निर्वाचन आउन ८१ दिन बाँकी : देशव्यापी माहोल तात्यो, दलहरू उम्मेदवार छनोट र सभामा व्यस्त

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब ८१ दिन मात्र बाँकी छ । निर्वाचनको मिति नजिकिएसँगै मुलुकभर राजनीतिक गतिविधि ह्वात्तै बढेको छ । निर्वाचन आयोगले तयारी तीव्र पारेको छ भने राजनीतिक दलहरू उम्मेदवार छनोट र चुनावी सभामा केन्द्रित भएका छन् ।
प्रमुख दलहरू कांग्रेस, एमाले, नेकपा र रास्वपाले आ–आफ्नै ढंगले चुनावी अभियान थालेका छन् । नेपाली कांग्रेसले देशव्यापी रूपमा उम्मेदवार छनोट प्रक्रिया अगाडि बढाएको छ । कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकसँगै राष्ट्रिय सभाका उम्मेदवारको नाम जिल्लाबाट केन्द्रमा मगाएको छ । उम्मेदवार छनोट प्रक्रियामा कांग्रेस अन्य दलभन्दा अगाडि देखिएको छ ।
शनिबारदेखि ११औँ महाधिवेशन सुरु गरेको नेकपा (एमाले) ले पनि चुनावी अभियानलाई महाधिवेशनसँगै जोडेको छ । अध्यक्ष केपी शर्मा ओलीले सरकारले निष्पक्ष र स्वतन्त्र चुनावको वातावरण बनाउनुपर्ने बताए । उनले भने, ‘दबाब र प्रतिशोधको छायाबाट मुक्त चुनाव हुँदा बहुमत ल्याउने ल्याकत भएको एमाले चुनावबाट भाग्दैन ।’
विभिन्न कम्युनिस्ट घटक मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ‘सन्देश सभा’ मार्फत गतिविधि बढाएको छ । शनिबार सुर्खेतको वीरेन्द्रनगरमा जनसभा गरेको नेकपाले आगामी पुस ५ गते काठमाडौंमा सभा गर्दैछ । पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तोकिएकै मितिमा चुनाव हुनुपर्ने र त्यसका लागि पार्टी क्रियाशील रहेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि ‘वाचापत्र’ तयारी र समानुपातिक उम्मेदवार छनोटलाई तीव्रता दिएको छ ।
तयारी अवस्थामा आयोग र सरकार
निर्वाचन आयोगले समानुपातिकतर्फ सहभागी हुने दललाई चुनाव चिह्न प्रदान गरिसकेको छ । समानुपातिकतर्फ १०० दलले आवेदन दिए पनि केहीले संयुक्त चिह्न लिएका कारण कुल ९३ वटा निर्वाचन चिह्न कायम भएको छ । प्रत्यक्षतर्फ ११४ दल सहभागी हुँदैछन् । आयोगले अहिले जनसंख्याका आधारमा समावेशी समूहको प्रतिशत निर्धारण र आचारसंहिता निर्माणको काम गरिरहेको छ ।
सुरक्षा व्यवस्थापनका लागि सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालनको स्वीकृति दिइसकेका छन् । गृहमन्त्री ओमप्रकाश अर्यालले शान्ति सुरक्षा कायम गर्दै स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन मन्त्रालयले आवश्यक तयारी पूरा गरेको स्पष्ट पारेका छन् ।








खौलालाँकुरी पोखरा सम्पर्क समाजको नेतृत्वमा लालप्रसाद शर्मा
विधान महाधिवेशनको निर्णय उल्टियो : एमालेमा पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढ्यो, ईश्वर पोखरेलको असन्तुष्टि
ग्रासरुट टेनिसलाई सिद्धार्थ बैंकको सहयोग
रोटरी क्लब लेखनाथद्वारा विद्यालयलाई शुद्ध खानेपानी उपकरण सहयोग
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया