिद्धान्त छोड्यौं, जनता हाम्रो निर्णयसँग हिँडेन्, युवाहरू बिदेशिन बाध्य भए, भ्रष्टाचार र अनियमितता बढ्यो,’ उनले भने । भ्रष्टाचारविरुद्ध कानुनी आधार कांग्रेसले बनायो, तर अहिले गल्ती ‘पराकाष्ठा’ मा पुगेको उनको आरोप छ ।
शर्माले भ्रष्टाचारविरुद्ध कानुन निर्माण गर्ने काम कांग्रेसकै नेतृत्वमा भएको स्मरण गराउँदै अहिले प्रमुख गल्ती गर्नेहरूलाई कारबाही नहुने अवस्थाले लोकतन्त्र नै कमजोर भइरहेको बताए । ‘खुमबहादुरजीले ल्याएको प्रस्तावबाट भ्रष्टाचारविरुद्धको कानुन बनेको हो । पहिलो सजाय पनि उहाँले नै पाउनुभयो । आज भने गल्ती गर्ने नै मालिक बनेका छन्,’ उनले भने । उनले नेताहरू सर्वेसर्वा बन्न थालेको र जनता उपेक्षित बनेको आरोप लगाउँदै कांग्रेसले जनतासमक्ष स्पष्ट माफी मागेर जिम्मेवारीसहित अघि बढ्नुपर्ने धारणा राखे ।
‘देश अन्तर्राष्ट्रिय खेल मैदान बन्दैछ’
शर्माले वैदेशिक शक्तिहरूबीच बढ्दो प्रतिस्पर्धाले नेपाल ‘अन्तर्राष्ट्रिय पीडास्थल’ बन्न सक्ने चेतावनी दिए । ‘अमेरिका–भारतका दूरी बढिरहेका छन् । रूस र चीनका ब्लकहरू नजिकिँदै छन् । नेपाल अस्थिर देखिएर शक्तिहरूले यहाँ आफ्ना थलो बनाउने सम्भावना दिन–प्रतिदिन बढिरहेको छ,’ उनले भने । धर्म, जात, क्षेत्र, पहिचानका विषयलाई दुरुपयोग गरेर नेपाल टुक्रिनसक्ने खतरासमेत उनले औंल्याए । ‘हामी नेपाली पहिले हौं । हिन्दु, मुसलमान, किराँत केही पनि हुन सक्छ, तर धर्मको नाममा विभाजन गर्दै देशलाई जोखिममा पार्नु हुन्न,’ उनको भनाइ थियो ।









कांग्रेस गण्डकी सभापति भन्छन् : अहिलेको समस्याको निकास २०४७ संविधान !
डेंगी रोग रोकथाम तथा नियन्त्रण सम्बन्धी ३ महिने अभियान सकियो
आइटिएफ वर्ल्ड टेनिस टुरमा युल, गानुका, सु र शिवाली टेनिस फाइनलमा
एनसेल फाउन्डेसनले २ हजारभन्दा बढी शैक्षिक सामग्री वितरण गर्ने
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
तपाईको प्रतिक्रिया