र्यान्डममा ‘नीलो प्रेम’ माथि परिचर्चा

पोखरा ।
पोखरामा पठन संस्कृतिको अभियानमा सक्रिय र्यान्डम रिडर्स सोसाइटीले शनिबार उपन्यास ‘नीलो प्रेम’ माथि परिचर्चा गरेको छ । कार्यक्रममा अवधारणापत्र प्रस्तुत गर्दै गायत्री गौतमले पुरुषोत्तम बजगाईंको यो उपन्यास केवल प्रेम कथा मात्र नभएर अस्तित्वगत खोजको प्रक्रिया भएको बताएकी छन् ।
सोसाइटीको नियमित मासिक शृंखला अन्तर्गत आयोजित कार्यक्रममा गौतमले उपन्यासले मानवीय संवेदना, सम्बन्धमा आउने उतारचढाव र मनोवैज्ञानिक यथार्थलाई समेटेको बताइन् । ‘यो उपन्यास मनले तय गरेको यात्रा हो,’ गौतमले आफ्नो अवधारणापत्रमा उल्लेख गरेकी छन्, ‘प्रेमले मानिसलाई कहाँ पु¥यायो भन्ने भन्दा पनि मानिसभित्र के परिवर्तन गरायो भन्ने कुरालाई उपन्यासले मूल रूपमा उठाएको छ ।’
उनले उपन्यासमा ‘सोसियल पेनेट्रेसन थियोरी’ को झझल्को पाइने बताइन् । पात्रहरूले प्रेमसँगै आफ्नो बोधको तहहरूलाई खोल्दै जाने र जीवनका सम्बन्धहरू आशा, अपेक्षा र पारस्परिक बुझाइसँगै हुर्किने जीवित संरचना भएको उनको विश्लेषण थियो । उपन्यासका मुख्य पात्र आकाश र वर्षाको सम्बन्धलाई आधार मान्दै उनले कथा निजी भावनाबाट सुरु भएर सामाजिक संरचनासम्म फैलिएको जिकिर गरिन् ।
‘उपन्यासले आधुनिक प्रेम सम्बन्ध र व्यक्तिगत स्वतन्त्रता बीचको जटिलतालाई प्रस्तुत गरेको छ,’ गौतमले भनिन्, ‘यसले व्यक्तिगत स्वतन्त्रता र पारिवारिक जिम्मेवारीबीचको सन्तुलनको चुनौतीलाई उजागर गर्दै युवा पुस्तामा आत्मचिन्तन र सामाजिक चेतना बढाएको छ ।’
लेखकको भाषाशैली सरल र संवादात्मक रहेको भन्दै उनले प्रशंसा गरिन् । यद्यपि, समालोचकीय दृष्टि राख्दै गौतमले कतिपय ठाउँमा शब्दको मितव्ययिता अपनाउन नसकिएको र महिला पात्रको चित्रण व्यक्तित्वभन्दा शारीरिक आकर्षणमा बढी केन्द्रित भएको भन्दै लेखकलाई सचेत समेत गराइन् ।
अवधारणापत्रमाथि हसिना बस्नेत, रेशम गिरी, जावेद अन्सारी, ढाकामोहन बराल, ईश्वरमणि अधिकारी लगायतले टिप्पणी गरेका थिए । उनीहरूले उपन्यासको सबल र सुधार गर्नुपर्ने पक्षमा आ–आफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा उपन्यासकार पुरुषोत्तम बजगाईंले पाठक तथा समीक्षकबाट प्राप्त प्रतिक्रियालाई आफूले सहज रूपमा ग्रहण गरेको बताए । उनले आफ्नो सिर्जनामाथि भएको विमर्शले लेखन यात्रामा थप ऊर्जा मिलेको बताए ।
संस्थाका अध्यक्ष दीपक पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा उनले पोखरामा पठन संस्कृतिको विकासका लागि र्यान्डमले निरन्तर भूमिका खेलिरहेको बताए । कार्यक्रमलाई कर्मकाण्डी भन्दा पनि विषयवस्तुमा केन्द्रित र छरितो बनाउन अर्ध–औपचारिक शैली अपनाइएको उनले प्रस्ट्याए ।








जेपी क्रस बास्केटबलः पोखरा युनाइटेड र अल्फा बोर्डिङ फाइनलमा
नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म
आदर्श कप माघको दोस्रो साता
टेनिसमा शिभालीले रचिन् इतिहास
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया