हिमालय क्रिकेट एकेडेमी कपमा नवीन र डायमण्ड विजयी

पोखरा । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी ‘हिमालय क्रिकेट एकेडेमी कप–२०८२’ यू–१६ अन्तर विद्यालय टी–२० क्रिकेट प्रतियोगितामा शनिबार नवीन माध्यमिक विद्यालय र डायमण्ड माध्यमिक विद्यालय विजयी भएका छन् ।
हिमालय क्रिकेट एकेडेमीको प्रायोजन, पोखरा महानगरपालिका क्रिकेट संघको संयोजन तथा कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको तेस्रो दिन यी दुई विद्यालयले जित निकालेका हुन् ।
पहिलो खेल : नवीन मावि विजयी
शनिबार भएको पहिलो खेलमा हार्वर्ड एकेडेमीले टस जितेर नवीन माविलाई ब्याटिङको निम्तो दिएको थियो । नवीन माविले १६.२ ओभरमा सबै विकेट गुमाउँदै १०५ रन बनायो । नवीनका लागि निरञ्जन ठाकुरले १६ बलमा २६ रन बनाए भने ऋषि प्रजापतिले २५ बलमा २६ रन (नटआउट) जोडे । बलिङतर्फ हार्वर्डका सम्पी भण्डारीले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । यस्तै, डेनिस शाहीले १.२ ओभरमा १ रन दिँदै २ विकेट लिन सफल भए ।
१०६ रनको लक्ष्य पछ्याएको हार्वर्ड एकेडेमी १६.४ ओभरमा अलआउट हुँदै ४६ रनमा समेटियो । हार्वर्डलाई सस्तैमा समेट्न नवीन माविका सौरभ सिद्दिकीले घातक बलिङ गरे । उनले ३.४ ओभरमा ४ रन मात्र दिएर ४ विकेट लिए । श्रीराम प्रजापतिले ३ ओभरमा ११ रन खर्चेर ३ विकेट हात पारे । खेलमा उत्कृष्ट प्रदर्शन गरेका सौरभ सिद्दिकी ‘म्यान अफ द म्याच’ घोषित भए ।
दोस्रो खेल : डायमण्ड मावि विजयी
दोस्रो खेलमा त्रिवेणी पब्लिक स्कुलले टस जितेर डायमण्ड सेकेन्डरी स्कुललाई ब्याटिङको निम्तो दियो । डायमण्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८४ रनको विशाल योगफल तयार पार्यो । उसका लागि शशांक तिवारीले ५० बलमा ६६ रन र अविरल पोखरेल क्षेत्रीले २६ बलमा ४३ रनको योगदान दिए । त्रिवेणीका बलर अरुण न्यौपानेले ४ ओभरमा ३८ रन र वकिल पुनले ४ ओभरमा ३६ रन खर्चेर समान २–२ विकेट लिए ।
१८५ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको त्रिवेणीले २० ओभरमा ८ विकेट गुमाउँदै १३० रन मात्र बनाउन सक्यो । त्रिवेणीका विद्यान कुँवरले ३१ बलमा २६ रन र अरुण परियारले १३ बलमा १८ रन (नटआउट) बनाए पनि जितका लागि पर्याप्त भएन । बलिङतर्फ डायमण्डका शशांक तिवारीले ४ ओभरमा १३ रन दिएर ३ विकेट लिए । ब्याटिङ र बलिङ दुवैमा चम्किएका शशांक तिवारी खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
आयोजकका अनुसार आइतबारको पहिलो खेल हिमालय सेकेन्डरी स्कुल र रत्नज्योति माविबीच हुनेछ भने दोस्रो खेल जनप्रकाश मावि र रेभेल रेसिडेन्स सेकेन्डरी स्कुलबीच हुनेछ ।









नेपाली कांग्रेसभित्रको खैलाबैला, आधार र निकास
शिक्षक महासङ्घ कास्कीको परिषद् सम्पन्न, अग्रज शिक्षकलाई सम्मान
कृत्रिम खुट्टाको भरमा सातै महादेशका अग्ला शिखर आरोहण, हरि बुढामगरले रचे कीर्तिमान
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया