लाटोकोसेरोको संरक्षण गर्न महोत्सव

समाधान संवाददाता २०७६ माघ ६ गते १२:४०

समाधान संवाददाता
स्याङ्जा

स्याङ्जाको पुतलीबजार नगरपालिका २ र बिरुवा ३ को सिमाना राङ्भाङ् भैंसेगाैडामा नवौं नेपाल लाटोकोसेरो तथा हुचील उत्सव २०७६ को तयारी गरिएको छ । सन् २०१२ मा धादिङमा पहिलो उत्सव गरेको प्रकृतिका साथीहरु संस्थाले नवौं पटक स्याङ्जाको भैंसेगाैडालाई रोजेको स्याङ्जामा आइतबार पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

किसानको साथीको रुपमा चिनिने लोपोन्मुख लाटोकोसेरो तथा हुचीलको संरक्षण, पुरानो संस्कृति र खेलको जगर्ना गर्ने उद्देश्यले उत्सवको आयोजना गर्दै आएको प्रकृतिका साथीहरुका निर्देशक राजु आचार्यले जानकारी दिए । माघ २४ र २५ गते हुने उत्सवमा १ विदेशीसहित १० चरा हुचीलसहित चरा विज्ञको प्रस्तुति रहने छ भने हुचील तथा चरासम्बन्धी ८ वटा स्टल रहने आचार्यले बताए ।

Advertisement

३ दिने उत्सवमा लाटोकोसेरो तथा हुचील संरक्षणका लागि संरक्षणकर्मीको प्रवचन, लाटोकोसेरोको रोबर्ट प्रर्दशन, लाटोकोसेरोको संग्रहालय प्रदर्शन, लोटोकोसेरोको कला, अवाज सुनाइने र चित्र प्रदर्शन गरिनेछ । १० हजारले अवलोकन गर्ने अनुमान गरिएको उत्सवमा भुरुम, घोचा गाड्ने, पांग्रा घुमाउने लोप उन्मुख खेल खेल्नुका साथैं झोरा, सोरठी, नौमती, कौडा नाँच प्रदर्शन गरिनेछ ।

उत्सवमा विद्यालय स्तरीय लाटोकोसेरो चित्रकला, कथा, निबन्ध तथा कविता प्रतियोगिता आयोजना गरिएको छ । उत्सव सफल बनाउन बालकुमार श्रेष्ठको संयोजकत्वमा आयोजक समिति र ७ वटा उपसमिति गठन गरिएको छ ।

Advertisement

नेपालवाहेक अमेरिका, इटाली र भारतमा मात्र लाटोकोसेरो तथा हुचीलको उत्सव मनाउने गरिएकोमा संस्थाले धादिङका साथै चितवन, नवलपरासी, गोरखा, कास्की, कपिलवस्तु, दोलखा र खोटाङ जिल्लामा गरिसकेको आचार्यले बताए । उत्सवमा ४ नेपाली अनुसन्धानकर्मी र संरक्षणकर्मीलाई संरक्षणको क्षेत्रमा गरेको योगदानको कदर गर्दै ‘प्रकृति संरक्षण पुरस्कार’ प्रदान गरिनेछ । देशभर २३ जातका लाटोकोसेरो तथा हुचील रहेकोमा यहाँको भैंसेगौंडामा मात्र ५ जातका लाटोकेसेरो भेटिएको छ ।

तपाईको प्रतिक्रिया